होर्मुज स्ट्रेट अहिले कसको नियन्त्रणमा छ ?

होर्मुज स्ट्रेट अहिले कसको नियन्त्रणमा छ ?

अमेरिका : अमेरिका र इरानबीच मध्यपूर्वमा भएको द्वन्द्व अन्त्य गर्न एक सम्झौतामा सहमति भएको छ । साथै, दुवै देशबीच आगामी ६० दिनभित्र स्थायी सम्झौता लागू गर्ने विषयमा वार्ता जारी छ । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि यो जलमार्ग प्रभावित भएको थियो । विश्वको करिब २० प्रतिशत तेल सामान्यतया यही जलडमरूमध्यबाट भएर जान्छ ।

होर्मुजबाट आपूर्ति प्रभावित हुँदा विश्वभर तेल र ग्यासको मूल्य बढेको थियो । युद्धका क्रममा इरान र अमेरिकाले एक–अर्कासँग सम्बन्धित जहाजहरूमा आक्रमण गरेको वा नाकाबन्दी गरेको पनि देखिएको थियो । अमेरिका र इरानबीच भएको सम्झौतासम्बन्धी १४ बुँदामध्ये होर्मुज स्ट्रेट पनि समावेश गरिएको बताइएको छ । दुई देशबीच भएको भनिएको ‘मेमोर्यान्डम अफ अन्डरस्ट्यान्डिङ’ को चौथो र पाँचौँ बुँदा होर्मुज स्ट्रेटसँग सम्बन्धित छन् । चौथो बुँदाअनुसार, अमेरिका ‘आफ्नो नौसैनिक नाकाबन्दी हटाउन सुरु गर्नेछ र ३० दिनभित्र पूर्ण रूपमा समाप्त गर्नेछ ।’ पाँचौँ बुँदाअनुसार, होर्मुज जलडमरूमध्यमा इरानले ‘६० दिनसम्म कुनै शुल्क नलिई व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रयास गर्नेछ ।’

होर्मुज स्ट्रेट के हो ?

होर्मुज स्ट्रेट एक जलडमरूमध्य हो, जसले ओमानको खाडी र फारसको खाडीलाई जोड्छ । संयुक्त राष्ट्रसंघका नियमअनुसार, देशहरूले आफ्नो तटरेखाबाट १२ नॉटिकल माइल (करिब १३.८ माइल) सम्म समुद्री सीमामा नियन्त्रण राख्न पाउँछन् । यसको सबैभन्दा साँघुरो भागमा होर्मुज स्ट्रेट र यसको शिपिङ लेन इरान र ओमानको क्षेत्रीय जलसीमाभित्र पर्छ । यही कारणले यी दुवै देशले यसमा आफ्नो दाबी गर्दै आएका छन् ।

इरानी सेनाको यस क्षेत्रमा बलियो उपस्थिति छ र सबैभन्दा साँघुरो समुद्री मार्गहरू इरानको जलक्षेत्रभित्र पर्छन् । यसले इरानलाई रणनीतिक रूपमा जहाजहरू नियन्त्रण गर्ने क्षमता दिएको छ । यसै कारण युद्धका बेला इरानले यस मार्गबाट जाने जहाजहरूबाट ‘टोल’ असुलिरहेको आरोप पनि लागेको थियो । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अस्वीकार गरेका थिए ।

इरान र ओमानको जलक्षेत्र हुँदै जाने यो प्राकृतिक मार्गमा जहाजहरू सामान्यतया बिना शुल्क स्वतन्त्र रूपमा आवतजावत गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघीय समुद्री कानून अनुसार जहाजहरूलाई अर्को देशको पानीबाट सुरक्षित रूपमा गुज्रने अधिकार हुन्छ । तर इरान र अमेरिका दुवैले यो सन्धिमा औपचारिक रूपमा सहमति जनाएका छैनन् ।

