कांग्रेस जिल्ला कार्यसमितीहरु सभापति भेलाको तयारीमा

कांग्रेस जिल्ला कार्यसमितीहरु सभापति भेलाको तयारीमा

 काठमाडौं : कांग्रेसका जिल्ला कार्यसमितिहरूले असार पहिलो साता हुने जिल्ला सभापति भेलाको तयारी थालेका छन् । जिल्ला सभापतिहरूले जिल्लास्थित पार्टीका सबै तप्कासँग भेलाका लागि सुझाव र सल्लाह लिन थालेका छन् ।

डडेलधुरामा शनिबार जिल्ला सम्मेलन आयोजना गरेको थियो । डडेलधुरा कांग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लका अनुसार शनिबार पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनले सभापति सम्मेलनका लागि पार्टी संगठनदेखि समसामयिक राजनीतिक अवस्थाबारे ६ बुँदे धारणा तयार पारेको छ ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले पनि भेलाका लागि पार्टीका सबै तप्कासँग छलफल सुरु गरिसकेको बताए । उनले भने, ‘हामीले जिल्ला सम्मेलनअघि पूर्वसभापतिदेखि महाधिवेशन प्रतिनिधिसहित स्थानीय तहका जनप्रतिनिधि र सबै तहका उम्मेदवारसँग पालैपालो छलफल राखेका छौं ।’ निर्वाचनलगत्तै काठमाडौं जिल्ला कार्यसमितिले जिल्ला सम्मेलन गरिसकेकाले अहिले सरोकारवालासँग छुट्टाछुट्टै बैठक गरेर सभापति भेलाको एजेन्डा तयार पार्न लागेको काठमाडौं कांग्रेसका सभापति कृष्ण बानियाँले बताए । उनले भने, ‘हामीले छलफल थालिसकेका छौं ।’ उनका अनुसार यसअघि काठमाडौं कांग्रेसको जिल्ला सम्मेलनले तयार पारेको प्रतिवेदन पनि सभापति भेलामा पेस गर्ने तयारी भइरहेको छ ।

डडेलधुरा कांग्रेस सभापति मल्लका अनुसार शनिबारको सम्मेलनमा कार्यसमिति, भ्रातृ संगठनका प्रमुखहरू, गाउँ र नगरका पार्टी प्रमुखहरू, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू र तीनै तहका उम्मेदवारहरू सहभागी थिए । ‘सामूहिक छलफलपछि सभापति भेलाका लागि ६ बुँदे एजेन्डा तयार पारेका छौं’, उनले भने, ‘हाम्रो जिल्लाले अधिकारिक रूपमै कांग्रेस हिन्दू राष्ट्रको पक्षमा उभिनु पर्छ भन्ने धारणासमेत तय गरेका छौं ।’ उनका अनुसार डडेलधुरा कांग्रेसले विधान संशोधन, आगामी चुनावमा पार्टीले युवा पुस्तालाई उम्मेदवार बनाउनु पर्ने र सदस्यता वितरणमा एकरूपता ल्याउनु पर्नेलगायत एजेन्डा तय गरेको छ । भक्तपुर कांग्रेसका सभापति थापाका अनुसार सभापति भेलाका लागि पार्टीमा देखिएका समस्या समाधान गरी एकताबद्ध बनाउनु पर्ने माग उठिरहेको छ । उनले भने, ‘हामीले एक÷दुई दिनभित्रै छलफल निष्कर्षमा पुर्‍याउँछौं ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टीको जिल्ला सभापति भेलाका लागि केन्द्रदेखि तल्लो निकायसम्म छलफल भइरहेको छ । उनले भने, ‘हेटौंडामा हुने भेलाको तयारीरूप ९ वटा समिति गठन गरिएको छ ।’ प्रदीप कोइरालाको संयोजकत्वमा प्रचारप्रसार समिति, आनन्द पराजुली संयोजक रहेको सांस्कृतिक एवं अतिथि समन्वय समिति, गोपीलाल विश्वकर्माको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, अर्जुन तिवारीको संयोजकत्वमा स्वयंसेवक समिति, बुद्ध लामाको संयोजकत्वमा मिडिया सेन्टर र सचिवालय समिति, राजीव सुवेदीको संयोजकत्वमा स्वास्थ समिति, भरत पराजुलीको संयोजकत्वमा आवास व्यस्थापन समिति, रामबाबु बानियाको संयोजकत्वमा खाद्यान्न प्रबन्ध समिति र विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा प्रदेश संयोजन समिति गठन गरिएको छ ।


 ‘संघीयता धरापमा’

कांग्रेस नेताहरूले वर्तमान वामपन्थी सरकार अधिनायकवादतर्फ उन्मुख रहेकाले संघीयता र समावेशीता धरापमा परेको आरोप लगाएका छन् ।

काठमाडौंमा सोमबार कांग्रेसको भ्रातृ संगठन नेविसंघको काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रमा सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा युवा नेताहरू गगन थापा र प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओली अधिनायकवादतर्फ अघि बढ्न थालेको आरोप लगाए । ‘अबको कांग्रेस र युवा विद्यार्थीको भूमिका’ अन्तरक्रियामा नेताहरूले सरकारको अधिनायकवाद र पार्टीभित्र देखिएको समस्याविरुद्ध एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

वरिष्ठ नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकार गठनदेखि नै अधिनायकवाद सुरु भएको भन्दै त्यो कांग्रेसलाई मान्य नहुने बताए । उनले कांग्रेसभित्र धेरै समस्या देखिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरे । अर्का नेता सिटौलाले सत्तारुढ वामपन्थी घटकहरूका कारण देश द्वन्द्वमा फस्ने जोखिम बढ्दै गएकाले कांग्रेसले प्रतिरोध गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘लोकतन्त्रलाई नै खतरामा पार्ने गरी सरकार अघि बढिरहेको छ ।’

नेता सिंहले भने पार्टी सभापति देउवाका कारण कांग्रेसले सरकारको सशक्त प्रतिरोध गर्न नसकेको आरोप लगाए । उनले भने, ‘देशमा कम्युनिस्ट र पार्टी सभापतिले अधिनायकवाद लाद्न थालेको देखियो, यी दुवैविरुद्ध संघर्ष गर्नुको विकल्प छैन ।’

युवा नेता थापाले प्रधानमन्त्री ओलीलाई संघीयता र समावेशीता मन नपरेकाले यी दुवै मासिने खेल सरकारले सुरु गरेको आरोप लगाए । उनले भने, ‘जनताले संघीयता ठिक कि बेठिक बहस गर्न सक्छ तर प्रधानमन्त्रीले यसको विरुद्ध बोल्न मिल्दैन ।’ उनले प्रधानमन्त्री ओली जसरी भए पनि संघीयता समाप्त पार्न लागेको दाबीसमेत गरे । अर्का युवा नेता पौडेलले प्रधानमन्त्री ओली देशका लागि काम गर्नभन्दा पनि कसरी कांग्रेस समाप्त पार्न सकिन्छ भन्नेमा लागिपरेको दाबी गरे । उनले भने, ‘प्रधानमन्त्रीले देशका लागि काम गर्ने हो न कि प्रतिपक्षी कमजोर बनाउनतिर लाग्ने हो ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.