राजीनामाअघि शर्मा : एमालेप्रति आक्रामक, सीसीटीभी फुटेजमा बचाउ, निर्दोष सावित भएर आउने दाबी

राजीनामाअघि शर्मा : एमालेप्रति आक्रामक, सीसीटीभी फुटेजमा बचाउ, निर्दोष सावित भएर आउने दाबी

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रवेश र व्यापारिक स्वार्थमा करको दर हेरफेरको विषयमा हुने छानविनमा सघाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिनिधिसभामा पदबाट राजीनामा घोषणा गर्दै अर्थमन्त्री शर्माले आफूमाथि हुने सबै छानविनमा सघाउने बताएका हुन्।

प्रतिनिधिसभाले शर्मामाथि छानविन गर्न ११ सदस्यीय विशेष समिति गठन गरेलगत्तै उनले विशेष समय लिएर संसद्‌मा राजीनामा घोषणा गरेका थिए। ‘संसदीय समितिलाई स्वागत गर्न चाहन्छु। सभामुखलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने।

'राजनीतिक पूर्वाग्रहको पराकाष्ठा​'

राजीनामाअघि अर्थमन्त्री शर्माले प्रतिपक्षी एमालेमाथि आक्रोश पोखेका थिए। संसद विघटन दुईपटक गरेको र अन्य धेरै विषयहरु रहेको र त्यसलाई नकोट्याउने भन्दै शर्माले केपी ओली सरकारको पालामा तत्कालीन मन्त्री र अर्थमन्त्रीले गरेको आलोचित काम उल्लेख गरेका थिए।  

‘मैले संसदमा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाए? न मैले संकटमा परेका जनताको कोरोनाकालमा बद्‌मासी गरे, न मैले करको दर हेरफेर गर्नुपूर्व कुनै व्यापारीलाई सामान भित्र्याउने अनुमति दिए, न सूचना दिए, न मैले बच्चाको दुधको रेट बढाएर चकलेटहरुको घटाए,  के कारणले म अनैतिक भए? जे देखियो अहिले, एउटा पूर्वाग्रहको पराकाष्ठा देखियो। सहमतिमा छानविन समिति बन्यो। भर्खरै एमाले सांसदले आदेश र फर्मान जारी गर्नुभयो। एउटा सैनिक नेतृत्वलेजस्तो दोषी करार गर्नुभयो। के यही हो लोकतन्त्र? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो,’ उनले भने।

'जनतामा भ्रम सिर्जना गरियो'

शर्माले बजेट निर्माण प्रक्रियामा कुनै गल्ती नगरेको र जनतामा भ्रम सिर्जना गरिएको आरोप लगाए। ‘सच्चाई र तथ्यको गहिराईमा पुग्नैपर्छ। राजनीतिक प्रतिशोधको भावनामा उठेका प्रश्नको सच्चाईमा पुगिएन भने कसैलाई अन्याय हुन्छ भन्ने पनि हेक्का राखौं,’ उनले भने।  

आफूले बजेट निर्माण गर्दा कुनै त्रुटि नगरेको दाबी गर्दै छानविन गर्न समितिलाई आह्वान गरे। ‘विधि, पद्धति, प्रचलित प्रणालीबाट, तोकिएका आधिकारिक व्यक्तिबाट करको दररेट हेरफेर गरिएको छ। यो सच्चाईलाई कसैले मेट्न सक्दैन। दुईटा सचिवहरुलाई साथमा लिएर मैले बजेट बनाएको हो। आम जनताको लागि कम डलर खर्चेर आउने वस्तुमा कर बढाएको हो। यसले उद्योग र अर्थतन्त्रमा सघाउ पुर्‍याउने विश्वास छ। सरकारको नीति तथा निर्देशनमा बजेट बनेको हो। मैले चिन्ने सचिवहरुलाई र कर्मचारीहरुलाई हो। मेरो निर्देशनमा रातभर उहाँहरुले काम गर्नुभयो। म राति साढे ११ बजे सिंहदरबारबाट पुल्चोक क्वार्टर पुगेर सुतेको र विहान आउँदा सचिवहरु मन्त्रालयमा सोफामा पल्टिरहेका थिए। अहिले कथा बनाएर भ्रमित पार्न खोजियो,’ उनले भने।

