आयात प्रतिस्थापन नगरे बाह्य क्षेत्र व्यवस्थापन चुनौतीपूर्ण : गभर्नर अधिकारी
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्र व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको 'अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन' मा मुलुकको आर्थिक अवस्थाबारे चित्रण गर्दै वाह्य क्षेत्र चुनौतीपूर्ण भएको बताएका हुन् ।
कोभिडको प्रभाव घटेसँगै कर्जा विस्तार, बढ्दो आयात र पर्यटन क्षेत्रको आम्दानीमा कमी आएका कारण चालु खाता र शोधनान्तर स्थिति निरन्तर घाटामा रहेको उनले बताए । यसकारण बाह्य क्षेत्र व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको उनको भनाइ छ ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा करिब रु.२९८ अर्बले वृद्धि भएको जानकारी दिए । २०७८ साउनयता विप्रेषण आप्रवाह घटिरहे पनि फागुन महिनामा भने विप्रेषण आप्रवाहमा सुधार देखिएको जानकारी गभर्नर अधिकारीले दिए । हाल नेपालसँग ७.४ महिनाको वस्तु र ६.७ महिनाको वस्तु वा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम रहेको आँकडा उनले प्रस्तुत गरे ।
बाह्य क्षेत्र व्यवस्थापनको निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका कारण बाह्य क्षेत्रको अवस्थामा केही सुधार देखिएको धारणा गभर्नर अधिकारीले राखे । तथापि रुस–युक्रेनबीचको जारी द्वन्द्वको अन्त्य र कुल आयातमा ३५ प्रतिशत हिस्सा रहेको उपभोग्य वस्तुको आयातलाई प्रतिस्थापन नगर्दासम्म बाह्य क्षेत्र स्थायित्वमा जोखिम कायमै रहने उनको भनाइ छ ।
'विदेशी मुद्रा आर्जनको स्रोत सीमित र साँघुरो रहेको सानो र खुला अर्थतन्त्र भएको नेपाल जस्तो देशमा पर्याप्त विदेशी मुद्रा सञ्चिति कायम राख्नुपर्ने बाध्यता हुन्छ । तसर्थ, बाह्य क्षेत्र समस्याले समग्र अर्थतन्त्र र यसका विभिन्न परिसूचकमा पार्नसक्ने प्रभावलाई मनन गर्दै यसतर्फ सबैले सोच्न जरुरी छ,' उनले भने ।
गभर्नर अधिकारीकाअनुसार बाह्य क्षेत्र व्यवस्थापनलाई सुदृढ तुल्याउन आन्तरिक उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन, विप्रेषण आप्रवाह, वैदेशिक लगानी र वैदेशिक सहायतामा वृद्धि गर्नुपर्छ । यस क्रममा उनले भने, 'बैंक दरको वृद्धि, सुनको आयात कटौती, विदेशी मुद्राको निक्षेप प्रोत्साहन, वैदेशिक सहायता परिचालनलगायतका नीतिगत व्यवस्थाहरू अवलम्बन गरिएको छ ।'
अन्तर्राष्ट्रिय मुद्रा कोषबाट भर्खरै ३९ करोड ५९ लाख अमेरिकी डलर विस्तारित कर्जा सुविधा (ईसीएफ), करिब ४७ अर्ब बराबरको शून्य ब्याजदरको ऋण स्वीकृत भएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !