भागरथी हत्या प्रकरण : यसरी सफल भयो अनुसन्धान

भागरथी हत्या प्रकरण : यसरी सफल भयो अनुसन्धान

उत्तमराज सुवेदी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख :
१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएदेखि प्रहरीले धेरै आलोचना खेप्दै आएको थियो। एकाएक भागरथी भट्टको घटना सार्वजनिक भयो। यस घटनाको पनि दोषी पत्ता लगाउन नसके प्रहरीप्रति सर्वसाधारणको दृष्टिकोण के होला भन्ने चिन्ताले धेरै पिरोल्यो। मैले आफूलाई घटनाको केन्द्रमा राखेर अनुसन्धान गर्ने जमर्को गरें, जुन पीडा भागरथीकी आमालाई थियो।
जब भागरथीको शव फेला पर्‍यो तब मैले आदेश र निर्देशनका भरमा मात्रै रिजल्ट पाउँदिनँ भन्ने लाग्यो।

फिल्डमा आफैं खटिएर प्रमाण संकलन नगरे यो घटना अर्को निर्मला प्रकरण बन्ने निश्चित छ भन्ने लाग्यो। बैतडीको लवलेक जंगलमा माघ २२ गते भागरथीको शव फेला पर्‍यो। म २४ गते घटनास्थलतर्फ लागें। कसरी हुन्छ हत्यारा पत्ता लगाउनुपर्छ भन्ने चिन्ताले सताउन थाल्यो। पहिले त शवको परीक्षण भयो। त्यसपछि नजिक फेला परेका अन्य प्रामाणिक वस्तु सुरक्षित गर्ने दायित्व पूरा गरियो। प्रदेशका एसएसपी एवं मेरा सहकर्मी जनकराज पाण्डेको नेतृत्वमा विशेषज्ञ टोली खटाएँ। प्रदेशमै कार्यरत इन्टेलिजेन्स टोली, केन्द्रीय अनुसन्धान ब्युरो र जिल्लाका अनुसन्धान टोलीले संयुक्त रूपमा अनुसन्धान सुरु गरे। उनीहरू शंकास्पदको निगरानीमा खटिए।

सबै टोली खटिँदा पनि घटना यही व्यक्तिले गराएको भन्ने सुराक मिलेन। एकातिर प्रदर्शन सुरु भइसकेको थियो, अर्कोतिर काठमाडौंमा व्यापक खबरदारी र प्रदर्शन देखियो। मेरो टिमलाई अनुसन्धान प्रभावित हुने त होइन भनेर चिन्ता हुनु स्वाभाविक थियो। तर, मैले अनुसन्धानमा खटिएका सबै टोलीलाई कुनै हालतमा ‘डिमोरलाइज’ हुने होइन भनें। जे आउँछ तुरुन्तै रिपोर्ट गर्न र अनुसन्धानमा भेटिएका तथ्यलाई जोड्न सम्झाएँ।

गृह मन्त्रालयदेखि प्रहरी महानिरीक्षकसम्मले घटनाको अनुसन्धानबारे सोधपुछ गरिरहनुहुन्थ्यो। त्यसले पनि अनुसन्धान गर्न थप ऊर्जा दिन्थ्यो।
हामीले अनुसन्धानलाई कसरी साँघुरो पार्ने भनेर कमान्ड सेन्टर बनायौं। प्राविधिक पक्ष, सूचना संकलन, आएका सूचनाको विश्लेषण गर्न छुट्टाछुट्टै टोली बनायौं। साधारण सूचनालाई पनि मुख्य सूचनासँग जोड्ने काम गर्‍यौं। शंकाको घेरामा रहेकाहरूलाई नथुनी सोधपुछ गर्‍यौं। यसले पनि अनुसन्धानमा सहयोग पुग्यो। अनुसन्धान टुंगोमा पुग्नुमा आन्दोलनरत पक्ष, गाउँपालिका, स्थानीय भद्रभलादमी, पूर्वप्रहरी र बैतडीकै बहालवाला प्रहरीले सहयोग गर्नुभयो। मैले उहाँहरूलाई भीडले अनुसन्धान हुँदैन भनेर सम्झाएँ। तपाईंहरू शान्त बस्नु नै अनुसन्धानले छिटो गति लिनु हो भनेर सुझाएँ।

हामीले विभिन्न शंकाले हेर्‍यौं। कतै सँगै पढ्ने साथीबाटै त यो घटना भएन भन्ने लाग्यो। अनुसन्धान त्यतातिर मोड्यौं। भागरथी कति बजे स्कुलबाट बाहिरिइन् ? उनीसँग कोको थिए ? यस्ता सूचना बटुल्दै जाँदा दिनेश भट्ट (आरोपी)को व्यवहार शंकास्पद देखियो। भागरथीको पछि–पछि दिनेश नै लागेको केही विद्यार्थीबाट थाहा भयो। यो रहस्य भागरथीको शव फेला परेको तेस्रो दिनदेखि खुल्यो।

दिनेशलाई सोधपुछ गर्दा करिब ३५ मिनेट उनी कहाँ गए भन्ने विषय रहस्यमय बन्यो। उनलाई लवलेक जंगलकै आसपास देख्ने व्यक्तिसँग प्रहरीले सनाखत (पुष्टि) गरेपछि हाम्रो अनुसन्धान दिनेशसँग नै बढी केन्द्रित भयो। भागरथी माघ २१ गते करिब २ बजे खोचलेक बजारमा देखिएकी थिइन्। दिनेश पौने १ बजे पढाइ पूरा नगरी निस्किसकेका थिए। बीचमा देख्नेले पनि भागरथीको पछिपछि लागेर दिनेश हिँडेको बताएका थिए।

हामीले अनुसन्धानमा दुई सयभन्दा बढीलाई सोधपुछ गर्‍यौं। २२ जनालाई त शंकाकै घेरामा राखेर केरकार गर्‍यौं। तर, दिनेशको व्यवहार, बयान र अन्य प्रामाणिक वस्तुले उनी मुख्य आरोपी हुन् भन्नेमा कुनै दुविधा रहेन।

अनुसन्धानका विभिन्न विधि हुन्छन्। जुन दिन म आफैं कुकुर लिएर घटनास्थल पुगें, त्यही दिन दिनेश घटनास्थलमा पुगेनन्। हामीलाई शंका त्यहीँ लाग्यो। घरमा पनि दिनेशले डराएजस्तो व्यवहार गर्ने र छट्पटाउने गरेको पाइयो। फागुन ३ गते दिनेशलाई सम्झाइबुझाइ केरकार गर्दा बल्ल घटना स्विकारे। उनले पुरानो रिसइबीका कारण हत्या गरेको बताए। अन्य प्रमाणले पनि दिनेश नै आरोपी हो भन्ने संकेत गरेपछि हामी निक्र्योलमा पुग्यौं। यो घटनामा दिनेश नै संलग्न हो भन्ने पुष्टि भयो।

पोस्टमार्टम रिपोर्टले भागरथीको घाँटी थिचेर हत्या भएको र यौनसम्पर्कसमेत भएको देखाएको थियो। हामीले प्रहरीकै विधिविज्ञान प्रयोगशालामा शव, कपडा र शरीरका विभिन्न भागमा लागेका चोटको नमुना पठाएका छौं। त्यसको रिपोर्ट आएपछि थप प्रमाण बलियो हुन्छ।

भागरथीको बलात्कारपछि हत्याका आरोपी पत्ता लाग्नुमा मलाई मात्रै जस जाँदैन। अनवरत रूपमा १३ दिनसम्म खटिएर प्रमाण संकलनमा लागेका सबैलाई उत्तिकै जस जान्छ। समग्रमा नेपाल प्रहरीलाई नै जस जान्छ।
-(डीआईजी सुवेदीसँग अन्नपूर्णकर्मी सुवास गोतामेले गरेको कुराकानीमा आधारित )


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.