विशेषज्ञहरूका अनुसार अमेरिकाको धारणा हो कि होर्मुज स्ट्रेटबाट बिना रोकटोक आवतजावत गर्नु प्रचलित अन्तर्राष्ट्रिय कानुनको हिस्सा हो । पनामा र स्वेज जस्ता मानव निर्मित नहरहरूले भने विशेष सेवाका लागि टोल र शुल्क लिने गर्छन् । यस युद्धका क्रममा इरानले होर्मुज स्ट्रेटमा आफ्नो सार्वभौमिकता देखाउने प्रयास गरेको थियो, जसमा ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ गठन गर्ने प्रयास पनि समावेश थियो । यसले ‘सुरक्षित आवागमन अनुमति’ व्यवस्थापन गर्ने भनिएको थियो ।

इरानको दाबी
पछिल्लो महिनामा इरानले होर्मुज स्ट्रेट वरिपरिको क्षेत्रमा आफ्नो सैन्य नियन्त्रण बढाएको दाबी गरेको थियो, ताकि यस महत्वपूर्ण व्यापार मार्गमा आफ्नो सार्वभौमिकता प्रमाणित गर्न सकियोस् । नयाँ बनेको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ ले सार्वजनिक गरेको नक्सामा २२,००० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा ‘इरानी सशस्त्र सेनाको निगरानी’ रहेको दाबी गरिएको थियो । यो क्षेत्र ओमान र युएईको जलक्षेत्रसम्म फैलिएको थियो । युएईले भने इरानका यी दाबीलाई ‘सपना जस्तो मात्र’ भनेर खारेज गरेको थियो । यो निकायले स्ट्रेटबाट हुने सबै आवागमनका लागि ‘अनुमति र समन्वय आवश्यक हुने’ पनि बताएको थियो ।

अमेरिका र खाडीका उसका सहयोगी देशहरूले इरानको यस्तो नियन्त्रण प्रयासलाई लगातार अस्वीकार गर्दै आएका छन् । अमेरिकाले जहाजहरूलाई इरानका नियमहरू नमान्न निर्देशन दिएको थियो । युएईका राष्ट्रपति सम्बन्धी कूटनीतिक सल्लाहकार अनवर गारगाशले भने इरानले ‘सैन्य पराजयपछि नयाँ यथार्थलाई स्वीकार गराउन खोजिरहेको’ बताएका थिए ।

सम्झौतापछि अब कसको नियन्त्रण ?
अमेरिका र उसका खाडी सहयोगीहरूले स्ट्रेटमाथि इरानको नियन्त्रण दाबीलाई निरन्तर अस्वीकार गर्दै आएका छन् । सम्झौता घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट “टोल–फ्री” हुने बताएका थिए । इरानको फार्स न्यूज एजेन्सीका अनुसार नयाँ सम्झौताअन्तर्गत होर्मुज स्ट्रेट इरान र ओमानको समन्वयमा व्यवस्थापन हुनेछ, जसमा जहाजहरूका लागि सम्भावित ‘सेवा शुल्क’ पनि हुन सक्छ । तर यस्तो शुल्क कस्तो सेवाका लागि हुनेछ भन्ने स्पष्ट छैन ।

केप्लर नामक ट्रेड एनालिटिक्स कम्पनीका वरिष्ठ तेल विश्लेषक नवीन दासका अनुसार नयाँ भुक्तानी प्रणालीले व्यापारमा थप जटिलता ल्याउन सक्छ, किनकि यहाँ दैनिक ठूलो संख्यामा जहाजहरू आवतजावत गर्छन् । उनका अनुसार प्रश्नहरू अझै बाँकी छन्यो- प्रणाली कसले लागू गर्ने ? कसरी लागू हुनेछ ? शुल्क कसरी उठाइनेछ ? अन्य खाडी देशहरूको धारणा के हुनेछ ? विशेषज्ञहरूका अनुसार राजनीतिक वा सुरक्षा दृष्टिले स्ट्रेट छिटो खुल्न सक्छ, तर व्यावसायिक शिपिङ प्रणाली सामान्य अवस्थामा फर्किन समय लाग्नेछ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.