सहकारीले नकिनेपछि सडकमा पोखियो दूध

सहकारीले नकिनेपछि सडकमा पोखियो दूध

बिर्तामोड : दूध दिनहुँ संकलन नगरिएपछि झापाको झापा गाउँपालिका शरणामतीका किसानले सडकमा पोखेर विरोध जनाएका छन्। एनएमसी दुग्ध विकास संस्थानले दूध सातामा तीन दिन मात्र लिन थालेपछि झापा गाउँपालिका वडा नम्बर ४ र ६ साबिक शरणामती गाविसका किसानले शनिबार सडकमा पोखेका हुन्।

भारतसँग सिमाना जोडिएको यो ठाउँका किसानले तीन वर्षअघि दूध भारतीय व्यापारीलाई बिक्री गर्ने गरेका थिए। त्यही बेला झापाको मेचीनगरस्थित एनएमसी सहकारीले गाईपालनमा लगानी गरी उत्पादित सबै दूध खरिद गर्ने भन्दै आफूतर्फ आकर्षित गरेको झापा–६ का भवनी तिम्सिनाले बताए। दूध धेरै उत्पादन हुन थालेपछि सरकारीले नलिएर किसानलाई समस्यामा पारेको उनको भनाइ छ।

‘सुरुमा हामीले उत्पादन गरेको दूध भारतीय व्यापारीले किनिरहेकै थिए, बीचमा एनएमसी आएर किसानलाई बिनाधितो ऋण दिने र उत्पादन भएको दूध पनि सबै लिने भनियो’, उनले भने, ‘ऋण लिएर गाईपालन गरी दूध उत्पादन हुन थालेपछि दूध लिन छाडियो, जसका कारण हामी मर्कामा प¥यौं।’

एनएमसीले बिचल्लीमा पारेको किसानको आरोप छ। ‘हामीले एक किसानबराबर ४ लाखसम्म ऋण लिएका छौं, व्यवसाय पनि ठीकै छ तर दूध दिनहुँ नलिएपछि अब के गर्ने ? ’, अर्का किसान चन्द्रबहादुर कार्कीले प्रश्न गर्दै भने। उनका अनुसार सहकारीका प्रमुख रामचन्द्र उप्रेती नै आएर दूध बिक्रीको चिन्ता नगर्न भन्दै सबै खरिद गरिदिने आश्वासन दिएका थिए। ‘अन्य कृषि पेसा गरिरहेकाहरूलाई पनि ऋण दिएर गाई पाल्न लगाए’, उनले भने, ‘अहिले न दूध बिक्री हुन्छ न त अन्य व्यवसाय नै गरियो।’

सहकारी प्रमुख उप्रेतीसहितको टोली गाउँमै पुगेर किसानलाई गाई पाल्न उक्साएको थियो। बिनाधितो ऋण पनि पाइने र उत्पादन भएको दूध पनि बिक्री हुने आसमा १ सय ५० भन्दा बढी किसानले व्यावसायिक रूपमा गाईपालन गर्दै आएका छन्। दूध राख्नका लागि सहकारीले चिस्यान केन्द्रसमेत स्थापना गरेको छ।

अहिले बिक्री नभएको दूध चिस्यान केन्द्रमा राखी अन्य स्थानमा लगेर बिक्री गर्ने भने पनि सहकारीले नदिएको झापा गाउँपालिका–४ का गोपाल खत्रीले बताए। ‘दैनिक २ हजार ५ सयदेखि ३ हजार लिटरसम्म दूध उत्पादन हुन्छ, सातामा तीन दिन मात्र खरिद गरेर अन्य चार दिनको दूध हामीले के गर्नु? ’, उनले भने, ‘हामीले चिस्यान केन्द्रमा दूध राख्न देऊ न भन्दा पनि नदिएर अन्याय गरिरहेका छन्।’

सहकारीले प्रतिबद्धताअनुरूप सुरुदेखि नै दूध खरिद नगरेको किसानको भनाइ छ। दूध ७० प्रतिशत मात्र लिँदै आएको र अहिले घटाएर २० प्रतिशतभन्दा कममा झारेको किसानको गुनासो छ। सहकारीले दूधको चिल्लोपना हेरेर प्रतिलिटर ४० देखि ४६ रुपैयाँसम्ममा खरिद गर्दै आएको थियो।

एनएमसी दुग्ध संकलन तथा चिस्यान केन्द्र शाखा झापा गाउँपालिका प्रमुख धनपति रिजालले बजारमा दूधको माग कम भएकाले अहिले केही समय दूध संकलनको मात्रा घटाइएको बताए। ‘बजारमा दूधको माग धेरै घटेको छ, त्यसैले केही दिनका लागि घटाइएको हो’, उनले भने, ‘पुनः केही दिनमा लिने तयारी सहकारीको छ।’

डीडीसीले नै पनि खरिद नगरेका कारण किसानबाट सबै दूध खरिद गर्न नसकिएको उनको भनाइ छ। पाउडर प्लान्टको मेसिन बिग्रिएका कारण पनि समस्या आएको उनले बताए।

०००

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.