एमालेसँग गठबन्धनमा आबद्ध सबै दलले छलफल गरिरहेका छन् : प्रचण्ड
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनबारे कांग्रेस र एमालेबीच कुरा भइरहेको बताएका छन्। सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कुरा भएपनि निष्कर्षमा नपुगेकाले गठबन्धनबाटै सजिलै प्रधानमन्त्री बनाउने विश्वास व्यक्त गरेका हुन्।
उनले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चामा भने सत्य नभएको बताए। उनले एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भएको भन्दै अरुको पनि कुराकानी भइरहेको उल्लेख गरे। ‘स्वभावैले निर्वाचनपश्चात सबै राजनीनिक दलसँग छलफल चलिराखेको छ। नयाँ पार्टीसँग पनि छलफल भएको छ।’ प्रचण्डले भने,‘माओवादी-एमाले, कांग्रेस-एमालेबीच पनि कुरा भइरहेको छ। गठबन्धनमा आबद्ध सबै राजनीतिक दलहरुले एमालेसँग छलफल गरिरहेको छ। कुरा हुने कुराले नै टुंगो र निष्कर्षमा पुग्यो भन्न सोच्न हुन्न। गठबन्धनमा छौं हामी गठबन्धन नै कायम रहन्छ।’
उनले गठबन्धनमा औपचारिक रुपमा प्रधानमन्त्री दाबी नगरेको उल्लेख गर्दै बैठक बस्न बाँकी रहेकाले छलफल गरेर टुंगो लगाउने बताए। उनले एमालेसँग पार्टी एकता गर्ने,.सरकार बनाउने बाहिर आएको हल्ला जस्तो नभएको धारणा राखे।
उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखलगायतका पद प्याकेजमै सहमति खोज्ने प्रयत्नमा दलहरू रहेको बताए । उनले गैह्रराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन सम्भव नभएको प्रष्ट पारे।
प्रतिक्रिया दिनुहोस !