ठूलो क्षतिबाट जोगियो तारा एयर
जुम्ला : नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एयरको ९ एन एईभी कल साइनको विमान गम्भीर क्षति हुनबाट जोगिएको छ। शनिबार दिउँसो सवा दुई बजे नेपालगन्जबाट उडेको जहाज २ः५० मा जुम्ला विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि विमानमा सवार चालक दलका ३ सदस्यसहित १६ यात्रु बाँच्न सफल भएका छन्।
‘जुम्ला धावनमार्ग नजिकैसम्म पुग्दा जहाँजमा कुनै समस्या थिएन। तीव्र गतिमा हावा चलेको थियो। विमान अवतरण गर्दा टायर पन्चर भयो। त्यसपछि जहाज नियन्त्रणबाहिर गएपछि दुर्घटना हुन पुग्यो’, पाइलट जेके निरौलालाई उद्धृत गर्दै को–पाइलट हिक्मत रोकायाले भने, ‘हामीले यात्रुलाई नआत्तिन अनुरोध ग¥यौं। धावनमार्गबाट चिप्लिएर विमान सय मिटर टाढा गएपछि तारजाति र बालुवा राखेको ढिस्कोमा विमान अड्यायौं, जसकारण पल्टिन र आगलागी हुन पाएन।’
विमान धावनमार्गबाट चिप्लिएलगतै सुरक्षाकर्मी र स्थानीयले तत्काल यात्रुको उद्धार गरेका थिए। नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माका अनुसार विमान ढिस्कोमा नअडिएर पल्टिएको वा नजिकैको कालेखोली बजारका घरहरूसम्म पुगेको भए विमानमा सवार सबै यात्रुसहित ठूलो भौतिक र मानवीय क्षति हुने थियो। दुर्घटनाग्रस्त विमानको अघिल्लो भाग पूरै भाँच्चिएको छ भने विमानको टायर नालीमा फसेको छ।विमान दुर्घटनाबाट जोगिएका यात्रु चन्दननाथ नगरपालिका १० जुम्लाका नन्दप्रसाद देवकोटा साता दिनअघि दाङ जिप दुर्घटनामा बाँचेका थिए। उनले भने, ‘सडक दुर्घटनाको डरले हवाई यात्रा गरेँ, फेरि दुर्घटनामा परियो। नेपालमा सडक र हवाई यात्रा दुवै सुरक्षित छैन, मलाई दोस्रो पटक पुनर्जन्म दिने पाइलट जेके निरौला मेरा लागि भगवान् हुन्।’ सोही विमान दुर्घटनाबाट जोगिएका अर्का यात्रु कैलाली जिल्ला कैलाली गाउँपालिका ४ का टेकराज चौधरीले पनि पुनर्जन्म पाएको अनुभूति सुनाउँदै भने, ‘लोकसेवा परीक्षा दिन जुम्ला पुगेको हुँ। कहिल्यै विमान नचढेकाले र यसअघिका विमान दुर्घटना भएको खबरले सुरुमै डर लागेको थियो, नभन्दै दुर्घटना भयो। हामीलाई बचाउने चालक दललाई धन्यवाद।’
पुराना जहाजले यात्रु जोखिममा
ज्यान जोखिममा राखेर पनि कर्णालीवासी जहाज चड्न बाध्य छन्। पुराना, खिया लागेका, जहाजहरू नेपालमा चल्ने भएकाले पनि दुर्घटना बढेका हुन्। जुम्लामा अवतरण हुँदै गर्दा तारा एअरको विमान पन्चर भई दुर्घटनाग्रस्त भयो। यसअघि हुम्लामा दुर्घटना भएको जहाज पनि बीचमै सम्पर्कविहीन भएको थियो। नेपालमा भएका जहाज दुर्घटनाको प्रमुख कारण इन्जिनले काम गर्न छोड्नु र पुराना जहान हुनु हो। पुराना जहाजको भरमा जनताको ज्यान जोखिममा राख्ने भन्दै जुम्लाका सरोकारवालाले सरकारसँग प्रश्न गरेका छन्।
धावनमार्गनै असुरक्षित
कर्णालीका असुरक्षित विमानस्थलको स्तरोन्नति गर्ने सरकारको आश्वासन कार्यान्वयनमा आएको छैन। अहिलेको अवस्थामा विभिन्न अफ्ठयारालाई मध्यनजर गर्दै कर्णालीका विमानस्थलको स्तरोन्नति हुन जरुरी छ। तर, यसतर्फ सरकारको ध्यान जानुपर्छ। कर्णालीका विमानस्थलको अवलोकन गर्न गत फागुनमा जुम्ला पुगेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको टोलीले अब कर्णालीका विमानस्थलको मुहार फेरिने बताएको थियो। मन्त्रालयका सहसचिव सुरेश आचार्यको टोलीले कर्णालीका धावनमार्गको स्थलगत अवलोकन गरेको हो। अवलोकनपछि धावनमार्ग साँघुरो भएकाले विमान अवतरण गर्न असहज भएको भन्दै तत्काल सरकारले स्तरवृद्धि गर्ने जनाइएको थियो। मुगुको ताल्चा, हुम्लाको सिमकोट, डोल्पाको जुफाल कालिकोटको कोटवाडा र जुम्ला विमानस्थलको स्थलगत अवलोकनपछि स्तरवृद्धिको आश्वासन दिए पनि काम भने अझै सुरु भएको छैन।