ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट
काठमाडौं : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ।
बुधबार ललितपुरमा आयोजित महानगरको नवौं नगरसभामा महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन्।
चालू आर्थिक वर्षका लागि महानगरले ७ अर्ब ४७ करोड ४१ लाख ६७ हजारको बजेट ल्याएको थियो। बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रूपमा खर्च गर्नेगरी आगामी आर्थिक वर्षका लागि चालू खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरेको उनले बताइन्।
त्यस्तै पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको उनले बताइन्। उनले कला, संस्कृति तथा सम्पदाको समुचित संरक्षण र सम्वर्द्धन, स्थानीय स्रोत साधनको संरक्षण र समुचित परिचालन तथा सार्वजनिक जग्गाको संरक्षण, विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा बजेटले जोड दिएको बताइन्।
त्यस्दै सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवर्द्धन, अपाङ्गता मैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बाल मैत्री व्यवहार तथा व्यवस्था, विपत जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकासमार्फत रोजगार प्रवर्द्धन तथा गरीबी न्यूनीकरण लगाएतमा समेत महानगरले विशेष प्राथमिकता दिएको उहाले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !