बलियो बेल्जियमविरूद्ध भिड्दै नवप्रवेशी पानामा

बलियो बेल्जियमविरूद्ध भिड्दै नवप्रवेशी पानामा

मस्को : रुसमा जारी २१औं विश्वकप फुटबलमा सोमबार तीनवटा खेल हुँदैछन् । पहिलो खेलमा साँझ ५ः४५ बजे एसियाली टोली दक्षिण कोरियाले स्विडेनको सामना गर्नेछ भने दोस्रो खेलमा राति ८ः४५ बजे बलियो बेल्जियमले विश्वकपको नवप्रवेशी टोली पानामासँग भिडन्त गर्नेछ । यसैगरी राति ११ः४५ बजे विश्वकपको पूर्वविजेता इङ्ल्यान्डले ट्युनिसियासँग खेल्नेछ ।

जारी विश्वकपमा नवप्रवेशी र तुलनात्मक रूपमा कमजोर मानिएका टोलीले स्तरीय प्रदर्शन गर्दै थुप्रै समर्थकको मन जितेका छन् । शनिबार मात्र नवप्रवेशी आइसल्यान्डले दुई पटकको विश्वकप विजेतासमेत रहेको साविक उपविजेता अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा रोक्दै आफ्नो क्षमताको परिचय दिइसकेको छ । यस्तोमा थुप्रै प्रभावशाली खेलाडीले भरिएको बेल्जियमविरुद्घ खेल्दा पानामाको प्रदर्शनमाथि पनि धेरैको आँखा हुनेछ ।

बेल्जियम चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको टोली हो । त्यसमाथि बेल्जियन टोलीमा विभिन्न युरोपेली क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका क्षमतावान् खेलाडीको बाहुल्य छ । रोमेलु लुकाकु, नासिर चाड्ली, मिची बात्सुई, ड्रिज मेर्टन्स, यानिक कारास्को, केभिन डे ब्रुन, इडेन हाजार्ड, माउरोन फेलानी, भिनसेन्ट कोम्पनी बेल्जियन टोलीका यस्ता नाम हुन्, जो विश्व फुटबलका जस्तोसुकै बलिया प्रतिद्वन्द्वीलाई पनि मैदानमा आच्छुआच्छु पार्न सक्षम छन् ।

अर्कोतिर पानामासँग न यसअघि विश्वकप खेलेको अनुभव छ, न त विश्व फुटबलमा स्थापित खेलाडी नै । नाम चलेको युरोपियन क्लबबाट व्यावसायिक फुटबल खेल्ने पानामाका एकमात्र खेलाडी हुन्, डेपोर्टिभो ला कोरुनाका इस्मायल डियाज । यद्यपि, उत्तर र मध्य अमेरिका तथा क्यारेबियन (कनकाकाफ) क्षेत्रको पाँचौं चरणको छनोटमा तेस्रो हुँदै रुस विश्वकपमा स्थान पक्का गरेको टोली हो, पानामा ।

प्रारम्भिक चरणका छनोट खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै पाँचौं चरणसम्म पुगेको पानामाले होन्डुरस, अमेरिका, ट्रिनिडाड एन्ड टोबागोजस्ता बलिया टोलीलाई पछि पार्दै रुसको यात्रा पक्का गरेकाले पनि सोमबार हुने समूह ‘जी’ अन्तर्गतको पहिलो खेलमा बेल्जियमका लागि पानामा सहज प्रतिद्वन्द्वी पक्कै हुनेछैन । बेल्जियमको पक्षमा विश्वकपमा एउटा गतिलो इतिहास भने छ । सन् १९८६ को विश्वकपको समूहगत चरणमा मेक्सिकोसँग पराजित भएयता बेल्जियमले विश्वकपमा कनकाकाफ क्षेत्रका कुनै पनि टोलीसँग पराजित भएको छैन ।

यसको विपरीत पानामाले हालसम्म युरोपेली टोलीविरुद्घ खेलेका नौ खेलमा एउटा पनि जित हात पार्न सकेको छैन । युरोपेली टोलीविरुद्घ पानामा पाँच खेलमा पराजित भएको छ भने चार खेलमा बराबरीको नतिजा निकालेको छ । यसका बीच विश्व फुटबलमा एउटा भनाइ चर्चित छ, ‘फुटबल मैदानमा खेलिन्छ, कागजमा होइन ।’ त्यसैले इतिहास र तथ्यांक दुवै बेल्जियमको पक्षमा भए पनि सोमबार हुने खेलमा उसका लागि पानामा सहज प्रतिद्वन्द्वी भने पक्कै हुनेछैन । बेल्जियमको यो १३औं विश्वकप सहभागिता हो । सन् १९३० मा पहिलो विश्वकपमै सहभागिता जनाएको बेल्जियम सन् १९८६ मा चौथो भएको थियो भने सन् २०१४ मा क्वार्टरफाइनलसम्म पुगेको थियो ।

यसैगरी समूह ‘जी’कै अर्को खेलमा इङ्ल्यान्डले ट्युनिसियाको सामना गर्नेछ । सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्डको यो १५औं सहभागिता हो । इङ्ल्यान्ड सन् १९९० मा चौथो भएको थियो । त्यसयता इङ्ल्यान्ड विश्वकपमा क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन । ट्युनिसिया भने पाँचौंपटक विश्वकपमा सहभागी हुँदैछ । सन् १९५८ विश्वकपसम्म फ्रान्सको अधीनमा रहेको ट्युनिसियाले स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक सन् १९७८ को विश्वकप खेलेको थियो । त्यसयता पाँचौंपटक विश्वकप खेल्न लागेको ट्युनिसियाले पहिलो चरण नै पार गर्न सकेको छैन ।

यसैगरी समूह ‘एफ’ अन्तर्गतको खेलमा एसियाली टोली दक्षिण कोरियाले स्विडेनको सामना गर्नेछ । सन् १९३८ को विश्वकपसम्म जापानको अधीनमा रहेको दक्षिण कोरियाले १०औं पटक विश्वकप खेल्न लागेको हो । सन् २००२ मा आफ्नै देशमा भएको विश्वकपमा चौथो भएको दक्षिण कोरिया आठवटा संस्करणमा भने पहिलो चरणबाटै घर फर्किएको थियो । सन् २०१० को विश्वकपमा दक्षिण कोरिया दोस्रो चरणसम्म पुगेको थियो ।

स्विडेनको भने यो १२औं विश्वकप सहभागिता हो । सन् १९३४ मा पहिलो सहभागितामै क्वार्टरफाइनलसम्म पुगेको स्विडेन सन् १९३८ मा चौथो र सन् १९५० मा तेस्रो भएको थियो । त्यसपछि सन् १९५८ मा भएको विश्वकपमा स्विडेन उपविजेता बनेको थियो । त्यसपछि विश्वकपमा खासै गतिलो प्रदर्शन गर्न नसकेको स्विडेन एकैपटक सन् १९९४ मा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

सन् २०१० र सन् २०१४ को विश्वकपमा भने स्विडेनले छनोट चरण नै पार गर्न सकेको थिएन । यसपटक विश्वकपमा स्विडेनले पहिलोपटक घरेलु लिग खेल्ने एकजना खेलाडीलाई पनि टोलीमा समावेश गरेको छैन । विश्वकपमा स्विडेन र दक्षिण कोरिया भिड्न लागेको पनि यो पहिलोपटक हो । सन् २००६ पछि पहिलो पटक विश्वकप खेल्न लागेको स्विडिस टोलीमा यसपटक अनुभवी खेलाडी ज्लाटन इब्राहिमोभिचको अभाव भने खड्कने छ ।

प्रभाव पार्न सक्ने खेलाडी 

केभिन डे ब्रुन (बेल्जियम)

बेल्जियमका प्रभावशाली मिडफिल्डर हुन्, केभिन डे ब्रुन । आक्रामक मिडफिल्डरको परिचय बनाएका २६ वर्षीय डे ब्रुनले बेल्जियन टोलीको पछिल्लो हरेक सफलतामा महŒवपूर्ण योगदान पु¥याउँदै आएका छन् । सन् २००२ को विश्वकपपछि दुईवटा संस्करणमा छनोट चरण नै पार गर्न नसकेको बेल्जियमलाई सन् २०१४ को विश्वकपमा छनोट गराउन पनि उनले महŒवपूर्ण योगदान गरेका थिए ।

