भारत–नेपाल स्टार्टअप साझेदारी कार्यक्रम : दोस्रो चरणमा २५ नेपाली स्टार्टअप सहभागी
काठमाडौं : काठमाडौंस्थित भारतीय दूतावासले भारत-नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्कको दोस्रो चरण घोषणा गरेको छ। नेपालस्थित भारतीय दूताबासका अनुसार दोस्रो चरणमा २५ नेपाली स्टार्टअप सहभागी भएका छन्।
जुन १ देखि जुलाई ३१, २०२६ सम्म सञ्चालन हुने कार्यक्रम भारतको चेन्नईस्थित आईआईटी मद्रासको आईआईटीएम प्रवर्तक क्याम्पसमा आयोजना हुँदैछ।

दूताबासका अनुसार स्टार्टअपहरू एआई, बायोटेक, क्लिनटेक, फिनटेक, हेल्थटेक, एग्रीटेक, ई-कमर्स, मोबिलिटी, म्यानुफ्याक्चरिङ र कन्स्ट्रक्सन टेक, एफएमसीजी, एयरोस्पेस, आईओटी र सास जस्ता क्षेत्रहरूमा संलग्न छन्। आगामी ८ हप्ता २५ स्टार्टअपहरूले आ-आफ्नो क्षेत्रमा भारतीय स्टार्टअपहरूसँग गहन उद्यमशीलता प्रशिक्षण कार्यक्रम, एआई सीप विकास, लगानीको लागि प्रस्तुतीकरण र नेटवर्किङ/इन्टर्नशिपको अवसर प्राप्त गर्नेछन्।
कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले विविध क्षेत्रका स्टार्टअपहरूको सहभागिता सराहना गर्दै भारतीय स्टार्टअप इकोसिस्टमसँग सहकार्य गर्न प्रोत्साहित गरेका छन्।
भारत–नेपाल स्टार्टअप साझेदारी नेटवर्कले दुई देशका उद्यमशील युवाहरूलाई नवप्रवर्तन र सहकार्यमा जोड्ने लक्ष्य राखेको छ। यसले भविष्यमा दुवै देशको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको दूताबासको दाबी छ। गत हप्ता मात्र, भारत सरकारको अनुदान अन्तर्गत नेपालमा १४ वटा विद्यालय निर्माणको लागि सम्झौतामा हस्ताक्षर भएको थियो।
प्रतिक्रिया दिनुहोस !