झुल्केला त ओस्कारमा सेतो सूर्य ?
एकेडेमी अफ मोसन पिक्चर आटर्स एन्ड साइन्सेसले सन् २०१८ मा घोषणा गरिने ९०औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) मा विदेशीभाषी चलचित्रका लागि दीपक रौनियार निर्देशित चलचित्र सेतो सूर्यलाई सिफारिस गरेको छ । ओस्कारका लागि नेपालको प्रतिनिधित्व गर्ने यो नवौं चलचित्र हो । फ्रेन्च निर्देशक एरिक भ्यालीको निर्देशनमा बनेको चलचित्र 'क्याराभान'बाट सुरुभएको यो यात्रा मुखुन्डो, मुनामदन, बसाइँ, सुनगाभा, झोला, टलकजंग भर्सेज टुल्के, कालो पोथी हुँदै सेतो सूर्यसम्म आइपुगेको हो ।
विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा प्रतिस्पर्धा गर्न दुई वटा चलचित्र 'बिजुली मेसिन' र 'सेतो सूर्य'ले आवेदन दिएको थयो । दुईमध्ये एकेडेमीको सबै मापदण्ड पुग्ने अब्बल चलचित्रका रूपमा सेतो सूर्य छनोट भएको हो । चलचित्रको प्राविधिक पक्ष, कथ्य प्रस्तुति, भावनात्मक विश्लेषण, कलात्मक प्रस्तुति आदिको आधारमा सेतो सूर्यलाई सिफारिस गरेको हो । अब ९०औं ओस्कर अवार्डमा यो चलचित्रले नेपालको प्रतिनिधित्व गर्नेछ । ओस्कारका लागि नेपाली चलचित्र सिफारिस गर्दै आएको एकेडेमी अफ मोसन पिक्चर आटर्स एन्ड साइन्सेसमा विमल पौडेलको अध्यक्षतामा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली, भरतकुमार शाक्य, चिरञ्जीवी गुरागार्इं सम्मिलित समिति रहेको छ ।
क्याराभान

फ्रेन्च निर्देशक एरिक भ्यालीको निर्देशनमा बनेको चलचित्र 'क्याराभान' सन् १९९९ मा भएको ७२औं ओस्कारमा विदेशीभाषी चलचित्रको विधामा उत्कृष्ट पाँचमा पर्न सफल भएको थियो तर अवार्ड चुम्न भने सकेन । त्यसपछि ओस्कारमा पठाइएका नेपाली चलचित्रले सहभागितामै चित्त बुझाउनु परेको छ । ओस्कारजस्तो प्रतिष्ठित अवार्डको उत्कृष्ट पाँचमा पर्नु नेपाली चलचित्रका लागि ठूलो उपलब्धि हो । ७२औं ओस्कारमा क्याराभानले तय गरेको यो यात्राले विश्वबजारमा नेपाली चलचित्रको निकै चर्चा भएको थियो ।
मुकुण्डो

छिरिङ रितार शेर्पाको निर्माण एवं निर्देशनमा बनेको चलचित्र 'मुकुण्डो'लाई ७३औं एकेडेमी अवार्डमा नेपाली चलचित्रको प्रतिनिधित्व गर्दै पठाइएको थियो । केसाङ छेतेनको पटकथामा रहेको यो चलचित्र मनोनयनमा पर्न भने सकेन । बोक्सीप्रथामा आधारित सो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, रतन सुवेदीलगायतले अभिनय गरेका थिए । सन् २००० को ओस्कारमा नेपालको प्रतिनिधित्व गरेको यो चलचित्र विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि सहभागी गराइएको थियो ।
मुनामदन

लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित खण्डकाव्य 'मुनामदन' मा आधारित चलचित्र 'मुनामदन' निर्माणदेखि नै चर्चा पाएको थियो । यो चलचित्रले सन् २००३ मा आयोजित ७६औं ओस्कारमा नेपालको प्रतिनिधित्व गरेको थियो । ज्ञानेन्द्र देउजा निर्देशित सो चलचित्रमा दीपक त्रिपाठी, मिथिला शर्मा, शुभद्रा अधिकारी, नीर शाह, उषा पौडेललगायतको अभिनय रहेको थियो । यस चलचित्रकी मुना अर्थात् उषा पौडेलले यस चलचित्रबाट निकै चर्चा पाएकी थिइन् ।
बसाइँ

कृतिमा आधारित चलचित्र मुनामदन ओस्कार अवार्डमा पठाएको तीन वर्षपछि साहित्यिक कृतिमै आधारित अर्को चलचित्र 'बसाइँ'ले नेपालको प्रतिनिधित्व गरेको थियो । नेपाली समाजको यथार्थ झल्कने उपन्यास बसाइँलाई पर्दामा निकै रोमाञ्चक ढंगले प्रस्तुत गरिएको थियो । लीलबहादुर क्षेत्रीको उपन्यासमा आधारित सो चलचित्र सुभास गजुरेलले निर्देशन गरेका थिए । सन् २००६ को ७९औं एकेडेमी अवार्डमा पठाइएको यो चलचित्र अन्यझैं उत्कृष्ट पाँचमा भने पर्न सकेन ।
सुनगाभा

