मुस्ताङमा यार्सा संकलन सुरू, यार्सा टिप्न स्थानीय लेकतिर
जोमसोम : मुस्ताङका उच्चलेकमा यार्सा गुम्बा संकलन गर्न थालिएको छ । जिल्लाको थासाङ गाउँपालिका-१ टुकुचे र थासाङ गाउँपालिकाका उच्चलेकमा यार्सा संकलन सुरू भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत रहेको हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहमा स्थानीय र जिल्ला बाहिरका सर्वसाधारणलाई यार्सा संकलन गर्न अनुमति दिइने गरिन्छ ।
उपल्लो मुस्ताङको उच्चलेकमा यार्सा संकलन हुँदैन । तर,जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका,घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका विभिन्न लेकमा यार्सा संकलन हुन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत (एक्याप) मातहतको इलाका संरक्षण कार्यालय जोमसोममा ९ वटा र इलाका संरक्षण कार्यालय लोमान्थाङमा ७ वटा स्थानीय संरक्षण व्यवस्थापन समिति (सीएमसी) छन् ।
यी समितिले एक्यापअन्तर्गत रहेर एक्यापले सुम्पिएको जिम्मेवारी र कार्यसम्पादन गर्ने गर्छन् । एक्याप मातहतको समितिले एक्यापको कार्यविधि र मापदण्डमा रहेर वन तथा वातावरणका साथै जैविक विविधता संरक्षणमा काम गर्ने गरेका हुन्छन् । यी समितिले वन जंगलको संरक्षणसँगै हिमाली वन्य जटिबुटी यार्सा गुम्बा संकलन तथा व्यवस्थापनको काम गर्ने गरेका छन् ।
यिनै समितिले बैठक बसेर एक्यापको कार्यविधिमा रहेर निर्णय गरी यार्सा संकलन अनुमतिका लागि एक्यापलाई निवेदन पेश गर्छन् । यसरी सम्बन्धित संरक्षण व्यवस्थापन समितिले एक्यापको अनुमति पाएपछि सर्वसाधारणलाई तोकिएको शुल्क लिएर उच्चलेकमा यार्सा संकलन गर्न अनुमति दिने एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।
उनले चालु वर्षका लागि हालसम्म कोवाङ र टुकुचे लेकमा यार्सा गुम्बा संकलन गर्नका लागि सम्बन्धित समितिले निवेदन दिएपछि एक्यापले अनुमति प्रदान गरेको जनाए । उनका अनुसार अन्य संरक्षण व्यवस्थापन समितिले पनि यार्सा संकलन छोड पूर्जी दिन एक्यापमा अनुमति दिने तयारी गरेका छन् ।
हिमाली जिल्ला मुस्ताङअन्तर्गत थासाङको कुञ्जो,कोवाङ र टुकुचे, घरपझोङ गाउँपालिकाको जोमसोम,वारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ,झोङ र छेङ्गुरका उच्चलेकमा यार्सा संकलन गर्न सर्वसाधारण नागरिक जाने गर्छन् । मुस्ताङको थासाङ गाउँपालिकाको वडा १ टुकुचे र वडा—२ कोवाङ संरक्षण व्यवस्थापन समितिले जिल्ला बाहिर र जिल्ला भित्रका सर्वसाधारणलाई धमाधम यार्सा संकलन पूर्जी दिन थालेका हुन् ।
संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले कोवाङका उच्चलेकमा बैशाख ४ गतेदेखि यार्सा संकलन पूर्जी वितरण गर्न सुरु गरिएको जानकारी दिए । कोवाङ संरक्षण समितिले मुली लेक,पोलो लेक,श्रीखर्क,मार्चे र सानुसरे लेकमा पुगेर यार्सा संकलन गर्न अनुमती दिने गरिएको समितिका अध्यक्ष थकालीले बताए ।
सर्वसाधारणलाई यार्सा संकलन गर्न संकलन पूर्जी वापत स्थानीयलाई २ हजार ५ सय र जिल्ला बाहिरका सर्वसाधारणलाई ५ हजार शुल्क लिने गरेको अध्यक्ष थकालीको भनाइ छ । यार्सा संकलनका लागि झन्डै ५० जना भन्दा बढीले संकलन पूर्जी लिइसकेको र यार्सा संकलनका लागि सर्वसाधारण थपिने क्रम जारी रहेको समिति अध्यक्ष थकालीले जनाए ।
