कोवाङ र टुकुचे लेकमा यार्सा संकलन सुरु

कोवाङ र टुकुचे लेकमा यार्सा संकलन सुरु
सुन्नुहोस्

जोमसोम : मुस्ताङका उच्चलेकमा यार्सा गुम्बा संकलन सुरु भएको छ। जिल्लाको थासाङ गाउँपालिका–१ टुकुचे र थासाङ गाउँपालिकाका उच्चलेकमा यार्सा संकलन सुरु भएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहमध्ये ३ स्थानीय तहमा स्थानीय र जिल्ला बाहिरका सर्वसाधारणलाई यार्सा संकलन गर्न अनुमति दिइने गरिन्छ। उपल्लो मुस्ताङको उच्चलेकमा यार्सा संकलन हुँदैन। तर, जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका विभिन्न लेकमा यार्सा संकलन हुन्छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत (एक्याप) मातहतको इलाका संरक्षण कार्यालय जोमसोममा ९ वटा र इलाका संरक्षण कार्यालय लोमान्थाङमा ७ वटा स्थानीय संरक्षण व्यवस्थापन समिति(सीएमसी)छन्। यी समितिले एक्यापअन्तर्गत रहेर एक्यापले सुम्पिएको जिम्मेवारी र कार्यसम्पादन गर्ने गर्छन्। एक्याप मातहतको समितिले एक्यापको कार्यविधि र मापदण्डमा रहेर वन तथा वातावरणका साथै  जैविक विविधता संरक्षणमा काम गर्ने गरेका हुन्छन्। यो समितिले वन जंगलको संरक्षणसँगै हिमाली वन्य जडिबुटी यार्सा गुम्बा संकलन तथा व्यवस्थापनको काम गर्ने गरेका छन्।

यिनै समितिले बैठक बसेर एक्यापको कार्यविधिमा रहेर निर्णय गरी यार्सा संकलन अनुमतिका लागि एक्यापलाई निवेदन पेस गर्छन्। यसरी सम्बन्धित संरक्षण व्यवस्थापन समितिले एक्यापको अनुमति पाएपछि सर्वसाधारणलाई तोकिएको शुल्क लिएर उच्चलेकमा यार्सा संकलन गर्न अनुमति दिने एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए। उनले चालु वर्षका लागि हालसम्म कोवाङ र टुकुचे लेकमा यार्सा गुम्बा संकलन गर्न सम्बन्धित समितिले निवेदन दिएपछि एक्यापले अनुमति प्रदान गरेको जनाए। उनका अनुसार अन्य संरक्षण व्यवस्थापन समितिले पनि यार्सा संकलन छोड पुर्जी दिन एक्यापमा अनुमति दिने तयारी गरेका छन्।

हिमाली जिल्ला मुस्ताङअन्तर्गत थासाङको कुञ्जो, कोवाङ र टुकुचे, घरपझोङ गाउँपालिकाको जोमसोम, बारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ, झोङ र छेङ्गुरका उच्चलेकमा यार्सा संकलन गर्न सर्वसाधारण नागरिक जाने गर्छन्। 

मुस्ताङको थासाङ गाउँपालिकाको वडा १ टुकुचे र वडा–२ कोवाङ संरक्षण व्यवस्थापन समितिले जिल्ला बाहिर र जिल्लाभित्रका सर्वसाधारणलाई धमाधम यार्सा संकलन पुर्जी दिन थालेका हुन्। 

संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले कोवाङका उच्चलेकमा वैशाख ४ गतेदेखि यार्सा संकलन पुर्जी वितरण गर्न सुरु गरिएको जानकारी दिए। कोवाङ संरक्षण समितिले मुलीलेक, पोलो लेक, श्रीखर्क, मार्चे र सानुसरे लेकमा पुगेर यार्सा संकलन गर्न अनुमति दिने गरिएको समितिका अध्यक्ष थकालीले बताए। सर्वसाधारणलाई यार्सा संकलन गर्न संकलन पुर्जीबापत स्थानीयलाई २ हजार ५ सय र जिल्ला बाहिरका सर्वसाधारणलाई ५ हजार शुल्क लिने गरेको अध्यक्ष थकालीको भनाइ छ। यार्सा संकलनका लागि झन्डै ५० जनाभन्दा बढीले संकलन पुर्जी लिइसकेको र यार्सा संकलनका लागि सर्वसाधारण थपिने क्रम जारी रहेको समिति अध्यक्ष थकालीले जनाए।

यसैगरी थासाङ गाउँपालिका–१ टुकुचेको संरक्षण व्यवस्थापन समितिले पनि वैशाखको २ गतेदेखि यार्सा संकलन फुकुवा गरेको संरक्षण व्यवस्थापन समिति अध्यक्ष दिपसागर थकालीले जानकारी दिए। टुकुचे संरक्षण व्यवस्थापन समितिले स्थानीयलाई १ हजार र जिल्ला बाहिरका सर्वसाधारणलाई ३ हजार रुपैयाँ शुल्क उठाउने गरेको समिति अध्यक्ष थकालीको भनाइ छ। टुकुचे समितिमार्फत बतासे लेक, धम्पुस लेक, मार्चे लेक र धौलागिरि आइफल लेक यार्सा टिप्न हालसम्म २८ जनाले संकलन अनुमति पुर्जी लिएका छन्।

 घरपझोङ गाउँपालिकाको जोमसोमको नममुलेक लगायतका स्थानमा यार्सा संकलन अनुमतिको प्रक्रिया थालनी भएको छैन। जोमसोम समितिका अध्यक्ष चन्द्रबहादुर थकालीले समितिले यार्सा संकलन अनुमति दिने विषयमा छलफल भएको र सम्भवत जेठको १ गते संकलन अनुमति दिने तयारी भइरहेको बताए। ‘हामी पहिले बैठक बस्छौं, त्यसपछि मिति तोक्छौं,’ अध्यक्ष थकालीले भने, ‘यार्सा टिप्नेलाई नियम र शुल्क कति लिने भन्ने विषयमा छलफल हुन्छ, यसपछि एक्याप कार्यालयमा पत्राचार गर्छौं।’ जोमसोम लेकमा गत वर्ष ९० जनाभन्दा बढीले यार्सा संकलन अनुमति लिएका थिए। त्यस समय स्थानीयलाई ४ हजार र जिल्ला बाहिरका सर्वसाधारणलाई ६ हजार शुल्क तोकिएको थियो।

बारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ लेकमा यार्सा संकलनका लागि छोड पुर्जी दिने तयारी भएको मुक्तिनाथ संरक्षण व्यवस्थापन समिति अध्यक्ष घ्युर्मी गुरुङले जानकारी दिए। मुक्तिनाथ लेकमा गत वर्ष यार्सा संकलन पुर्जीका लागि स्थानीयलाई ४ हजार र जिल्ला बाहिरका लागि ६ हजार शुल्क थियो। गत वर्ष मुक्तिनाथ लेकमा यार्सा टिप्न करिब ८० जना मानिस पुगेका थिए।

 बारागुङको झोङ लेकमा यार्सा संकलनका लागि छोडपुर्जी दिने विषयमा प्रारम्भिक छलफल भएको समिति अध्यक्ष सोनाम खाण्डो गुरुङले बताइन्। झोङ लेकमा गत वर्ष स्थानीयलाई २ हजार र अन्यलाई ३ हजार शुल्क लिइएको थियो। यार्सा संकलनबाट उठेको रकम समितिमार्फत गाउँ समाजलाई बुझाउनुपर्ने बाध्यता रहेको उनले सुनाइन्। झोङ लेकमा गत वर्ष ५० जनाभन्दा बढीले अनुमति लिएका थिए।

बारागुङको छेङ्गुर लेकमा संरक्षण व्यवस्थापन समितिले नभई गाउँ समाजलेनै यार्सा संकलन अनुमति दिने गरेको स्रोतले जनाएको छ। यसरी यार्सा संकलन अनुमतिबाट उठेको रकम गाउँसमाजकै कोषमा जम्मा हुने गरेको स्रोतको भनाइ छ।

 मुस्ताङका उच्चेलेकमा यार्सा गुम्बा संकलनका लागि स्थानीय सर्वसाधरणसहित रोल्पा, दाङ, रुकुम, गोरखा, धादिङ, बाग्लुङ र म्याग्दी जिल्लाका सर्वसाधरण आएका छन्। जैविक विविधतामध्येको बहुमूल्य प्राकृतिक हिमाली जडिबुटी यार्सा गुम्बाको स्वदेश तथा विदेशमा उत्तिकै माग हुने गर्छ। यार्सा गुम्बा विभिन्न आयुर्वेद औषधिमा समेत प्रयोग हुन्छ भने यसको सेवनले शारीरिक स्फूर्ति र यौन क्षमता वृद्धि गर्नसमेत टेवा पु¥याउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.