भाषा विवाद भुसको आगो बन्दै

भाषा विवाद भुसको आगो बन्दै

गोरखा : उत्तरी गोर्खामा गुरुङ र घले समुदायबीच भाषा विवादले चर्को रुप लिएको छ । तमु समाजको सहयोगमा बेब्स क्रिएसन प्रालिले दुई महिना लगाएर उत्तरी गोरखाका विभिन्न क्षेत्रमा चलचित्र ‘फुङ’ छायांकन गरी प्रदर्शनको तयारीमा जुटेको थियो । चलचित्रलाई ‘उत्तरी गोरखाको गुरुङ भाषाको पहिलो चलचित्र’ भनेर प्रचार गरिएको थियो । असार २ गते रिलिज गर्ने भनिएको यस चलचित्रका बारेमा घले समाज (लिःल फङ)ले ‘घलेभाषा’लाई ‘गुरुङभाषा’ भनिएको, भाषामाथि हस्तक्षेप गरिएको भन्दै सञ्चार तथा सूचना प्रविधी मन्त्रालयमा उजुरी दिएपछि विवाद सतहमा आएको हो ।

सञ्चार तथा सुचना प्रविधी मन्त्री गोकुलप्रसाद बास्कोटाको आदेशपछि जेठ २२ गतेको उजुरी अनुसार सेन्सर बोर्डले हाललाई चलचित्र प्रदर्शनमा रोक लगाएको छ । यो विषयमा छलफल गर्न चलचित्र विकास बोर्डले घले र गुरुङ दुबै पक्षलाई बोलाएर बैठक आयोजना गर्‍यो । दुबै समुदायले सो भाषालाई ‘आफ्नो’ दाबी गरेपछि विवाद निष्कर्षमा पुग्न सकेको छैन । भाषाको विषयमा दुई समुदायबीच हरेक बैठकमा चर्काचर्की हुने गरेको छ । ‘पहिलो बैठकमा गुरुङ तीनजना मात्र थियौं । घलेहरु धेरै आएका रहेछन् । उनीहरुको होहल्ला ठूलो भएकाले हामीलाई मान्य भएन’, चलचित्रका कलाकार तथा व्यवस्थापक आइतराम गुरुङले भने, ‘दुईदिनपछि फेरि बैठक बस्यो । घलेहरु थोरै आए । हाम्रा साथीहरु दुईवटा बस रिजर्भ गरेर पुगे तर टुंगो लागेन ।’ सेन्सर बोर्डले जे निर्णय गरे पनि मान्ने र यदि नमान्ने भए अदालत जाने निष्कर्षसहित फर्किएको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान विभागमा सो भाषा घलेभाषाको रुपमा सूचीकृत भइसकेको घले समुदायको दाबी छ । ‘२०६८ सालको जनगणनामा समेत घले भाषा भनेर उल्लेख भइसकेको छ’, घले समाजका केन्द्रीय सदस्य गणेश घलेले भने, ‘घले भाषालाई अन्तर्राष्ट्रिय मातृभाषाको एसआईएल संस्थाबाट आईएसओ कोड समेत प्राप्त भइसकेको छ ।’

वैशाख ११ गतेको मन्त्रीपरिषद् बैठकले पनि घले भाषा प्रयोगकर्तालाई अल्पसंख्यकको सूचीमा राखेको छ । विधिवत रुपमा घले भाषाको पहिचान पाइसकेको अवस्थामा उत्तरी गोरखाको गुरुङ भाषाको पहिलो चलचित्र भनेर प्रचार भइरहेकाले विरोध गरिएको उनले बताए । यो विषयले अहिले उत्तरी गोरखामा बसोबास गर्ने गुरुङ र घलेबीच तरंग ल्याएको छ । उत्तरी गोरखा तमु समाजका अध्यक्ष इमानसिंह गुरुङ चलचित्र फुङको विषयमा भएको झगडा भाषा विवादको एउटा अंश ठान्छन् । भाषा विवाद अहिलेसम्म थामथुम पारेर अघि बढिरहेको भन्दै उनले यो भित्रभित्रै भुसको आगो बनेर विकराल बनिरहेको उनको भनाइ छ ।

तथ्यांक विभागका अनुसार देशभरका १ सय २३ जातिमा घले जाति र १ सय २५ भाषामध्ये घले भाषा भनेर उल्लेख गरिएको घले समाजको दाबी छ । २२ हजार ८ सय ९२ जना घले रहेकोमा तीमध्ये नौहजार जनाले घले भाषा बोल्छन् भनेर तथ्यांक विभागको अभिलेखमा उल्लेख रहेको गणेश घलेले बताए । ‘लम्जुङ, कास्की र गोरखाको पनि दरौंदी पारिका गुरुङ समुदायले बोल्ने भाषालाई गुरुङ भाषा भनिन्छ । दरौंदी वारिका घले र गुरुङले बोल्ने भाषालाई घले भाषा नै भनिन्छ ।’ आफूहरु तथ्यमा आधारित भएर बोले पनि गुरुङ बहुसंख्यक भएकाले मुढे बलमा भाषामाथि हस्तक्षेप गर्न खोजेको उनले आरोप लगाए ।

बहुसंख्यक समुदायले बोल्ने भाषालाई अल्पसंख्यक समुदायको नाममा राख्न नमिल्ने गुरुङहरुको भनाइ छ । ‘घलेको घरमा बास बसेर लिइएको तथ्यांक हामीलाई मान्य छैन’, उत्तरी गोरखा तमु समाजका अध्यक्ष इमानसिंह गुरुङ भन्छन् ‘सन् १९७२ मा गरेको सर्भेक्षण हामी मान्दैनौं । अब तथ्यांक संकलन गरौं, यो भाषा प्रयोग गर्ने ९५ प्रतिशत गुरुङ छन् । पाँच प्रतिशतको नाममा भाषाको नाम कसरी सम्भव हुन्छ ? ’ यो विषयलाई राज्यले यथासीघ्र सर्वमान्य हुने गरी निष्कर्षमा पुर्‍याउन उनले माग पनि गरेका छन् । साविकको स्वाँरा, सौरपानी, घ्याच्चोक, बारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, केरौंजा, सिर्दीबास गाविसमा यो भाषा बोल्ने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.