यसैगरी थासाङ गाउँपालिका—१ टुकुचेको संरक्षण व्यवस्थापन समितिले पनि बैशाखको २ गतेदेखि यार्सा संकलन फुकुवा गरेको संरक्षण व्यवस्थापन समिति अध्यक्ष दिपसागर थकालीले जानकारी दिए । टुकुचे संरक्षण व्यवस्थापन समितिले स्थानीयलाई १ हजार र जिल्ला बाहिरका सर्वसाधारणलाई ३ हजार रुपैयाँ शुल्क उठाउने गरेको समिति अध्यक्ष थकालीको भनाइ छ । टुकुचे समितिमार्फत बतासे लेक,धम्पुस लेक,मार्चे लेक र धौलागिरि आइफल लेक यार्सा टिप्न हालसम्म २८ जनाले संकलन अनुमति पूर्जी लिएका छन् ।
घरपझोङ गाउँपालिकाको जोमसोमको नममुलेकलगायतका स्थानमा यार्सा संकलन अनुमतिको प्रक्रिया थालनी भएको छैन । जोमसोम समितिका अध्यक्ष चन्द्रबहादुर थकालीले समितिले यार्सा संकलन अनुमति दिने विषयमा छलफल भएको र सम्भवत जेठको १ गते संकलन अनुमति दिने तयारी भइरहेको बताए । ‘हामी पहिलो बैठक बस्छौं,त्यसमिति मिति तोक्छौं,’अध्यक्ष थकाली भने, 'यार्सा टिप्नेलाई नियम र शुल्क कति लिने भन्ने विषयमा छलफल हुन्छ,यसपछि एक्याप कार्यालयमा पत्रचार गछौं ।’
जोमसोम लेकमा गतववर्ष ९० जना भन्दा बढीले यार्सा संकलन अनुमती लिएका थिए । त्यस समय स्थानीयलाई ४ हजार र जिल्ला बाहिरका सर्वसाधारणलाई ६ हजार शुल्क तोकिएको थियो । वारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ लेकमा यार्सा संकलनका लागि छोड पूर्जी दिने तयारी भएको मुक्तिनाथ संरक्षण व्यवस्थापन समिति अध्यक्ष घ्यूर्मी गुरुङले जानकारी दिए ।मुक्तिनाथ लेकमा गतवर्ष यार्सा संकलन पूर्जीका लागि स्थानीयलाई ४ हजार र जिल्ला बाहिरका लागि ६ हजार शुल्क थियो । गतवर्ष मुक्तिनाथ लेंकमा यार्सा टिप्न करिब ८० जना मानिस लेंकमा पुगेका थिए ।
वारागुङको झोङ लेकमा यार्सा संकलनका लागि छोडपूर्जी दिने विषयमा प्रारम्भिक छलफल भएको समिति अध्यक्ष सोनाम खाण्डो गुरुङले बताईन् । झोङ लेकमा गतवर्ष स्थानीयलाई २ हजार र अन्यलाई ३ हजार शुल्क लिइएको थियो । यार्सा संकलनबाट उठेको रकम समिति मार्फत गाउ समाजलाई बुझाउनु पर्ने बाध्यता रहेको उनले सुनाइन् । झोङ लेकमा गतवर्ष ५० जना भन्दा बढीले अनुमति लिएका थिए ।
वारागुङको छेङ्गुर लेकमा संरक्षण व्यवस्थापन समितिले नभइ गाउँ समाजलेनै यार्सा संकलन अनुमति दिने गरेको श्रोतले जनाएको छ । यसरी यार्सा संकलन अनुमतिबाट उठेको रकम गाउँसमाजकै कोषमा जम्मा हुने गरेको श्रोतको भनाइ छ ।
मुस्ताङका उच्चेलेकमा यार्सा गुम्बा संकलनका लागि स्थानीय सर्वसाधरणसहित रोल्पा,दाङ,रुकुम,गोरखा,धादिङ,बाग्लुङ र म्याग्दी जिल्लाका सर्वसाधरण यार्सा संकलन गर्न मुस्ताङ आएका छन् ।
जैविक विविधतामध्येको बहुमूल्य प्राकृतिक हिमाली जटिबुटी यार्सा गुम्बाको स्वदेश तथा विदेशमा उक्तिकै माग हुने गर्छ । यार्सा गुम्बा विभिन्न आयूर्वेद औषधिमा समेत प्रयोग हुन्छ भने यसको सेवनले शारीरिक स्फूर्ती र यौन क्षमता वृद्धि गर्न समेत टेवा पुर्याउँछ।
यार्सा संकलनकर्ताले संकलन गरेको यार्सा जिल्ला बाहिर लैजादा स्थानीय तह र एक्याप कार्यालयमा छोड पूर्जी लिने पर्ने प्रावधान छ । एक्याप मुस्ताङले वन नियमावली २०७९ अनुसार यार्सा गुम्बा छोड पूर्जीका लागि प्रति केजी ३१ हजार शुल्क लिने गरेको छ ।
एक्यापले संकलन गर्ने यार्सा छोड पूर्जी वापत उठेको राजश्व नेपाल सरकारको खातमा जम्मा हुन्छ । यार्सा छोड पूर्जी लिने व्यापारीहरुले एक्याप र स्थानीय तहमा दोहोरो राजश्व बुझाउनु पर्दा समस्या पर्ने गरेको छ ।