साउदीमा नेपाली दूतावासले गर्‍यो नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

साउदीमा नेपाली दूतावासले गर्‍यो नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
सुन्नुहोस्

साउदी अरब : साउदी अरबस्थित नेपाली दूतावासको आयोजना तथा नेपाल एयरलाइन्सको सहकार्यमा अलखोवरमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ। 

नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप सशक्त रूपमा स्थापित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा साउदी अरबमा रहेका नेपाली समुदाय, पर्यटन व्यवसायी, ट्राभल एजेन्सीका प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा नेपालप्रति चासो राख्ने विदेशी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल सरकारले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने नीति अवलम्बन गरिरहेको सन्दर्भमा विदेशस्थित नेपाली नियोगहरूले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएका छन्। सोही रणनीतिअनुसार आयोजित यस कार्यक्रमले नेपालका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटन गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो।

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथादेखि लुम्बिनी, पशुपतिनाथ, जनकपुर, चितवन राष्ट्रिय निकुञ्ज, पोखरा, मुस्ताङ, रारा, शे–फोक्सुण्डो, अन्नपूर्ण तथा एभरेस्ट क्षेत्रका ट्रेकिङ मार्ग, साहसिक खेल, प्याराग्लाइडिङ, राफ्टिङ, बञ्जी जम्प, ग्रामीण पर्यटन, होमस्टे, जैविक विविधता तथा नेपाली कला–संस्कृतिको विस्तृत प्रस्तुति गरिएको थियो। नेपाल केवल हिमालको देश मात्र नभई संस्कृति, सभ्यता, धार्मिक सहिष्णुता र अतिथि सत्कारको अनुपम गन्तव्य भएको सन्देश कार्यक्रममा दिइएको थियो।

नेपाली दूतावासका अनुसार कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य नेपाल–साउदी पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउनु, साउदी नागरिक तथा अन्य विदेशी समुदायलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नु, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, एयरलाइन्स तथा सम्भावित लगानीकर्ताबीच सहकार्य विस्तार गर्नु र नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्नु रहेको थियो।

यसका साथै होटल, रिसोर्ट, ट्रेकिङ, साहसिक पर्यटन, केबलकार, पर्यटकीय पूर्वाधार तथा आतिथ्य क्षेत्रमा रहेको लगानीको सम्भावनाबारे जानकारी गराउँदै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत सिर्जना अधिकारीले नेपालको पर्यटन प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र नेपाली आतिथ्यको अद्वितीय संयोजन भएको बताइन्।

उनले विदेशमा रहेका नेपालीहरू नै नेपालको सबैभन्दा प्रभावकारी पर्यटन दूत भएको उल्लेख गर्दै प्रत्येक नेपालीले आफ्ना विदेशी साथी, सहकर्मी तथा रोजगारदातालाई नेपाल भ्रमणका लागि प्रेरित गर्नुपर्नेमा जोड दिइन्। नेपाल–साउदी सम्बन्धलाई पर्यटन, व्यापार, लगानी र सांस्कृतिक आदानप्रदानमार्फत अझ सुदृढ बनाउन यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल एयरलाइन्सले नेपालको पर्यटन विकासमा राष्ट्रिय ध्वजावाहकको भूमिकालाई विशेष रूपमा प्रस्तुत गरेको थियो। नेपाललाई विश्वका प्रमुख पर्यटन बजारसँग जोड्ने माध्यमका रूपमा नेपाल एयरलाइन्सले गुणस्तरीय, सुरक्षित तथा भरपर्दो हवाई सेवा विस्तारमा निरन्तर काम गरिरहेको जानकारी दिइयो। नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर अन्जु शर्माले नेपाल भ्रमण गर्ने पर्यटकलाई सहज, सुरक्षित र प्रतिस्पर्धात्मक सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा सेवा विस्तार, यात्रु सुविधा अभिवृद्धि तथा अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको उपस्थितिलाई अझ प्रभावकारी बनाइने बताइन्। 

उनले नेपालको पर्यटन विकासमा नेपाल एयरलाइन्स केवल एउटा हवाई सेवा प्रदायक नभई पर्यटन प्रवर्द्धनको रणनीतिक साझेदार रहेको उल्लेख गरिन्। उनका अनुसार पर्यटन प्रवर्द्धनका यस्ता कार्यक्रमले नेपालप्रतिको सकारात्मक धारणा निर्माण गर्न, विदेशी पर्यटकको आकर्षण बढाउन तथा नेपाल–साउदी सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन। साथै  उपस्थितलाई नेपाल एयरलाइन्सको सामाग्रीहरू वितरण गरिएको थियो भने एयरलाइन्सको तर्फबाट एक भाग्यशाली उडान यात्रा उपहार समेत राखिएको थियो।

कार्यक्रममा आमन्त्रित सहभागी नेपाली समुदायले यस्तो कार्यक्रमले नेपालको सकारात्मक अन्तर्राष्ट्रिय छवि निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। सहभागीहरूले नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि दूतावास, नेपाल एयरलाइन्स, निजी क्षेत्र तथा गैरआवासीय नेपालीहरूबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखे भने उनीहरूले नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा तथा साहसिक पर्यटनको अनुपम गन्तव्य भएकाले यसको प्रचार अन्तर्राष्ट्रिय स्तरमा अझ व्यापक बनाउनुपर्ने सुझाव पनि दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.