एमाले केन्द्रीय कमिटी बैठक जारी, स्थानीय निर्वाचनबारे छलफल
काठमाडौं : नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांकेटमा जारी केन्द्रीय कमिटी बैठक आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचन केन्द्रित रहनेछ।
दुई दिन बस्ने केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यलाई आफ्नो क्षेत्रमा स्थानीय निर्वाचनलाई लक्षित गर्दै जिम्मेवारीसमेत बाँडफाँड र भावी रणनीति तय गर्ने केन्द्रीय सदस्य माधव ढुङ्गेलले जानकारी दिए।
बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सपथ लिन बाँकी सदस्यलाई सपथ ग्रहण गराएका छन्।
एमालेले सबै तहका कमिटीले पूर्णता पाएपछि केन्द्रीय कमिटीको बैठक बोलाएको हो। केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षले आ-आफ्ना प्रदेशको संगठनात्मक कामको अवस्था, जिल्लाको शक्ति सन्तुलनको स्थिति र निर्वाचनको तयारी तथा सम्भावनाबारे जानकारी गराउने छन्। केन्द्रीय कार्यालयको तर्फबाट महासचिव शंखर पोखरेलले विभाग, जनसंगठन, आयोग र कार्यालयसहित समग्र पार्टी कामको रिपोर्टिङ प्रस्तुत गर्ने एमालेले जनाएको छ।
सत्तापक्षको अनिच्छा रहँदारहँदै एमालेको दबाबले स्थानीय तहको निर्वाचनको मिति तय गरेर प्रक्रिया अघि बढेको, पार्टीको निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको र ठाँउ ठाउँमा पार्टी प्रवेशको लहरै चलेकाले समग्र विषयवस्तुलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा संसदभित्र एमालेले विरोध जारी रहँदारहँदै एमसीसी पारित गरिएको, प्रधानन्यायाधीशविरुद्धको महाभियोग छलफलमा जाँदै गरेको, सरकार अकर्मण्य बनेको, अर्थतन्त्र लथालिङ्ग हुँदै भएकाले सरकारको समग्र कामको समीक्षासहित राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ।
निर्वाचन आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।
प्रतिक्रिया दिनुहोस !