मेरो सिंहदरबार मै छिर्न पाउँदिनँ !

मेरो सिंहदरबार मै छिर्न पाउँदिनँ !

काठमाडौं

स्थान : सिंहदरबारको दक्षिणी गेट
समय : बिहान १०:३६ बजे 

दृश्य : सिंहदरबारभित्र जान पास पर्खिनेहरूको भीड 

कोही फोनमा कसैलाई पास चाँडो पठाइदिन भनिरहेका थिए। त्यही भीडमा हतास मुद्रामा देखिए मोरङका ३८ वर्षीय सन्तोषकुमार साह। भित्र भनसुन गर्न उनको कोही रहेनछ। त्यही भएर उनी झन्डै एक घण्टा पटक—पटक दुई हात जोडेर प्रहरीलाई अनुनयविनय गरिरहेका थिए।

‘सर मलाई भित्र पस्न दिनुस्। म गरिब छु। होटललाई कहाँबाट पैसा तिर्ने ?’, साहको भनाइ थियो। 

तर, प्रहरीले उनको बिन्ती सुनेन। त्यसपछि साहले प्रहरी हवल्दार आनसिंह चौधरीका खुट्टै ढोगेर भने, ‘सर मलाई भित्र जान दिनुस्। यहाँ मलाई कसैले चिन्दैन। हाम्रो भगवान् भनेकै तपाईं नै हो।’ 

प्रहरी : मन्त्रालयले भित्रबाट पास पठाएर बोलायो भने मात्रै जान दिन्छौं।

सन्तोष : (एकछिनपछि) त्यसो भए मेरो समस्याबारे एउटा निवेदन लेखेर भित्र पठाइदिनुस्।

प्रहरी :  यहाँ निवेदनसिवेदन लेखिँदैन। उत्तै बाहिर जानुस्।

साहलाई न प्रहरीले पासको व्यवस्था गरिदियो न त उनको माग सिंहदरबारभित्र बस्नेहरूसम्म नै पुर्‍याइदियो। उनकी श्रीमती सुनिता वैदेशिक रोजगारीका क्रममा बिरामी परिन्। विदेश गएको २२ महिनापछि स्वदेश फर्किएकी छन्। होटलको क्वारेन्टाइनमा बसेकी छन्। त्यहाँ दिनकै ३ हजार रुपैयाँ तिर्नुपर्छ। 

‘घरबाट ६ हजार लिएर आएको थिएँ। होटललाई तिर्दै सकियो’, साहले भने, ‘गोजी खाली भयो। होटलमा राख्ने हिम्मत छैन।’ 

सर (प्रहरीका खुट्टा ढोग्दै) मलाई भित्र जान दिनुस्। यहाँ मलाई कसैले चिन्दैन। हाम्रो भगवान् भनेकै तपाईं नै हो।
सन्तोषकुमार साह ,मोरङ

हामीले भोट दिएर नेता बनाउने, मन्त्री बनाउने, प्रधानमन्त्री बनाउने अनि हामीसँग भेट्नुपर्दा उनीहरूलाई असुरक्षा  बढ्ने ? जनताको सिंहदरबारमा जनता नै पस्न नपाउने ?
बलराम बानियाँ, नुवाकोट

भित्र के नै राखेको छ र हामीसँग डराउनुपर्ने ? जनताका प्रतिनिधिलाई जनताले भेट्नै नपाउने ? यो कस्तो निरंकुश शासन हो ? जसरी हुन्छ बुवालाई सकुसल फर्काउन पाए हुन्थ्यो।
नवीन दाहाल, दाङ

उताबाट हाम्रो ठेगाना क्यान्सिल भइसक्यो। यता दर्तै भएको छैन। जन्मदर्ता तथा भाइको नागरिकता बनाउनै पाएनौं। यो मिलाउन पञ्जीकरण विभाग जानुपर्ने रहेछ। पास नै पाइन्न। कसलाई भन्नु ?
रजनी क्षेत्री, बारा