छनोट चरणमा चार गोल गर्दै उनले बेल्जियमलाई ब्राजिल विश्वकपसम्म पु¥याएका थिए । उक्त विश्वकपमा आफ्नो टोलीलाई क्वार्टरफाइनलसम्म पु¥याउन पनि उनको योगदान कम थिएन । उक्त विश्वकपको अल्जेरियाविरुद्घको आफ्नो पहिलो खेलमा माउरेन फेलानीलाई जवाफी गोल गर्न डे ब्रुनले नै पास उपलब्ध गराएका थिए । त्यसैले उनी उक्त खेलमा म्यान अफ दी म्याचसमेत घोेषित भएका थिए । सोही विश्वकपको अमेरिकाविरुद्घको प्रिक्वार्टरफाइनल खेलमा पनि टोलीलाई जित दिलाउन उनले एक गोल गरेका थिए ।

यसैगरी सन् २००६ मा बेल्जियमलाई युरोकपमा छनोट गराउन पनि उनले गतिलो योगदान गरेका थिए । बेल्जियमको यू—१८, यू—१९, यू—२१ टोली हुँदै उनले सन् २०१० मा फिनल्यान्डविरुद्घको मैत्रीपूर्ण खेलमार्फत सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । टोलीलाई आवश्यक परेको बेला विंगर र स्ट्राइकरको भूमिकामा समेत उनी उत्तिकै कुशल प्रदर्शन गर्न सक्छन् । उनी समकालीन फुटबलमा विश्वकै उत्कृष्ट प्ले मेकरमध्येका एक हुन् ।

इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने डे ब्रुनले हालसम्म राष्ट्रका लागि ६२ खेल खेल्दै १४ गोल गरेका छन् । उनको खेल्ने शैली जहिले पनि सञ्चारमाध्यम, प्रशिक्षक र साथीहरूमाझ चर्चाको विषय बन्ने गर्छ । सन् २०१७ मा दी गार्जियनले डे ब्रुनलाई विश्वका उत्कृष्ट फुटबलरको सूचीमा चौथो स्थानमा राखेको थियो । त्यसैले पनि जारी विश्वकपको सोमबार हुने खेलमा उनी बेल्जियमका हेर्न लायक खेलाडी हुन् ।


कि सुङ योङ (दक्षिण कोरिया)

जारी विश्वकपमा स्विडेनविरुद्घ सोमबार हुने खेलका लागि एसियाली टोली दक्षिण कोरियाका प्रभावशाली खेलाडी हुन्, कि सुङ योङ । इङ्लिस क्लब स्वान्सी सिटीबाट व्यावसायिक फुटबल खेल्दै आएका २९ वर्षीय योङ कोरियाका कप्तान पनि हुन् । उनले यो विश्वकपमा पहिलोपटक टोलीको कप्तानी गर्दैछन् । इङ्लिस क्लबमा फुटबलको कलासहित दमदार प्रदर्शन गरिरहेका यी अनुभवी मिडफिल्डरमा टोलीलाई अप्ठ्यारो अवस्थाबाट पार लगाउन निर्णायक भूमिका निर्वाह गर्नसक्ने गजबको क्षमता छ ।

मध्य भागमा उनको बल छलाउने र पास दिने कलाले विपक्षीलाई हैरानी बनाउँछ । लामो समयदेखि उनी दक्षिण कोरियाको मुख्य खेलाडी रहँदै आएका छन् । फ्रिकिक, लामो सट् हान्न र छोटो पास निकाल्न सक्ने क्षमताले नै उनलाई महŒवपूर्ण खेलाडीका रूपमा स्थापित गराएको हो । पछिल्लो ६ सिजन इङ्लिस प्रिमियर लिग क्लबबाट खेलिरहेका योङले आफ्नो कलामा थप निखार पनि ल्याएका छन् । उनको त्यही अनुभव र क्षमताले दक्षिण कोरियालाई रुस विश्वकपमा अघि बढाउन मद्दत गर्नेछ ।

उनी मिडफिल्डबाट गोलका राम्रा अवसर सिर्जना गर्नमात्रै हैन, आवश्यक पर्दा आफंै गोल गर्न पनि सक्षम छन् । सन् २००८ देखि दक्षिण कोरियाको सिनियर टोलीमा रहेका योङले देशका लागि एक सय दुई खेल खेल्दै १० गोल गरेका छन् । राष्ट्रिय टोलीबाट तेस्रो विश्वकप खेलिरहेका योङ यो सहभागितालाई थप स्मरणीय बनाउन चाहन्छन् । मिडफिल्डमा उनको जादु विपक्षीको टाउको दुखाइको विषय बन्ने पक्का छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.