संयुक्त साधारणसभामार्फत एनआरएनए अमेरिकाका दुई पक्षबीच एकता घोषणा
टेक्सस : विगत एक वर्षदेखि दुई फरक नेतृत्वमा विभाजित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले संस्थागत एकताको घोषणा गरेको छ।
टेक्ससको अस्टिन महानगर क्षेत्रअन्तर्गत राउन्ड रकस्थित Holiday Inn Austin North–Round Rock मा सम्पन्न १५औँ वार्षिक साधारणसभा तथा नलेज कन्भेन्सनबाट दुवै पक्षले संयुक्त रूपमा एकताको घोषणा गरेका हुन्।
साधारणसभाको उद्घाटन दुवै पक्षका अध्यक्ष सतेन्द्र साह र विकास उप्रेतीले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए। सम्मेलनअघि दुवै पक्षबीच भएको वार्तापछि १६ बुँदे सहमति भएको थियो। सोही सहमतिलाई विकास उप्रेती नेतृत्वको कार्यसमितिले भर्चुअल बैठकमार्फत अनुमोदन गर्दै साधारणसभामा सहभागी हुने निर्णय गरेको जनाएको छ।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्माले संस्थागत एकताले एनआरएनएको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रमुख अतिथि तथा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष अर्जुन बञ्जाडेले संवादमार्फत विवाद समाधान गर्दै संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए।
अध्यक्ष विकास उप्रेतीले संस्थाको गरिमा र सदस्यहरूको हितलाई केन्द्रमा राखेर एकताको अभियानलाई सफल बनाइएको बताए।
दुई दिनसम्म चलेको साधारणसभाले वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै सदस्यता विस्तार, समुदाय सेवा, युवा सहभागिता, ज्ञान आदानप्रदान, उद्यमशीलता, विधान संशोधन र भावी कार्ययोजनाबारे छलफल गरेको जनाएको छ।
सम्मेलनका अवसरमा ग्रेटर अस्टिन नेपाली सोसाइटी (GANS) ले सञ्चालन गरिरहेको समर स्कुलका बालबालिकाको नेपाली भाषा तथा सांस्कृतिक शिक्षाका लागि १,५०० अमेरिकी डलर सहयोग हस्तान्तरण गरिएको छ।
औपचारिक सत्रसँगै सम्मेलनमा नेपाली सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। स्थानीय कलाकार तथा गायक-गायिकाको प्रस्तुतिसहित समर स्कुलका बालबालिकाले नेपाली भाषा र संस्कृतिसम्बन्धी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
प्रतिक्रिया दिनुहोस !