होटलवालाले ‘प्रधानमन्त्री कार्यालयमातहत रहेको सीसीएमसी’ले सिफारिस गरिदियो भने घरकै क्वारेन्टाइनमा लगेर राख्न सकिन्छ भनेपछि सिंहदरबार आएको उनले सुनाए। उनी मध्याह्न १२ बजेसम्म भोकै थिए। कसैलाई फोन गर्न उनको मोबाइलमा न ब्यालेन्स थियो न त गोजीमा नगद नै। 

उनी गौशालाबाट बस चढेर सिंहदरबारको पश्चिम गेटमा ओर्लिएका थिए। प्रहरीले त्यहाँबाट भित्र पस्न दिएनन्। सर्वोच्च अदालत अगाडिको बाटो हुँदै दक्षिणी गेटमा आइपुगे। तर, उनले आफ्नो सिंहदरबार टेक्नै पाएनन्। भित्र पहुँच हुनेहरूले त सिंहदरबार प्रवेश गर्ने अनुमति सहजै पाउँछन्। सर्वसाधारण नागरिक भने निरीह भएर गेटबाटै फर्किनुपर्छ।
०००

दक्षिणी गेटछेउ पर्खालमा अडेसो लागेर थचक्क भुइँमै बसेकी थिइन्, ५५ वर्षीया ताराकुमारी परियार। मुगुको खत्याड गाउँपालिकाकी परियारले हरियो चुन्नी, नीलो कुर्था र खुट्टामा फिते चप्पल लगाएकी थिइन्। यसले उनको कठिन जीवनयापनको वास्तविकता झल्काउँथ्यो। उनी केही आर्थिक सहयोगको आशामा काठमाडौं आएकी हुन्। तर, गृह मन्त्रालयमा गएर आफ्ना दु:खपीडा सुनाउने धोको पूरा हुन सकेन। दिनभर भुइँमै बसेर भित्र छिर्ने पास पर्खिरहिन्। भित्रबाट पास आउँदै आएन। उनको झोलाभरि औेषधिका खोल र रित्तिएका बट्टा थिए। 

‘द्वन्द्वकालको चोटले बुढा (श्रीमान्) मरिगए। साना बालबच्चा छन्। घरमा खान्या अन्न छैन, विहाल भयो’, उनले दु:खको पोको खोलिन्, ‘के गर्न्याँ ? कलेजोमा बोसो पलाएको छ। डाक्टरले अपरेसन गर्न भनेको छ। आँखा देख्दिनँ, कान सुन्दिन। दसैंमा एक पावा मासुसमेत चाख्न पाइनँ। भोकभोकै मरिने भयो।’ 

दुई वर्षअघि अपरेसन गरेका गोडाहरू हिँड्न मान्दैनन्। सरकारले सहयोग गरिहाल्छ कि भन्ने आसमा सिंहदरबारभित्र जान खोजे पनि पास आउँदैन। उनले सिंहदरबारभित्र कहिले टेक्न पाउँछिन् ? सरकारलाई उनले आफ्नो व्यस्था कहिले सुनाउन पाउने हुन् ? प्रश्न जो छ।
०००

नुवाकोट ककनी–४ का बलराम बानियाँ बिहान ११ बजे हतारिँदै झ्याल नम्बर १ मा उभिएका थिए। गाउँको स्कुलका अध्यक्ष रहेका बानियाँ ऊर्जा र अर्थ मन्त्रालयमा जानु रहेछ। पहिरोले स्कुलमा क्षति पुर्‍याएका कारण मन्त्री भेटेर माग्नु रहेछ आर्थिक सहयोग। तर, सिंहदरबार पस्न पास राखेकोमा उनी आक्रोशित देखिन्थे। 

‘होइन हामीले भोट दिएर नेता बनाउने, मन्त्री बनाउने, प्रधानमन्त्री बनाउने अनि हामीसँग भेट्नुपर्दा उनीहरूलाई असुरक्षा बढ्ने ?’, उनी भनिरहेका थिए, ‘यो कस्तो सुरक्षा व्यवस्था हो ? जनताको सिंहदरबारमा जनता नै पस्न नपाउने ? जनताको काम लिएर आएको छु। घण्टौं बाहिर रोकिदिने ?’ 
०००

