उरुग्वेविरुद्ध इजिप्टलाई सहालको प्रतीक्षा

उरुग्वेविरुद्ध इजिप्टलाई सहालको प्रतीक्षा

मस्को : रुस विश्वकपमा शुक्रबार दुई पटकको उपाधि विजेता टोली उरुग्वे र २८ वर्षपछि विश्वकप फुटबलमा फर्किएको इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’को यो खेल नेपाली समयअनुसार ५ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको प्रिक्वार्टरफाइनल सम्भावना बलियो बनाउन दुवै टोलीले आफ्नो पहिलो खेलमा जितको रणनीति बनाएका छन् । यद्यपि बलियो उरुग्वेविरुद्ध इजिप्टले आफ्नो चोटग्रस्त मुख्य स्ट्राइकर मोहम्मद सलाहको साथको अपेक्षा गरिरहेको छ ।

इजिप्ट उनै सलाहको सशक्त प्रदर्शनमा रुस विश्वकपका लागि छनोट भएको टोली हो । सन् २०१२ तिर घरेलु प्रतियोगिताका क्रममा ७३ जनाको ज्यान जाने गरी स्टेडियमभित्रैै भएको झडपपछि दुई वर्षको प्रतिबन्ध बेहोरेपछि ध्वस्त बनेको इजिप्टको फुटबललाई उनै सलाहले विश्वकपसम्म डोहोर्‍याएका हुन् । त्यसका लागि इजिप्टले सन् १९९० को विश्वकप खेलेयता २८ वर्षसम्म कुर्नु पर्‍यो ।

त्यसैले इजिप्ट आफ्नो रुस विश्वकप यात्रालाई सफल बनाउन चाहन्छ । तर, रियल म्याड्रिडविरुद्ध भएको युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलका क्रममा घाइते भएका सलाहले उरुग्वेविरुद्ध खेल्ने अझै निश्चित छैन । यद्यपि बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हेक्टर कुपरले सलाह पूर्ण फिट रहेको र उरुग्वेविरुद्ध पनि उनको साथ रहने बताएका छन् । प्रशिक्षक कुपरले सलाहले खेल्ने वा नखेल्नेबारे भने स्पष्ट बोलेका छैनन् ।

उनी बिनाको इजिप्टलाई सन् १९३० र सन् १९५० को विश्वकपको उपाधि जितेको उरुग्वेविरुद्धको खेल वास्तवमै कठिन हुनेछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का मुख्य स्ट्राइकर एडिन्सन काभानी र स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजजस्ता प्रभावशाली खेलाडी रहेको उरुग्वे समूहमा निकै बलियो टोली हो ।

रुस विश्वकपको तयारीस्वरूप खेलिएको पछिल्लो खेलमा उरुग्वेले जितको लयलाई कायमै राखेको छ भने इजिप्टले निरन्तर कमजोर प्रदर्शन गरेको छ । उरुग्वेले आफ्ना पछिल्ला ६ मध्ये केवल एक खेलमा पराजय बेहोरेको छ । इजिप्टले भने पछिल्ला ६ मध्ये कुनै पनि खेलमा जित हात पार्न सकेको छैन । यी दुई टोलीबीच भने यसअघि कुनै पनि आधिकारिक प्रतियोगितामा भेट भएको छैन । अहिलेसम्म सन् २००६ मा भएको एउटा मैत्रीपूर्ण खेलमा मात्र यी दुई टोलीबीच भेट भएको छ । उक्त खेलमा उरुग्वे २-० गोलले विजयी भएको थियो ।

विगतमा यी दुई

उरुग्वे २ इजिप्ट ०

(सन् २००६, मैत्रीपूर्ण खेल)

उरुग्वे

विश्वकप सहभागिता :१३औं पटक

उपलब्धि :उपाधि (सन् १९३० र सन् १९५०)

फिफा वरीयता :१२

इजिप्ट

विश्वकप सहभागिता :तेस्रोपटक

उपलब्धि :समूहगत चरण (सन् १९३४ र सन् १९९०)

फिफा वरीयता :४५
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.