अञ्चल अस्पतालमा सुत्केरीको मृत्युले अशान्त

अञ्चल अस्पतालमा सुत्केरीको मृत्युले अशान्त

 जनकपुरधाम : सुत्केरीको मृत्यु भएपछि शुक्रबार जनकपुर अञ्चल अस्पताल तनावग्रस्त बनेको छ। शल्यक्रिया गरी सुत्केरी भएकी जनकपुर उपमहानगरपालिका–१ पुलचोककी २५ वर्षीया सोनियादेवी ठाकुरको शुक्रबार बिहान उपचारका क्रममा ज्यान गएको हो। चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै परिवारजन र आफन्तले अस्पताल क्षेत्रमा प्रदर्शन गरेका छन्।

सुत्केरी बेथा लागेपछि बिहीबार बिहान ४ बजे सोनियालाई अञ्चल अस्पताल ल्याएर भर्ना गरिएको थियो। उनका पति करण ठाकुरले भने, ‘बिहान ८ बजे अस्पतालका प्रसूति रोग विशेषज्ञ डा. धीरेन्द्र साहले शल्यक्रिया गरी बच्चा निकाले।’ उनका अनुसार बच्चाको अवस्था सामान्य छ। ‘तर, शल्यक्रिया भएर आकस्मिक कक्षमा सारिएकी उनले होसमा आएदेखि अत्यधिक पेट दुखेको भन्दै बिलौना गरेकी थिइन्’, उनकी सासू प्रेमदेवी ठाकुरले रुँदै भनिन्, ‘नर्सले शल्यक्रियापछि पेट दुख्छ नै भन्दै जवाफ फर्काएर चासो दिएनन्।’ बिरामी छटपटाउन थालेपछि नर्सकै सल्लाहमा हातखुट्टा बेडमै बाँधिएको उनले सुनाइन्।

उनका अनुसार दुखाइ कम नभएपछि अल्ट्रासाउन्ड गरियो। चिकित्सकले पुनः शल्यक्रिया गरेर समस्या पत्ता लगाउनुपर्ने बताएपछि सोनियाको राति ८ बजे दोस्रो शल्यक्रिया भयो। ‘उनको पाठेघर झिक्नुपर्ने अवस्था आएको जानकारी हामीलाई चिकित्सकले दिएका थिए’, करणले भने, ‘पाठेघर झिकेर भए पनि उनको ज्यान बचाइदिन हामीले चिकित्सकसँग अनुरोध ग¥यौं, पाठेघर झिकियो पनि र केही समयपछि सोनियाको अवस्थामा केही सुधार भयो। तर, पछि फेरि उनलाई भेन्टिलेटरमा राखियो। शुक्रबार बिहान ५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।’

दोस्रो पटक शल्यक्रिया गरेका डा. विजय सिंहले सुत्केरीको पाठेघरमा रगत जमेको हुनाले पाठेघर निकालिएको बताए। आफू ड्युटीबाट निस्किएको अवस्थामा बिरामीको मृत्यु भएको जानकारी पाएको उनले सुनाए। ‘सुत्केरीको मृत्युको कारण पत्ता लगाउन जाँच जारी छ’, उनले भने।

परिवारजनले भने शल्यक्रियामा संलग्न डा. धीरेन्द्र साहलाई कारबाही गर्न माग गरेका छन्। करणले भने, ‘मेरा नवजात बच्चासहित दुई छोरा अनाथ भए। अब, यिनलाई कसरी पाल्नु ? यस्ता ज्यानमारा चिकित्सकलाई कारबाही हुनै पर्छ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरिएको बताए। छानबिन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने उनले सुनाए। ‘सुत्केरीको मृत्यु चिकित्सकको लापरवाहीले भएको हो भने चिकित्सकलाई कारबाही गर्नेछौं र पीडितले क्षतिपूर्ति पाउनेछन्’, उनले भने।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.