नेपाली जहाज अब सिधै जापान
काठमाडौं : नेपाली जहाजले अब सिधै जापानका विभिन्न सहरमा उडान गर्न पाउने बाटो खुलेको छ । नेपाल र जापान सरकारका प्रतिनिधिबीच सोमबार भएको सम्झौतासँगै नेपाल-जापान तथा जापान-नेपाल सिधा उडानको बाटो खुलेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।
दुई पक्षीय सम्झौताअनुसार नेपाली जहाजले जापानको हानेडा विमानस्थलबाहेक सबै ठाउँमा उडान गर्न पाउने भएका छन् । अब नेपाली जहाजले सातामा १४ वटा उडान गर्ने पाउनेछन् । यसैगरी नेपाली जहाजले सातामा १४ वटा उडानभित्रै रहेर ‘फ्रिडम अफ ट्राफिक राइट’ अन्तर्गत तीन वटा उडान पनि गर्न पाउने सहमति भएको उपसचिव नेपालले जानकारी दिए ।
यसैगरी जापान र नेपालबीच नागरिक उड्डयन अधिकारअन्तर्गतको पाँचौं स्वतन्त्रता अधिकार क्षेत्रभित्र रहेर पनि उडान गर्ने पाउन सहमति भएको छ । साथै जापानी जहाज पनि सोहीअनुरूप नेपालका विमानस्थलमा १४ वटा नै उडान गर्ने पाउने सम्झौता भएको छ।
जापानमा सोमबार भएको यो सम्झौता नयाँ भने होइन । यसअघि नेपाल र जापानबीच सन् १९९३ मा दुई पक्षीय हवाई सम्झौता भएको थियो । पुरानो सम्झौतामा नेपाली जहाजले जापानको ओसाका सहरमा सातामा दुई वटा मात्रै उडान गर्न पाउने उल्लेख थियो । यसैगरी जापानले पनि सातामा दुई वटै उडान गर्ने पाउने थियो ।
पुरानो सम्झौतामा नेपाली जहाजमा पनि ७२७ र ७५७ सिरिजका बोइङ मात्रै उडान गर्न पाउने उल्लेख थियो । अहिलेको सम्झौतामा भने सबै प्रकारका जहाजले उडान गर्ने पाउन सहमति भएको छ ।
२५ वर्षअघि नै सम्झौता भए पनि दुवै देशका जहाजले उडान गरेका थिएनन् । पुरानो सम्झौताको पुनरावलोकन गर्दै नयाँ सम्झौता भएको हो ।
जापानसँग हवाई सम्झौता पुनरावलोकन भएसँगै नेपाल वायुसेवा निगमले ल्याउन लागेको वाइडबडी जहाजले जापान सिधा उडान गर्ने पाउने भएको छ । जापानसगँको सिधा उडानले नेपालको हवाई क्षेत्रमा सुधार आउने राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । ‘जहाज आएको केही समयपछि नै नेवानिले जापानको मारती र ओसाका सहरमध्ये एक सहरमा उडान गर्ने गरी व्यवसायिक योजना बनाएको छ’, कंसाकारले भने ।
जापान जाने यात्रुले १२ देखि १६ घण्टा ट्रान्जिट हुँदै जानुपर्ने बाध्यता पनि अब अन्त्य हुने उनको भनाइ छ । आठ घण्टामा सिधा उडानमार्फत जापानबाट नेपाल आउन पाउने र जान पाउने भएपछि यात्रुको समय वचत हुने कंसाकारले बताए ।
हवाई समस्याका कारण नेपाल भ्रमण आउने चाहने जापानीहरू समेत अन्यत्र जाने गरेको अवस्था अन्त्य हुने उनले दाबी गरे । नयाँ सम्झौतासँगै पर्यटक आगमनदेखि गुणस्तरीय पर्यटक भित्र्याउन सहयोग पुग्ने कंसाकारले बताए ।
जापानसँगको पुरानो हवाई सम्झौता पुनरावलोकन नेपाली हवाई इतिहासमा महत्वपूर्ण कदम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले बताए ।
दुई महिनाअगाडि हुन लागेको सम्झौता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनाका कारण पछि सरेको थियो ।