मध्याह्न १२ बजेको चर्को घाममा छटपटिँदै थिए नवीन दाहाल। सेतो क्यापले अनुहारमा पसिना पुछिरहेका थिए। विदेश गएका बुवा उतै बिरामी परेकाले घर फर्काउन सहयोग माग्न दाङबाट काठमाडौं आएका रहेछन् उनी। सिंहदरबारमा काम गर्ने गाउँले दाइले सहयोग गर्ने भनेपछि आए पनि सिंहदरबार गेटमा निकै बेरसम्म पास पाएनन्। 

उनी फतफताउँदै थिए, ‘भित्र के नै राखेको छ र हामीसँग डराउनुपर्ने ? जनताका प्रतिनिधिलाई जनताले भेट्नै नपाउने ? यो कस्तो निरंकुश शासन हो ? दु:खसुख यतै गरिन्थ्यो। जसरी हुन्छ बुवालाई सकुसल फर्काउन पाए हुन्थ्यो।’
०००

हाम्रो देशको प्रमुख प्रशासनिक केन्द्र हो सिंहदरबार। जहाँ सर्वसाधारण नागरिकले पाइला टेक्नै पाउँदैनन्। उनीहरू आफ्ना दु:ख, व्यथा प्रधानमन्त्री, मन्त्री र सरकारी अधिकारीलाई सुनाउनबाट वञ्चित छन्। मन्त्रालयमा पहुँच हुनेहरू मन्त्रीहरूसँग चिया खान र गफ गर्न जति पटक पनि पस्न पाउँछन्। गाउँको समस्या लिएर आउने नागरिकलाई प्रहरीले गेटबाटै फर्काउँछन्। गेटमा पासको छेकबार लगाउँछन्। 

गेटमा एकछिन बसौंभन्दा ठाउँ छैन। भित्रबाट तत्काल पास पनि आउँदैन। ६८ वर्षका योगेन्द्र गुरो दनुवार भनिरहेका थिए, ‘उभिन कठिन भइरहेको छ।’ उनी ‘जनताको काम’ लिएर बाराको निजगढबाट काठमाडौं आएका हुन्। 

१०:५२ बजे गेटमा भेटिएका उनले भने, ‘हाम्रो खानेपानीको मुहान जीर्ण भयो। नयाँ मुहानका लागि खानेपानी मन्त्रालयमा जाने हो’, उनले भने, ‘हाम्रै क्षेत्रका माननीयज्यू उमाकान्त चौधरी खानेपानीमन्त्री हुनुभएको छ। हिउँदमा पानी सुकेर हैरान हुन्छ।’

दनुवारसँगै आएका ऋणबहादुर कटुवाल (वर्ष ५७) पास पर्खिंदापर्खिंदा दिक्क मानिरहेका थिए। ‘हामीले हिजो भोट दिएर जितायौं,’ उनले भने, ‘आज भेट्न पास चाहिने रे !’
०००

बाराको सिम्रौनगढका मो.कासिम अन्सारी झ्याल नम्बर—१ मा एक घण्टादेखि उभिरहेका थिए। उनी खानेपानीमन्त्री उमाकान्त चौधरीलाई बधाई दिन आएका रहेछन्। ‘नेपाली जनताको रगत र पसिनाले लोकतन्त्र आयो। सिंहदरबारभित्र सबैको अधिकार बराबर छ। तर, हाम्रो सहज पहुँच भएन’, अन्सारीले भने, ‘कामले आउनेहरूलाई सुरक्षा चेकजाँच र नागरिकता भए सजिलै पस्ने व्यस्था गरिनुपर्छ।’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा जान फाइल बोकेर सिमराबाट आएकी थिइन् रजनी क्षेत्री। गेटमा उभिएको ४ घण्टामा पनि पास मिलेन। सिमराबाट बसाइसराई ल्याएको उनको परिवारले यहाँ भने घर नभएको कारण बसाइसराई दर्ता गरेन। उनीहरू बेठेगानका भए। बच्चाहरूको जन्मदर्ता बनेन। 

‘उताबाट हाम्रो ठेगाना क्यान्सिल भइसक्यो। यता दर्तै भएको छैन। जन्मदर्ता तथा भाइको नागरिकता बनाउनै पाएनौं’, उनले भनिन्, ‘यो मिलाउन पञ्जीकरण विभाग जानुपर्ने रहेछ। पास नै पाइन्न। कसलाई भन्नु ? भित्र सोर्सफोर्स नहुनेको त गेटमै बिजोग हुने रहेछ। यहाँ त कसैलाई आउन नपरोस्।’

प्रतिनिधिसभा सदस्य गजेन्द्र महत बिहान ११:१० बजे गेटछेउ उभिरहेका थिए। जुम्लाको सान्नी त्रिवेणी गाउँपालिका—४ का वडाध्यक्ष अनिपाल धामीलाई पर्खिंदै रहेछन्। जो गाउँमा बाढीपहिरो गएपछि त्यसको समस्या लिएर धामी काठमाडौं आएका थिए। एकैछिनमा वडाध्यक्ष आइपुगे। 

‘बाढीपहिरोले जनता रुवायो। धान सबै पानीले डुबायो। जनतालाई राहत दिनुपर्‍यो भनेर कृषि र सिँचाइ मन्त्रालयमा आएको छु’, उनले भने। उनी तुरुन्तै प्रतिनिधिसभा सदस्य महतसँगै भित्र पसे।
०००

दिउँसो ३ बज्यो। जिल्ला समन्वय समितिको गेटमा केही नेता/कार्यकर्ताको भीड थियो। एक व्यक्तिले अन्नपूर्णकर्मीसित भने, ‘तपाईं किन यहाँ उभिनुभएको ? पास पाउनु भएन ? कुन मन्त्रालय जाने भन्नुस् न म मिलाइदिन्छु नि ! यहाँ के–के त मिलाउन सकिन्छ ? यस्ता मुला, पास ?’ 

सिंहदरबार पस्न चाहने धेरैजसो नेता कार्यकर्ता थिए। उनीहरूले पास पाउनु, मन्त्रालय छिर्नु र मन्त्री भेट्न सहजै पाउँछन्। पार्टीका कार्यकर्ता समूहमा मिलेर मन्त्रीहरूलाई बधाई दिन तथा खादा लगाइदिन मन्त्रालयमा छिरेका देखिन्थे। उनीहरू सरकारी गाडी चढेर सिंहदरबार आउँथे र सिधै मन्त्रालय पुग्थे। तर, दुख: पिर र मर्कामा परेका जनताले पास पाउन ठूलै युद्ध जित्नुसरह रहेछ। 

सडकको कामले विराटनगरबाट आएका मेषबहादुर श्रेष्ठले पास पाएनन्। मन्त्रालयमा गएर आफ्ना कुरा राख्ने मौका नपाएकामा उनी दुखित देखिन्थे।  बागलुङका ७८ वर्षीय जगन्नाथ पौडेल अपराह्न ४:२० बजे ४ नम्बर झ्यालमा चर्को स्वरमा बोलिरहेका थिए। उनी बालविकास केन्द्रको काम लिएर शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेट्न आएका रहेछन्। लामो समय गेटमा उभिनुपर्दा रिसाएका उनी भन्दै थिए, ‘हामीले बनाएको मन्त्रीले समय नदिएर हुन्छ ? क्वाटरमै गएर भए पनि भेट्छु।’ सिन्धुपाल्चोकबाट पानीको समस्या लिएर आएका यामबहादुर भारती (७१ वर्ष) पनि घण्टौं गेटमा उभिरहे। 

