रानीजमरामा सिँचाइ अतिक्रमण

रानीजमरामा सिँचाइ अतिक्रमण

टीकापुर : पहिलो चरणको कार्यक्रम सम्पन्न गरिसकेको राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको चिसापानी क्षेत्रमा आयोजनालाई प्रभाव पार्ने गरी अतिक्रमण भइरहेको छ । कर्णाली नदीको चिसापानी पुलबाट दक्षिणतर्फ निर्माण सम्पन्न भएको मुख्य इन्टेकलाई प्रभाव पार्ने गरी स्थानीयबाट अतिक्रमण भइरहेको हो ।

स्थानीय तथा केही व्यवसायीले इन्टेक र नहरलाई प्रभावित गर्ने गरी अतिक्रमण गरेर पक्की संरचना बनाएका छन् । आयोजनाका प्रमुख सुशीलचन्द्र आचार्यका अनुसार आयोजनाबाट तीन वर्षअघि क्षतिपूर्ति लगेर अन्यत्र बसाइँ सर्ने बताउँदै आएका स्थानीय र केही व्यवसायीले अझै पनि संरचना हटाएका छैनन् । मुख्य इन्टेकदेखि नहरसम्मको छेउमा झन्डै सय बढी घर निर्माण गरेर अतिक्रमण भइरहेको हो ।

‘पटक–पटक संरचना हटाउन ताकेता गर्दा पनि अटेरी गरेर काम प्रभावित गरिरहेका छन्’, आयोजना प्रमुख आचार्यले भने । ‘दुई÷तीन पटक भत्काएका संरचना पनि फेरि बनाइरहेका छन् ।’ मुख्य इन्टेकदेखि झन्डै एक किलोमिटर क्षेत्रमा स्थानीयले अतिक्रमण गरेर पक्की संरचना निर्माण गर्दै आइरहेका छन् ।

‘आयोजनाबाट क्षतिपूर्ति नै लगिसकेपछि पनि अतिक्रमित घर टहरा हटाउनुको साटो दिनदिनै पक्की संरचना बनाइरहेका छन्’, आयोजना प्रमुख आचार्यले भने, ‘ अब सुरक्षाकर्मी लगेर डोजर लगाउनुको विकल्प छैन ।’

लम्की चुहा नगरपालिका–३ का वडाध्यक्ष भक्तबहादुर चलाउनेले आयोजनालाई प्रभावित गर्ने गरी भएको अतिक्रमण हटाउन आफूहरू तयार रहेको बताएका छन् । ‘आयोजनाबाट क्षतिपूर्ति लगिसकेपछि संचरना हटाइनुपर्छ’, वडाध्यक्ष चलाउनेले भने । ‘आयोजनाले स्थानीय तहसँग समन्वय गरे केही दिनमै अतिक्रमण हटाउनेछौं ।’

त्यस्तै, आयोजनाको नहर निर्माण भइरहेको बल्चौरको मुक्तकमैयाका शिविरका सोह्र घरसमेत नहट्दा निर्माण प्रभावित भएको छ । आयोजना प्रमुख आचार्यका अनुसार बल्चौरका १६ मुक्तकमैया परिवारका लागि आयोजनाले लम्की चुहा नगरपालिका–३ व्यवस्थित नगरमा जग्गा खरिद गरको छ ।

जग्गामा कम्पाउन्ड निर्माण, प्लटिङ, खानेपानी तथा बाटो निर्माणको काम गरिसक्दा पनि मुक्तकमैया बल्चौरको क्षेत्रबाट हटेका छैनन् । ‘१६ मुक्तकमैया परिवारले एकपछि अर्को गर्दै माग राख्दै आएका छन्’, आयोजना प्रमुख आचार्यले भने । ‘माग पूरा गर्दा पनि उहाँहरू अझै बल्चौरबाट हटेका छैनन् ।’

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको मुख्य इन्टेक क्षेत्रमा अतिक्रमण हुनुले निर्माण कार्यमा समेत प्रभावित हुँदै आएको छ । इन्टेकमा फूलबारी निर्माण गर्ने कार्यक्रम रहे पनि दिनदिनै अतिक्रमण बढिरहँदा निर्माण प्रभावित हुने देखिएको आचार्यले बताए ।

आयोजनाको पहिलो चरणको कार्य सम्पन्न भइसकेको छ भने दोस्रो चरणका कार्यका लागि विश्व बैंकको सञ्चालक समितिले ऋण दिने निर्णय र सरकारले सो ऋण लिने निर्णय पनि गरिसकेको छ । कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाइ प्रणाली सञ्चालन हुँदै आएको रानी, जमरा र कुलरिया सिँचाइ प्रणालीलाई बृहत् सिँचाइका रूपमा विकास गर्न सरकारले यो आयोजना सुरु गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.