इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितताको छानबिनको माग गर्दै अख्तियारमा उजुरी
काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी दर्ता गराएको छ।
युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का दिइएको भन्दै छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएको हो ।
संगठनले इम्बोस्ड नम्बर प्लेटको अनियमिततामा संलग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरेको छ ।
त्यस्तै, उनीहरुले इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपीमा नराख्नुको कारण र जनतामाथि इम्बोस्ड नम्बर राख्न दिएको दबाबका विषयमा पनि अख्तियारलाई जानकारी गराएको छ ।
युवा संघका अध्यक्ष किरण पौडेलले इम्बोस्ड नम्बर प्लेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए। उनले सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने भए त्यसको भार जनतामा थोपर्न नहुने उल्लेख गरे।
इम्बोस्ड नम्बर प्लेटको सत्यतथ्य छानविन आयोगले गर्नुपर्ने उनको भनाइ छ ।
युवा संघले कुनै आग्रह पूर्वाग्रहका आधारमा मुद्धा दर्ता नगरेको भन्दै अख्तियारले पनि निष्पक्ष ढंगले छानविन गर्नुपर्ने जनाएको छ ।
अख्तियारमा संघले बुझाएको उजुरीमा देश आर्थिक संकटमा परेका बेला अर्बौ रकम विदेशिनेगरी जबर्जस्ती लाद्न खोज्नु घोटाला भएको उल्लेख छ।
त्यसैगरी सवारी तथा यातायात ऐनमा भएका व्यवस्था संशोधन नगरी गरिएको अव्यवहारिक निर्णयमा भ्रष्टाचारजन्य नियत देखिएको, कालोसूचीमा परेको कम्पनीलाई ठेक्का दिएर भ्रष्टाचारजन्य कार्य गरेको उजुरीमा उल्लेख गरेको छ।
कालोसूचीमा राखेको कम्पनीसँग नेपाली सवारी साधानको ट्रयाक रेकर्ड रहनु, देवनागरी लिपी विस्थापित गर्नु, ठेकेदार कम्पनीबाट सफ्टवेयर निगरानी हुनसक्ने अवस्था, विदेशी कम्पनीबाट नेपाली नागरिकको निगरानी गरेर निशाना बनाउन सक्ने खतरा रहेको पनि संघले आशंका गरेको छ।
इम्बोस्ड नम्बर जडान गर्ने कार्य नेपाल र नेपालीको सुरक्षाभन्दा पनि खतराजनक अवस्था रहेकाले यो आर्थिक अनियमिततासँगै गम्भीर राष्ट्रघात पनि भएको संघको जिकिर छ। अहिलेकै अवस्था इम्बोस्ड नम्बर जडान गर्दा राज्य र नागरिक नै असुरक्षित हुने पनि संघले दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस !