विमानस्थललाई चीनबाट सामान भित्र्याइँदै

विमानस्थललाई चीनबाट सामान भित्र्याइँदै

पोखरा : चीनबाट रसुवागढी नाका हुँदै बुधबार १४ वटा ट्रिपर गाडी नेपाल भित्र्याइएका छन्। नम्बर प्लेट राखि नसकिएका पहेंलो रङका ती ट्रिपर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ल्याइएका हुन्। साङहाई ग्रिन इन्टरनेसनल लजिस्टिक कम्पनीले मंगलबार १४ ट्रिपर विमानस्थल निर्माणका लागि भित्र्याएको हो। साङहाई कम्पनीले विमानस्थलका लागि आवश्यक उपकरण र सामान भित्र्याइरहेको छ। कम्पनीका लागि रसुवागढी नाकास्थित भन्सार एजेन्ट दोर्जे तामाङका अनुसार केही समययता निर्माण उपकरणलगायत सामान भित्रिइरहेका छन्। ‘यही सातामात्रै मजदुरका लागि चाहिने सामान आएको थियो’, उनले भने।

विमानस्थलको ठेक्का लिएको चिनियाँ कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंका अनुसार जमिन सम्याउने प्रयोजनका लागि ती सामान भित्र्याइएका हुन्। ‘अहिले जमिन सम्याउने र ड्रिनेजको काम भइरहेको छ’, उनले भने, ‘बर्खा सकिएपछि धावनमार्ग र टर्मिनल भवनको काम सुरु हुन्छ। अहिले विमानस्थलको १५ प्रतिशत काम भइसकेको छ।’

सीएएमसीईका इन्जिनियर अभिषेक उलकले निर्माणका लागि आवश्यक हेभी उपकरण यसअघि नै २० वटा एक्साभेटर र रोलर ल्याइसकेको बताए। अहिले आएजति ट्रिपर, एक्साभेटर र रोलर पर्याप्त हुने र अबचाहिँ अरु निर्माण सामग्री आवश्यक पर्ने उनको भनाइ छ। ‘बर्खा सकिएपछि निर्माणको बढी काम हुने हुँदा त्यतिबेला चाहिने सामान फेरि विदेशबाट ल्याइनेछ’, उनले भने।

चापागाईंका अनुसार ठेकेदार कम्पनीले पोखरा विमानस्थलबाट हुने उडान र त्यसको प्रक्रियाको प्रतिवेदन तयार गरिसकेको छ। नागरिक उड्डयन प्राधिकरणमा प्रतिवेदन बुझाइसकेको जानकारी उनले दिए। ‘पोखरा वरिपरिका डाँडाकाँडा कति अग्ला छन्, विमानस्थल कति उचाइमा हुन्छ र उडानका लागि कुनकुन मार्ग प्रयोग गर्न सकिन्छ भन्ने रिपोर्ट दिएका छौं’, उनले भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म झन्डै २ अर्ब रुपैयाँको काम भइसकेको छ। २०७३ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले विमानस्थल शिलान्यास गरेका थिए। ‘अहिले जमिन सम्याउने, नाली बनाउने र जहाज पार्किङका लागि ठाउँ तयार गर्ने काम भइरहेको छ’, मुनकर्मीले भने, ‘अर्काे महिनादेखि टर्मिनल भवन बनाउन सुरु हुन्छ, त्यसपछि अरु काम हुन्छ।’

२ सयभन्दा कम सिट क्षमता भएका जहाजले उडान भर्ने यो विमानस्थल निर्माण पूरा हुनासाथ सेवा सुरु गर्न नेपालकै निजी वायुसेवा कम्पनीले चासो देखाएका छन्। ‘जहाज मर्मत गर्न ह्याङ्गरको ठाउँ मागेर अहिल्यै पत्राचार पनि गरेका छन्’, मुनकर्मीले भने। मुनकर्मीले नेपाल आयल निगमको इन्धन भण्डार र ह्याङ्गरका लागि ठाउँ चाहिने भएकाले केही जमिन अधिग्रहण गर्नुपर्ने देखिएको उनको भनाइ छ। ४२ वर्षअघि सरकारले ३१ सय रोपनी जमिन विमानस्थलका लागि लिएको थियो।

पोखरा १४ र १० मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ। विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको हो। निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछ। २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ६० को हाराहारीमा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.