ओस्कारमा नेपाली चलचित्रको सहभागिता निरन्तर रहेन । सन २००६ मा बसाइपछि एकै पटक सन् २०१३ को ८६औं ओस्कर अवार्डमा नेपाली चलचित्र 'सुनगाभा'ले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पायो । सुवर्ण थापाको निर्देशनमा बनेको यो चलचित्र महिला समलिंगीको विषयमा आधारित थियो । निशा अधिकारी र दिया मास्केले शीर्ष भूमिकामा अभिनय गरेका थिए । सुनगाभाले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाए पनि एरिक भ्याली निर्देशित क्याराभानले तय गरेको यात्रालाई उछिन्न भने सकेन ।
झोला

सन २०१४ मा आयोजित ओस्कारको ८७औं संस्करणमा नेपाली चलचित्र झोलाले सहभागिता जनायो । कृष्ण धरावासीको कथामा यादव भट्टराईको निर्देशन रहेको सो चलचित्रमा गरिमा पन्त, दीपक क्षेत्री, देशभक्त खनाललगायतले अभिनय गरेका थिए । नेपाली मौलिक तथा परम्परागत कुप्रथामा आधारित यस चलचित्रबाट गरिमा पन्तले सार्क चलचित्र महोत्सवमा उत्कृष्ट अवार्ड जितिन् । यस चलचित्रबाट गरिमाले सार्क अवार्डका साथै राष्ट्रिय चलचित्र पुरस्कार पनि हात पार्न सफल भएकी थिइन् । तर ओस्कारमा भने यो चलचित्र पनि फिक्का साबित भएको थियो ।
टलकजंग भर्सेज टुल्के

ओस्कार अवार्डको ८८औं संस्करणमा नेपाली चलचित्र 'टलकजंग भर्सेज टुल्के'लाई सिफारिस गरिएको थियो । निश्चल बस्नेत निर्देशित यो चलचित्रमा दयाहाङ राई, ऋचा शर्मा, खगेन्द्र लामिछानेलगायतले अभिनय गरेका थिए । सन २०१५ मा सहभागी भएको यो चलचित्र द्वन्द्वको पृष्ठभूमिले प्रभावित पात्रको विषयमा आधारित छ । व्यावसायिक रूपमा खासै नचम्के पनि यो चलचित्रले उठान गरेको विषयवस्तु एवं प्रस्तुतिको भने प्रशंसा भएको थियो । तर ओस्कारमा अन्य चलचित्रजस्तै सहभागितामै चित्त बुझाउनु परेको थियो ।
कालो पोथी

चलचित्र कालो पोथीले निर्माण सुरु भएदेखि नै चर्चा पाएको थियो । मीनबहादुर भाम निर्देशित यो चलचित्र नेपालमा एक दशक चलेको द्वन्द्वको प्रभावमा आधारित थियो । विश्वमा प्रतिष्ठित मानिने विभिन्न चलचित्र महोत्सव र अवार्डमा सहभागी यो चलचित्रले सन २०१६ मा आयोजित ओस्कार अवार्डको ८९औं संस्करणमा नेपालको प्रतिनिधित्व गरेको थियो । चलचित्रमा बेनिशा हमाल, विपिन कार्की, खड्गराज नेपाली, शुक्रराज रोकाय, जितबहादुर मल्ल, हंशा खड्का, नन्दप्रसाद खत्रीलगायतले अभिनय गरेका थिए ।
सेतो सूर्य

चलचित्र सेतो सूर्य नेपालमा एक दशक चलेको द्वन्द्वकालमा सेना र माओवादीमा रहेका एकैघरका दाजुभाइ परिवर्तित परिस्थितिमा सहमतिको बिन्दु भेट्न गरेको संघर्षमा आधारित छ । दीपक रौनियारद्वारा निर्देशित यो चलचित्र ८८ मिनेट लामो छ । भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरियामा समेत प्रदर्शन गरिएको सेतो सूर्य दयाहाङ राई, आशा मगराती, रवीन्द्रसिंह बानियाँ, सुमी मल्ल, अमृत परियार, देशभक्त खनाल, दीपक क्षत्री, गणेश मुनाल, शारदा अधिकारी, माओत्से गुरुङ, घनश्याम मि श्र, प्रमोद अग्रहरिलगायतको अभिनय रहेको छ । दीपक रौनियार र डेभिट बार्करले लेखेको यो चलचित्र जस्लिन बार्नस, छिरिङरितार शेर्पा, मिसेल मक्ट र दीपक रौनियारले निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !