ललिता निवास प्रकरणमा षड्यन्त्र गरेर मलाई फसाइयो : गच्छदार
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफूलाई छानेर मुद्दा चलाएको बताएका छन्।
उनले बुधबार पत्रकार सम्मेलन गर्दै उन्मुक्ति दिनु नपर्नेलाई उन्मुक्ति दिइ काखा र पाखा गरिएको विषय सार्वजनिक तहमै उदांगो भएको बताए। ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र गरेको समेत उनको भनाइ छ।
गच्छदारले कम्युनिष्टको सरकारले षड्यन्त्र गरेर आफूलाई फसाउने चेष्टा गरेको उल्लेख गर्दै भने, ' यो विषयमा मलाई जसरी मुद्दा चलाइएको छ त्यसको प्रभावले एउटा व्यक्तिको सम्पूर्ण धरोहर ढाल्न सक्छ । यो त्यसैको लागि भएको षडयन्त्र हो।'
गच्छदारले दुइतिहाई बहुमतको कम्युनिस्ट सरकारले हाम्रो संविधानले परिकल्पना गरेको संवैधानिक सन्तुलनमाथि प्रहार गरेको बताए। उनले शक्ति पृथकीकरणको सिद्धान्तलाई जोगाउन संवैधानिक अंगहरु समेत असमर्थ देखाएको आरोप लगाए।
ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पेश मात्र गरेको बताउँदै उनले भने, 'यदि मैले भ्रष्टाचार गरेको ठहरिएमा कारबाहीको दायरामा ल्याउनुहोला। बेनामी मुद्दा चलाउने परिपाटिको अन्त्य हुनु जरुरी छ।’
अख्तियारले यसै विषयमा गच्छदारसमेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सो मुद्दामा वयान दिन गत असार ३० गते हाजिर भएका गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त विषयमा बोल्दै गच्छदारले कांग्रेसको सरकार आएर मात्र धरौटीमा रिहा भएको भन्ने जुन भ्रम छ त्यो गलत भएको बताए।

प्रतिक्रिया दिनुहोस !