सीसीटीभी फुटेजमा बचाउ

अर्थमन्त्री शर्माले सीसीटीभी फुटेजमा पनि आफ्नो बचाउ गरेका थिए। सीसीटीभी कुन क्षमताको छ, कहिले जडान भएको भन्ने प्राविधिक जानकारी मन्त्रीलाई नहुने उनको जिकिर थियो।

‘कुन सीसीटीभीको क्षमता कति हुन्छ, कहिले जडान गरेको हो? मन्त्रीलाई कसरी थाहा हुन्छ? अब अन्य मन्त्रीले पनि थाहा पाउन जरुरी छ। सत्य तथ्य प्राविधिक हेर्ने मान्छेले जवाफदेहिता लिने हो। मलाई त्यसको ज्ञान पनि छैन। मैले किन मेटाउनुपर्‍यो? मेटायो भनेर भ्रम फिजिएको छ,’ उनले भने।  

आफूले तस्करी घटाउन कर बढाएको उनले दाबी गरे। ‘तस्करी घटाउनु अनियमितता हो? तस्करीहरु मैले बन्द गरेको छु। बिजुली गाडीको कर बढाइयो भन्ने छ। हाम्रो डलर सञ्चितिलाई कसरी कायम राख्ने भनेर महंगो नभित्र्याउने नीति हो। बजेटका नीतिले करका दर हेरफेर गर्दा कहाँ सूचना चुहाइयो छानविन गरियोस्,’ उनले भने।  

शर्माले बजेट कुनै घराना होइन देशको अर्थतन्त्र, उत्पादनलाई वृद्धि दिने, कृषिलाई प्राथमिकता दिने, किसानलाई प्राथमिकता दिइएको जिकिर गरे। ‘गरिबहरुलाई आर्थिक रुपले समृद्ध गर्नेगरी बजेट आएको छु। यो गर्नु अपराध हो, राष्ट्रघात हो? हो भने भोग्न तयार छु। आयातलाई प्रतिस्थापन गर्न यो बजेट लाभदायी बन्ने छ। निर्यात बढाउनेछ। आम नागरिक, कर्मचारी, प्रहरी सबैलाई उत्साहित गरेको छ। के सबैलाई उत्साहित गर्ने बजेट ल्याउन पाइँदैन? सरकारले यही गरेको हो,’ उनले भने।  

'हजार छानविनका लागि तयार छु'

उनले आफू राजनीतिक व्यक्ति भएको र आफ्नो प्रतिबद्धता र निष्ठा, मूल्य मान्यता र राष्ट्रप्रतिको इमान्दारितामा प्रतिबद्ध रहेको बताए। ‘म माथि हजारौं छानविन गरियोस्। एउटा छानविन होइन, सबै छानविनका लागि तयार छु,’ उनले भने, ‘मैले कुनै गल्ती नगरेको र राष्ट्रको पक्षमा काम गर्दागर्दै पनि जनतामा भ्रम पारेको हुनाले छानविन समितिबाट तथ्यले स्पष्ट गर्नेछ। राष्ट्र, जनताको पक्षमा उभिएर संघर्षमा अघि बढिरहेको मान्छेमाथि जुन अनेक लाल्छना र आरोपहरु लगाइएको छ त्यसलाई अस्वीकार गर्दछु, खारेज गर्दछु। छानविन समितिलाई पूर्ण सहयोग गर्नेछु।’  

निर्दोष सावित भएर फर्किने दाबी

यस्ता छानविन समितिबाट मन्त्री कायम भएर छानविन भएको तथ्यहरु रहेको उल्लेख गर्दै शर्माले तर आफूले त्यसो नचाहने र छानविन समिति ढिलो गठन भएकाले राजीनामा ढिलो भएको बताए। यति भनेर उनले छानविनका लागि मार्ग प्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरे।  

छानविनले ल्याएको तथ्य सत्यका अगाडि आफू उपस्थित भएर फेरि आफ्ना विषयवस्तुहरु, अभियानहरु र कामलाई अगाडि बढाउने,  देश र जनताको पक्षमा लाग्ने प्रतिबद्धता पनि उनले गरे। ‘मेरो राजीनामा माग्ने नागरिक समाज, युवाको आवाजलाई सम्मान गरेर मैले राजीनामा दिएको छु। मैले कुनै गल्ती गरेको छैन। तथ्यमा गइदिनुहोला,’ उनले भने। आफ्नो प्रष्टिकरणमा उनले आफू निर्दोष सावित भएर फर्किने संकेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.