वामपन्थीले सरकार बनाउँछु भन्नु जनता अलमल्याउने मात्रै : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र भएको बताएका छन्।
सोमबार काठमाडौमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले सरकार गठनको विभिन्न चर्चा परिचर्चा हुन थालेको भन्दै वामपन्थी मिलेर सरकार बनाउने कुरा जनता अलमल्याउने मात्रै भएको बताए।
कम्युनिष्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै पुरानै अवस्थामा आफूहरु नफर्कन उनको भनाइ छ। अध्यक्ष नेपालले गठबन्धनका दलहरु आन्तरिक छलफलमा रहेकाले एकै ठाउमा बसेर सरकार गठनको समीकरण टुंगो लगाउने धारणा राखे।
अहिलेकै गठबन्धनलाई लामो समयसम्म कायम राख्न आफूहरु प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार हुने बताए।
त्यस्तै, एकीकृत समाजवादीका सम्मानित नेत झलनाथ खनालले अहिले सरकार गठनको विभिन्न कोणबाट छलफल भएपनि बामलोकतान्त्रिक शक्तिहरुको सरकार बन्ने सम्भावना प्रवल रहेको धारणा राखेका थिए। उनले वामपन्थी सरकार बन्ने आधार एमाले नेतृत्वले यसअघि नै तोडेकाले अहिले वामपन्थी सरकार बन्न नसक्ने तर्क गरे।
उनले आगामी सातासम्म सरकार बारेमा टुङ्गो लाग्ने जिकिर गरे।
प्रतिक्रिया दिनुहोस !