वडा कार्यालय धाउनुपर्दा सास्ती

वडा कार्यालय धाउनुपर्दा सास्ती

फुङलिङ : पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङकी अभिमाया सुनुवार जेठ २९ गते छोरीको जन्मदर्ता गर्न चौथो पटक वडा कार्यालय पुगिन् । चार घण्टा उकालो हिँडेर बिहान १० बजेअगावै छोरी पुष्पाका साथ पुग्दा पनि उनको काम भएन । कार्यालय बिहान साढे ११ बजेसम्म पनि नखुल्दा र कोही कर्मचारी नभेट्दा निराशा छाएको थियो । ‘चौथो पटक यहाँ आएका हौं’, पुष्पाले भनिन्, ‘कहिल्यै कर्मचारी भेटिँदैनन् ।’

नाङ्खोल्याङको फुवाबाट विवाह गरेर आठराई त्रिवेणी गाउँपालिकाको फूलबारी गएकीले पुष्पा विवाहदर्ताका लागि जन्मदर्ता चाहिएपछि कार्यालय धाउन थालेकी हुन् । दैनिक मजदुरी गरेर जीविका चलाउने उनले स्थानीय सरकार गठन भएपछि जनताले सुविधा पाउँछन् भन्ने सुनेकी थिइन् । ‘हामीजस्ता सोझासीधालाई दुःख दिने यो कस्तो स्थानीय सरकार हो ? ’, उनले भनिन् ।

विवाह भएको गाउँ फूलबारी भए पनि हाल फुङ्लिङ नगरपालिका वडा नम्बर ८ साविक दोखु गाविसको ल्याङ्बामा बस्दै आएको उनले सुनाइन् । ‘बिहान सबेरै उठेर ल्याङ्बाबाट करिब चार घण्टा हिँडेर फुवा हुँदै आमासँग वडा कार्यालय आइपुग्यौं तर काम भएन’, उनले भनिन्, ‘दुःख मात्र पाइयो ।’ घरमा दुई वर्षको बच्चा छाडेर जन्मदर्ता गराउन वडा कार्यालय आउँदा कार्यालय नखुलेको र जन्मदर्ता बनाइदिने वडासचिव पनि नभएको खबर पाएपछि काम नगरी रित्तै फर्किन बाध्य हुनुपरेको उनको गुनासो छ ।

यी आमाछोरीजस्तै नाङ्खोल्याङका अधिकांश स्थानीयले वडा कार्यालयको सेवाप्रति असन्तुष्टि जनाएका छन् । घण्टौं लगाएर जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्तालगायत काम लिएर वडा कार्यालय पुग्दा कुनै बेला वडासचिव त कुनै बेला वडाध्यक्ष नभेटिनेजस्ता हैरानी बेहोर्दै आउनुपरेको गुनासो स्थानीयले गरेका छन् । कार्यालयमा राख्नुपर्ने कम्प्युटरलगायत कतिपय भौतिक पूर्वाधार वडाध्यक्षको घरमा राख्दै आएको उनीहरूको भनाइ छ ।

वडासचिव रोहितकुमार साहले मंगलबारका दिन कार्यालयकै काम लिएर सदरमुकाम फुङ्लिङ गएको बताए । ‘कार्यालयको जरुरी काम परेकाले सदरमुकाम जानुपरेको हो’, उनले भने, ‘कुनै बेला तत्काल जरुरी काम पर्दा अन्यत्र जाने भए पनि अधिकांश समय वडा कार्यालयमै बस्छु ।’

वडा कार्यालयमा बिजुलीको प्रबन्ध नहुँदा कम्प्युटर र प्रिन्टर वडाध्यक्ष जीवन खिम्दिङमाको घरमा राखेर काम गर्दै आएको जनाइएको छ । बत्ती नभएका कारण सिफारिलगायत कागजात र अन्य टाइप प्रिन्टसम्बन्धी कार्य वडाध्यक्षको घरमा गएर गर्ने गरेको सामाजिक परिचालक मञ्जु खतिवडाले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.