सिंहदरबार परिसरमा भौतिक संरचनाको मर्मत धमाधम भइरहेको छ। त्यसमा खटिएका छन् बर्दियाका सुनील थारु। उनी दसैं मान्न घर गएका थिए। आइतबार ४ बजेतिर आए। उनी चार—पाँच जनाको समूहमा थिए। जो झ्याल नम्बर १ को पश्चिमतिर उभिइरहे। उनीहरूलाई लिन भित्रबाट साइकल चढेर कोही लिन आए। पास देखाउँदै उनीहरूलाई भित्र लिएर गए। ‘सिंहदरबार पस्न सजिलो छैन, ग्राहो छ’, थारुले भने।

डिजिटल सेवा ठप्प
गेट अगाडि सडकपेटीमा फलामे बार छ। त्यसमा फलामे तारले बाटो बन्द गरिएको छ। त्यसमा अल्झिएर सेवाग्राही लड्छन्। पाँचवटा झ्यालमा चारवटा डिजिटल सूचनापाटी छ। तर, सबका सब बन्द छन्। पास आयो, आएन भनेर सोध्न झ्यालबाट टाउको छिराउनुपर्ने बाध्यता छ। 

सिंहदरबारको गेटमा दैनिक हजारौं पुग्छन्। पासको पर्खाइमा सेवाग्राही दिनभर उभिन्छन्। तर, त्यहाँ न शौचालय छ न त पानी खाने ठाउँ। हिउँदमा घामले पोल्छ। व्यवस्थित ओत लाग्ने ठाउँ छैन। वर्षातमा पानीले भिजाउँछ। वरपरको सडक साँघुरो छ। पासको पर्खाइमा उनीहरूलाई गेटमा पार्किङको पनि सुविधा छैन। 

१९६४ सालमा निर्माण भएको सिंहदरबार काठमाडौंको मध्य भागमा छ। राणा प्रधानमन्त्री चन्द्रशमशेरले २५ लाख रुपैयाँमा प्रधानमन्त्री र मन्त्रीहरू बस्न बनाएको सिंहदरबार एक प्रसिद्ध र ऐतिहासिक विशाल भवन हो। २००७ सालपछि नेपाल सरकारको सचिवालय रहेको यस क्षेत्रमा अहिले सबै मन्त्रालय छन्। 

सुरुमा सिंहदरबारभित्र १७ सय कोठा थिए। जुन समय यो एसियाकै ठूलो दरबार थियो। यसको सुरक्षार्थ नेपाली सेनाको एक टुकडी खटाइएको छ। २०३० सालमा यहाँ आगलागी भयो। एक भाग जलेर नष्ट भएको थियो। सरकारी कार्यालयहरू अन्त सारियो। अहिले थुप्रै भवन थपिएका छन्।
०००

सिंहदरबार पस्न सर्वसाधारण नागरिकको सास्ती देखेपछि हामीले गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र मणी पोखरेललाई प्रश्न गर्‍यौं, ‘सिंहदरबारको गेटमा मान्छे हेरेर किन विभेद हुन्छ ?’ 

‘धेरैजसो सर्वसाधारण विभिन्न बहानामा आर्थिक सहयोगको आशामा मन्त्रालयमा भिडभाड गर्नुहुन्छ। सिंहदरवार पैसा बाड्ने ठाउँ त हैन नि ! विपन्नले सहयोग पाउनुपर्छ तर सहयोग लिने पनि प्रक्रिया छ। अहिले स्थानीय निकायबाटै पनि लिन सकिन्छ’, प्रवक्ता पोखरेले भने, ‘व्यक्ति हेरेर रोक्ने गरेको हैन। यो देश चलाउने प्रमुख प्रशासकीय स्थान भएकाले पनि धेरै भद्रगोल गर्न भएन। सबैलाई काम गर्ने वातावरण चाहियो।’ 

कोरोनाकाल भएकाले पनि केही केही कडाइ गरिएको उनले बताए। ‘अब सर्वसाधारणको काम हेरेर गेटबाटै पास दिने व्यवस्था गर्न हामीले योजना बनाइरहेका छौं। विभिन्न मन्त्रालयसँग सल्लाह गरिरहेका छौ।’ दैनिक हजार जनासम्म सिंहदरबारभित्र आउने गरेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.