चीनलाई कांग्रेसको जवाफ : एमसीसी टेबल गर्न हामीलाई कसैले दबाब दिएको छैन
काठमाडौं : नेपाली कांग्रेसले कसैको दबाबमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल नगरिएको स्पष्ट पारेको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो बारेमा निर्णय गर्न नेपाल सक्षम रहेको बताए । पत्रकार सम्मेलनमा सञ्चारकर्मीले 'नेपालमा अमेरिकाले दबाबमूलक कुटनीति देखाएको र त्यसको विरोध गर्छौं' भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको भनाइमा धारणा माग्दा महतले अमेरिकाले दबाब नदिएको जवाफ दिए ।
उनले अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले एमसीसी सम्झौता ढिलाईबारे चासो राख्नु स्वभाविक भएको र यसलाई अन्तर्राष्ट्रिय इस्यु बनाउन नहुने बताए ।
‘हामीलाई कसैको दबाब आएको छैन । अमेरिकी सरकारका तर्फबाट ‘तपाइहरुले मागेको, अनुमोदन गरेको एमसीसी सम्झौता पाँच वर्ष वितिसक्यो । अनिर्णय र विवादित भएको छ । यसलाई चाडो टुंगो लगाइदिनुपर्यो । अरु देशबाट माग आएको छ । हामीले विशुद्ध सहयोग गर्न खोजेको हो, यसलाई अनावशयक विवादित बनाइदिँदा अफ्ठेरो पर्यो भन्नु अस्वभाविक होइन,’ उनले भने, ‘किनभने एमसीसीलाई नेपाली राजनीतिले गिजोलेको हो । हामीले समयमै निर्णय दिनुपर्छ । यसलाई दबाबको रुपमा लिएका छैनौं ।’
एमसीसी अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा विवाद/बहस छेडिनु समयमै निर्णय नगर्दाको परिणाम भएको उनको भनाइ छ । ‘अब समयमै निर्णय दिनुपर्छ,’ उनले भने ।
नेपालमा अपरिपक्व राजनीतिक खेल भएको भन्दै महतले थपे, 'अमेरिका र चीनबीच विवाद निम्त्याउने काम भयो । विकास योजनालाई अत्यधिक राजनीतिक गरियो । एमसीसी जतिसक्दो चाँडो पास गर्नुपर्छ । भ्रमको अन्त्य गर्नुपर्छ ।'
प्रवक्ता महतले कसैको दबाबमा निर्णय नगर्ने पनि प्रष्ट पारे । ‘दबाब कसैले महसुस गरेको छैन । हामीले दबाबको रुपमा महसुस गरेका छैनौं । हामी आफै निर्णय गर्छौं । हामी कसैले दबाब दिएर निर्णय गर्दैनौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस !