एमसीसीमा माओवादी केन्द्र विभाजित, झलनाथको संसदमै नाराबाजी
काठमाडौं: अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा सत्ता घटक नेकपा माओवादी केन्द्र विभाजित भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति जनाए पनि प्रभावशाली नेता नारायणकाजी श्रेष्ठदेखि प्रमुख सचेतक देव गुरुङसम्म विपक्षमा उत्रिए । श्रेष्ठलाई सत्ता गठबन्धनको बैठक नै बोलाइएन ।
प्रमुख सचेतक गुरुङले त संसदमै राष्ट्रहित विपरीतको एमसीसी टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरे । त्यसैगरी सरकारका तर्फबाट एमसीसी टेबल गर्ने विभागीय मन्त्री जनार्दन शर्मा अनुपस्थित रहे ।
त्यस्तै प्रतिनिधिसभा बैठक अगाडि बसेको कार्यव्यवस्था परामर्श समितिमा पनि माओवादी केन्द्रका प्रमुख सचेतक सहित तीन सांसदले एमसीसी टेबल गर्ने निर्णयमा असहमति पत्र नै दर्ज गरे ।
प्रमुख सचेतक गुरुङसहित सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा असहमति पत्र राखेका हुन् । उनीहरुले एमसीसीमा राष्ट्रिय सहमति नभएको, संशोधनको ग्यारेन्टी नभएको, संसदमा अवरोध कायमै रहेकाले टेबल गर्न नहुने तर्क गरेका थिए ।
यद्यपि अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डको सहमतिका अगाडि माओवादीका नेताहरुको केही जोर चलेन । यहाँसम्मकी सभामुख सापकोटा पनि प्रचण्डकै सहमतिअनुसार टेबल गर्न तयार भए । माओवादी नेतृत्वको सहमतिमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सडक र विद्युत प्रसारण लाइनका लागि आएको सहयोग परियोजना एमसीसी टेबल गरे ।
माओवादीमात्रै होइन एकीकृत समाजवादीमा पनि सम्मानित नेता झलनाथ खनालले एमसीसी टेबल नगर्न अडान लिएका थिए । तर उनको कुरा सुनुवाइ भएन । यहीँ आक्रोशमा उनी संसदमै एमसीसी टेबल हुँदा हात उठाएर नाराबाजी गरिरहेका थिए ।
झलनाथमात्र होइन पूर्वसभामुख कृष्णबहादुर महरासहित एक दर्जन बढी माओवादी सांसदहरुले पनि टेबल हुँदा नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !