मौलिकता गुमाएको बारपाक

मौलिकता गुमाएको बारपाक

ढुंगाको छानो, ढुंगाको गारो, ढुंगा बिच्छ्याएको आँगन र गाउँभित्रको गल्लीमा पनि ढुंगै छापिएको। करिब एक हजार घरधुरी एकै ठाउँमा भएको गाउँ पुरानो बारपाकको पहिचान थियो।

बारपाक लाहुरेहरूको गाउँको रूपमा पनि परिचित छ। यहाँका अधिकांश युवा ब्रिटिस सेना, सिंगापुर प्रहरी र भारतीय सेनामा छन् भने अधिकांश प्रौढ तथा वृद्ध पनि भूपू सैनिक छन्। भिक्टोरिया क्रस पदक पाउने गजे घलेका कारण पनि बारपाकको अन्तर्राष्ट्रिय छवि छ।

बहत्तर सालको विनाशकारी भूकम्पको केन्द्रबिन्दु यही गाउँ थियो। सबै घर सोत्तर भए। पुरिएर ७२ जनाको निधन भयो। गाउँको जमिन पनि धाँजा फाटेर क्षत्विक्षत् बन्यो।

देश–विदेशमा रहेका शुभचिन्तकहरूले पुरानै ढाँचामा बारपाकको पुुनर्निर्माण गर्ने परिकल्पना गरे। एकीकृत बस्तीको गुरुयोजनाका लागि दौडधुप सुरु गरे। तर पुनर्निर्माण हुँदै जाँदा बारपाक अलग रूपमा खडा हुन थाल्यो। पुरानो बारपाक विध्वंस भएर नयाँ बारपाक निर्माण भयो, तर भूबनोटबाहेक यहाँ पुरानो ढाँचाको केही पनि बाँकी छैन।

यहाँ वडा नं १ मा ३७८ र वडा नं २ मा ९२२ घरधुरी छन्। एक हजार घरधुरी एकै ठाउँमा रहेको बारपाक देशमै सबैभन्दा धेरै घरधुरी एकै ठाउँमा रहेको गाउँ हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार १३०१ घरधुरीमध्ये बारपाकमा अहिलेसम्म ९९० नयाँ घर निर्माण भएका छन्। तीमध्ये ६० प्रतिशत आरसीसी घर निर्माण भएको त्यहाँ खटिएका पुनर्निर्माण प्राधिकरणका इन्जिनियर सन्दिप बराम बताउँछन्।

बारपाक पुरानो थलोबाट सरेको पनि छ। मनेडाँडा, कोटडाँडाजस्ता पुराना ठाउँमा बस्ती पातलो देखिन्छ। साँघुरो र भिरालो ठाउँ छोडेर गाउँलेले साबिक वडा नं ४ सोर्तको समथर स्थानमा घर बनाउन थालेका छन्। त्यहाँ जग्गा नहुनेले महँगो मूल्यमा घडेरी किनेर समेत सोर्तमा घर बनाउने क्रम बढेको छ।

ज्यानको माया गर्ने कि मौलिकता जोगाउने

पुरानै ढाँचामा घर बनाएर बारपाकको मौलिकता जोगाउने इच्छा त सबैको थियो, तर उसैगरी घर बनाउँदा भूकम्पबाट जोगिन सम्भव थिएन। ज्यानको मायाले गर्दा बारपाकलाई पुरानै संरचनामा निर्माण गर्न नसकिएको स्थानीयको भनाइ छ। ‘भूकम्पमा जति पनि मान्छे मरे, सबैजना छानाको ढुंगाले चेपेर मरेको महसुस गरियो’ स्थानीय पुरबहादुर घले भन्छन्, ‘त्यसैले अब त गाउँ राम्रो बनाउनेभन्दा पनि कसरी ज्यान जोगाउने भन्ने सबैको चिन्ता भयो।’ घरको छाना छाउँदा पनि किलाकाँटी नठोकी ढुंगा मात्र खापेर छाना छाउने पुरानो चलनले गर्दा धेरैको ज्यान गएको बारपाकीको निष्कर्ष छ। ‘पुरानो चलनअनुसार छाना छाउँदा ढुंगामा किलाकाँटी ठोकेर अड्याउँदैनथे। एउटामाथि अर्को ढुंगा खापाखाप अड्याएको हुन्थ्यो,’ उनी भन्छन्, ‘गारो लगाउँदा पनि एउटा ढुंगामाथि अर्को अड्याएको मात्र हुन्थ्यो। यसरी बनेको घर त भूकम्पले अलिअलि हल्लाउनेबित्तिकै ढुंगा झर्न थाल्दो रहेछ।’ पुरानो ढाँचा अति जोखिम भएकाले गाउँलेले पैसा नभए पनि नयाँ ढाँचाको घर बनाएको उनी बताउँछन्। ‘अलिअलि पैसा हुनेले सरकारको मापदण्ड र अनुदान पर्खिएनन्। आरसीसी घर ठड्याइसके। नहुनेहरूले सरकारको पैसा पर्खिएर पनि नक्साअनुसार आरसीसी घर नै बनाइरहेका छन्’, उनी भन्छन्, ‘भूकम्पबाट बच्ने आशामा नयाँ खालको घर बनाएको हो।’

भूकम्पले बास गुमाएकाहरूलाई घर बनाउन हतार भइसकेको थियो। सरकारको ढिलासुस्ती यही हो, त्यसैले गाउँलेले धमाधम घर ठड्याए। अहिले बारपाकले मौलिकता गुमाइसकेको छ।

अहिले बारपाक अनेकौं रङको जस्ताको छानाले रंगीबिरंगी भएको छ। ‘हिजोको कालो बारपाक अहिले रंगीचंगी भएको छ’, स्थानीय वीरबहादुर घले भन्छन्, ‘घरहरू पक्की त बने, झट्ट हेर्दा गाउँ रमाइलोजस्तो पनि देखियो, तर गाउँको मौलिकता हरायो।’ बेलायत, हङकङ, काठमाडौं बस्ने बारपाकका जनताले धेरै लगानी गरेर गाउँमा ठूला आरसीसी भवन बनाएको उनको भनाइ छ। ‘तर प्रायः ठूला घरका मान्छे गाउँमा बस्दैनन्’ घले भन्छन्, ‘होलिडे होमका रूपमा बनाएर छोडेका छन्। भाडामा लाग्छ कि भन्ने आशा गरेका छन् तर गाउँमा भाडा तिरेर को बस्छ र ? लगानीअनुसार ती घर प्रतिफल दिने खालका छैनन्।’ घले मौलिकता जोगाउन पुरानै ढाँचाको बारपाक बनाउनुपर्छ भन्नेमध्येका एक हुन्। तर सरकारी ढिलासुस्तीले बारपाक नौरंगी बनेको उनको बुझाइ छ। ‘बारपाकको एकीकृत बस्तीको अवधारणा लिएर प्राधिकरण, विभाग, मन्त्रालय पुगियो’ उनी भन्छन्, ‘तर भूकम्पले बास गुमाएकाहरूलाई घर बनाउन हतार भइसकेको थियो। सरकारको ढिलासुस्ती यही हो, त्यसैले गाउँलेले धमाधम घर ठड्याए। अहिले बारपाकले मौलिकता गुमाइसकेको छ।’ भूकम्प प्रतिरोधी बारपाक बने पनि यो अव्यवस्थित भएको उनको टिप्पणी छ।

भूकम्पले जगायो सामाजिक

गाउँले सबै पुनर्निर्माणमा लागेकाले यो वर्ष बारपाकको केही जमिन बाँझै बसेको छ। ‘अहिले बारपाकका युवा, प्रौढ, महिला सबैजसो घर बनाउने काममा तल्लीन छन्’ पुरबहादुर घले भन्छन्, ‘खेतीपाती छोडेर, बारी बाँझै राखेर घर बनाउन थालेका छन्।’ भूकम्प गएदेखि सिकर्मी, डकर्मी काम गर्नेको कमाइ राम्रो भएको उनले बताए।

भूकम्पपछि गाउँको चेतनास्तर पनि उकासिएको यहाँका वासिन्दाको अनुभव छ। भूकम्पपछि यहाँ ओइरिएका सामाजिक संघसंस्थाले जनचेतना, प्रशिक्षण, अभिमुखीकरणजस्ता कार्यक्रम गरेर गाउँलेलाई सबलीकरण गरेको स्थानीय घामरानी घले बताउँछिन्।

बारपाकमा भूकम्पपछि विनाशसँगसँगै विकास पनि भएको घलेको भनाइ छ। ‘भूकम्पभन्दा अघि बारपाकका महिला घरायसी काम मात्र गरेर जीवन बिताउँथे’ घले भन्छिन्, ‘घरबाट बाहिर कतै जानुप¥यो भने पनि पछ्यौराले मुख छोपेर हिँड्ने, मान्छेहरूसँग नबोल्ने गर्थे। तर भूकम्पपछि धेरै तालिम पाइयो। अहिले आफ्नो समस्या समाजमा प्रस्टसँग राख्न सक्ने भएका छौं।’

विभिन्न तालिम लिएपछि गाउँले किसान व्यावसायिक तरकारी खेतीमा लागेको घले बताउँछिन्। ‘पहिले बारपाकीहरूको भान्सामा बजारबाट ल्याएको तरकारी पाक्थ्यो। अहिले आफ्नै करेसाबारीबाट तरकारी टिपेर खान पाइएको छ’ घले भन्छिन्, ‘पहिले नयाँ कपडा ल्याएर बालुवा, ढोडेनी, गोरखाजस्ता बजारमा सिलाएर लाउनुपथ्र्यो। अहिले सिलाइ–बुनाइ तालिम लिएपछि आफ्नै गाउँमा सिलाएको कपडा लगाउन पाइएको छ।’ हिंसाका घटना बाहिर आउन थालेपछि समाजमा अप्रिय घटना कम हुन थालेको उनको मत छ।

सामाजिक चेतनालाई भूकम्पको देनको रूपमा लिन्छिन् स्थानीय तीर्थमाया गुरुङ। ‘भूकम्प जानुभन्दा पहिले गाउँमा पापका कारण बिरामी भएको भन्ने अन्धविश्वास थियो, त्यसैले सेतोपानी बग्ने, पाठेघर खस्ने जस्ता रोग लुकाउँथे’ उनी भन्छिन्, ‘तर अहिले स्वास्थ्यसम्बन्धी चेतनाका कारण व्यथा लुकाउने, झाँक्री लगाउने काम कम भएको छ। स्वास्थ्यचौकी, मेडिकलहरूमा बिरामी बढ्न थालेको छन्।’

स्थानीय सरकारले सडक निर्माणमा विशेष जोड दिएको वडा १ का वडाप्रमुख रोशन विक बताउँछन्। बारपाकका सबै टोलमा सडक निर्माण भएको उनको भनाइ छ। ‘ठूलो गाउँभन्दा बाहिरका गाउँहरू जस्तो– पोखरी, दुम्सीका, स्नान, मान्द्रे सबै ठाउँ सडक सञ्जालले जोडिइसक्यो’ उनले भने, ‘विभिन्न दातृ निकायसँग समन्वय गरेर एक घर एक धारा निर्माण भएको छ। सामाजिक चेतनाका अभियान, सीपमूलक तालिम सञ्चालन भइरहेका छन्।’ बारपाकको विकास तीव्र गतिमा भएको उनको तर्क छ।

हाइलाइट

पुरानो बारपाक विध्वंस भएर नयाँ बारपाक निर्माण भयो, तर भूबनोटबाहेक यहाँ पुरानो ढाँचाको केही पनि बाँकी छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.