भातृ संगठनका कार्यक्रममा देउवा खेमा शून्य
काठमाडौं : कांग्रेसका भातृ संगठनले राजधानीमा आयोजना गरेका पछिल्ला कार्यक्रममा सभापतिविरोधी समूहको मात्रै उपस्थित देखिन थालेको छ । नेपाल विद्यार्थी संघको काठमाडांै शाखाले सोमबार आयोजना गरेको कार्यक्रमा बरिष्ट नेता रामचन्द्र पौडेल, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गगन थापा, प्रदीप पौडेललगायत उपस्थित भए । उनीहरू सबै सभापति देउवा विरोधी खेमाका हुन् ।
यस्तै मंगलबार पनि काठमाडैांमा काग्रेस नेतृ स्व.शैलजा आचार्यको नवैां स्मृति दिवस कार्यक्रम आयोजना गरियो । शैलजा आचार्य आदर्श समाजले आयोजना गरेको कार्यक्रममा पनि वरिष्ट नेता पौडेल र डा.शेखर कोइराला उपस्थित भए ।
अघिल्लो सातामा पनि नेविसंघ काठमाडौं जिल्लाले आयोजना गरेको कार्यक्रममा नेता सिटौलालगायत देउवाविरोधी समूह नै सहभागी रह्यो । शैलजा अचार्यको स्मृतिमा आयोजित कार्यक्रमका नेता कोइरालाले कांग्रेस भित्र मौलाएको गुट उपगुटकै कारण कम्युनिस्ट पार्टीहरूले फाइदा उठाइहेका दाबी गरे ।
संघ–प्रदेश निर्वाचनमा कांग्रेस पराजित भएपछि पार्टी भित्र तीब्र ध्रुवीकरण भएको छ । सभापति देउवाविरुद्ध सबै एक भएका छन् ।
बरिष्ट नेता पौडेल सभापति देउवाले पार्टी भित्र सबैलाई समेट्न नसकेका कारण पार्टी भित्र गुटबन्दी मौलाउँदै गएको मंगलबारको कार्यक्रममा जिकिर गरे । उनले भने, ‘सभापति भनेको सबैको हुन्छ, देउवा मेरो पनि सभापति छ तर उहाँको व्यावहारले एउटा गुटलाई मात्रै संरक्षण गरेको देखियो ।’
महामन्त्री सशांक कोइराला भन्ने सबै बीचमा एकता हुनुपर्छ भन्ने पक्षमा छन् । केही साताअघि बरिष्ट नेता पौडेल र सभापति देउवा उपस्थिति काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले भनेका थिए, ‘हामी सबै मिल्नुको विकल्प छैन ।’
महामन्त्रीपछि बोल्न गएका सभापति देउवाले आफू पनि पार्टी भित्रको सबै गुटबन्दी अन्त्यहोस् भनेर चाहेको तर केही साथीहरू गेटआउटको भाषा प्रयोग गर्न थालेको भन्दै आपत्ति जनाएका थिए ।
देउवाले भने, ‘महाधिवेशनको वैद्यानिक प्रक्रियाबाट निर्वाचित भएर आएको सभापतिलाई यसअघि कहिल्यै यस्तो भनिएको थिएन । निर्वाचित पदाधिकारीलाई काम गर्न दिनुपर्छ ।’
उनले भने, ‘म पनि पटकपटक अध्यक्षमा हारेको हुँ व्यक्ति हो । तर कहिल्यै पनि कसैलाई यसरी भनिन् ।’
तर, बरिष्ट नेता पौडेल समूहले भने आफूहरूले पार्टी भित्र थिति बसोस् भन्नका लागि आवाज उठाइरहेको दाबी गरेको छ ।
निर्वाचनमा पराजित भएपछि देउवा तथा पौडेल समूह एकले अर्काेलाई दोषारोपण गर्नमै व्यस्त छ । देउवालाई एक्ल्याउन पौडेललगायत समूहले पार्टीको भ्रातृ संगठन र शुभेच्छुक संस्थाको व्यानर प्रयोग गरी देउवाविरुद्धको मोर्चाबन्दी कसिलो पार्न लागेका छन् ।
असार पहिलो साता हेटौंडामा हुने कांग्रेस जिल्ला सभापति बैठक र भदौमा हुने महासमिति बैठकमा यसको प्रभाव स्पष्टै देखिने कांग्रेस नेताहरू बताउन थालेका छन् । राजधानीमा मंगलबारदेखि सुरु भएको कांग्रेस भातृ संगठन ट्रेड युनियन महाधिवेशन उद्घाटन सत्रमा शीर्ष नेताहरूले पार्टी एकतामा जोड दिए ।
महाधिवेशन उद्घाटन सत्रमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, बरिष्ट नेता पौडेल र नेता सिटौला उपस्थित भएका छन् । ट्रेड युनियन महाधिवेशनमा देउवा खेमा र पौडेल खेमाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन
नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरी जनतालाई मारमा पारेको भन्दै विद्यार्थी संघले काठमाडौंको गोंगबु चोकमा सरकारविरुद्ध प्रदर्शन र नाराबाजी गरेको हो । सरकारले पेट्रोलियम पदार्थमा लगातार गरेको मूल्यवृद्धि गलत भएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !