तीन लाखसहित नौ जुवाडे पक्राउ
विराटनगर : मोरङको ग्रामथान गाउँपालिका ४ का सुजित माझीको घरमा आइतबार राति जुवा खेल्दै गरेका नौजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र इलाका प्रहरी कार्यालय हरैंचाको संयुक्त टोलीले जुवाको कौडा र दुई लाख ८३ हजार नौ सय ९५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।
पक्राउ परेकाले चलाउने आठवटा मोटरसाइकल र ११ वटा मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ग्रामथान ३ का ३५ वर्षीय तुलसी विश्वास, ४६ वर्षीय सुजित विश्वास, ग्रामथान ६ का ४० वर्षीय रुपसा तामाङ, ग्रामथान ४ का ४० वर्षीय हरिलाल माझी, ग्रामथान ५ का ३३ वर्षीय कपिलकुमार महतो, कानेपोखरी गाउँपालिका ५ का २८ वर्षीय दिलिप राई, विराटनगर महानगरपालिका ४ का ४८ वर्षीय नविन रेग्मी, बुढीगंगा गाउँपालिका ३ का २१ वर्षीय रविन राय र भारत अररिया कुवाडीका ३८ वर्षीय सत्यदेव चौधरी रहेका छन्।
उनीहरुको साथबाट बा ६६ प ८९६५, को २३ प १४३, को ५ प १५९४, को ४ प ५१९७, को ५ प ५६७२, को ४ प ५६५७, स ३ प ८३२५, बीआर ११ जी ५२६० नम्बरका मोटरसाइकल बरामद गरिएको एसपी केसीले बताए। जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेकाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।