प्रचण्ड-माधवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कांग्रेससँग ५० प्रतिशत सिटमा बार्गेनिङ गर्ने सुनियोजित प्रचारबाजी हो : एमाले
काठमाडौं : नेकपा एमालेले आफूहरुले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको स्पष्ट पारेको छ। च्यासलस्थित पार्टी कार्यालयमा सोमबार बसेको सचिवालय बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको जानकारी दिए।
'एमाले कसैलाई पनि प्रधानमन्त्री प्रस्ताव गर्ने मुडमा छैन। आएका समाचारहरु सतप्रतिशत भ्रामक हो,' उनले भने।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेससँग ५० प्रतिशत सिटको बार्गेनिङ गर्न रचिएको सुनियोजित प्राचारबाजी भएको उनले बताए।
'प्रधानमन्त्री प्रस्ताव गरेको कुरा विशुद्व कांग्रेससँग बार्गेनिङ गर्ने प्रोपोगाण्डा हो। कांग्रेसलाई ५० प्रतिशत सिट दिने कि नदिने भन्ने बार्गेनिङ गर्नलाई रचिएको सुनियोजित प्रचारबाजी हो,' उपमहासचिव ज्ञवालीले भने।
उनले बैठकमा समसमायिक राष्ट्रिय राजनीतिक विषयमा पनि छलफल भएको बताए। वर्तमान सरकारको बाह्य नीतिले चिन्ता बढाएको उनको भनाइ थियो।
'वर्तमान सरकारले बाह्य सम्बन्धमा जुन खालको विचलन ल्याउँदैछ। परराष्ट्र नीति जसरी खल्बलिँदैछ। नेपाललाई नजानिदो तरिकाले भूराजनीतिर धकेलिने प्रयास वर्तमान सरकारबाट भइरहेको छ,' उनले भने, 'तीविरुद्ध आवश्यकताअनुसार आलोचना, विरोध र भण्डाफोर गरिनेछ।'
उनले नेपालको स्वतन्त्रता, भौगोलिक खखण्डता, स्वाधीनतामाथि आँच आउने खालका कुनै पनि काम र गतिविधिहरु हुन नदिन पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको बताए।
प्रतिक्रिया दिनुहोस !