मावलका हजुरबुवालाई बुवा बनाएर नेपाली नागरिकता लिने भारतीय पक्राउ

मावलका हजुरबुवालाई बुवा बनाएर नेपाली नागरिकता लिने भारतीय पक्राउ

विराटनगर : मावलका हजुरबुवालाई बुवा बनाएर भारतमा जन्मिएका एक व्यक्तिले नेपाली नागरिकता लिएको खुलेको छ। भारतको अररिया जिल्लास्थित कुर्साकाटाका ५० वर्षीय सुरेश भनिने रामसोभित मण्डलले झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट २९ वर्ष अघि नेपाली नागरिकता लिएको खुलेको हो।

मण्डलको नाममा २०४६ साल असार २ गते प्रशासन मोरङबाट ८७७ नम्बरको नागरिकता जारी भएको छ।नागरिकतामा बुवाको नाम मौलीदास मण्डल उल्लेख छ।मौलीदास उनको मामलको हजुरबुवा भएको खुलेको छ। 

विराटनगर १४ घर भएका मौलीदासले पनि २०४१ साल पुस २१ गते मोरङ प्रशासनबाट १७४२ नम्बरको नेपाली नागरिकता लिएको रेकर्ड छ।मावली हजुरबुवा मौलीदासलाई आफ्नै बुवा बनाएर नेपाली नागरिकता लिएका रामसोभितको भारत अररियाबाट प्राप्त गरेको ८५४३३२ नम्बरको भारतीय निर्वाचन आयोगको मतदाता परिचय पत्र पनि छ।तर उक्त परिचय पत्र र भारतीय रासन कार्डमा उनको नाम सुरेश मण्डल र बुवाको नाम पुरन मण्डल उल्लेख छ। 

नेपाली नागरिकतामा रामसोभित र भारतीय परिचय पत्रमा सुरेश नाम उल्लेख गरेर दुवै देशको नागरिक बनेका मण्डललाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राखी मुद्धाको अनुसन्धान अघि बढाउन मंगलबार आदेश दिएको छ। 

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा राखेर मुद्धाको अनुसन्धान अघि बढाउन आदेश दिएपछि मण्डललाई मोरङ कारागार चलान गरिएको अदालतका स्रेस्तेदार नवराज दुलालले बताए। 

भारतीय नागरिक भए पनि विराटनगर १४ मावली भएका उनले मावलका हजुरबुवालाई आफ्नै बुवा बनाएर नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।उनलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेर जेठ १० गते झुटो विवरण पेश गरेर नागरिकता लिएको विषयमा मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो।

प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार झुटो विवरण पेश गरी मण्डलले बंशजको आधारमा नेपाली नागरिकता लिएका छन्। अनुसन्धानका क्रममा उनले भारतमा जन्मिए पनि ३० वर्षदेखि आफू नेपालमा बस्दै आएको र मावलमा मामाहरु कोही पनि नभएको अवस्थामा हजुरबुवाको सम्पत्ति नजिकका हकदारले खाने भएका कारण हजुरबुवालाई बुवा बनाएर नेपाली नागरिकता लिएको स्वीकार गरेको जानकारी निरौलाले दिए।

नेपाल प्रहरीले उनी भारतीय नागरिक हुँदाहुँदै किर्ते, जालसाजी लिखत प्रमाण पेश गरी नेपाली नागरिकता लिएको पुष्टि भएको जनाएको छ।अनुसन्धानका क्रममा दिएको बयानमा मण्डलले आफूले भारतीय नागरिक बनेर त्यहाँबाट पनि पाउने सरकारी सेवा सुविधा लिंदै आएको स्वीकार गरेका छन्।

अदालतमा दिएको बयानमा पनि मण्डलले मावलीको सम्पत्ति अन्त उम्कने भएपछि हजुरबुवालाई बुवा बनाउँदै एक मात्र छोरा बनेर नागरिकता लिएको स्वीकार गरेको र आफ्नो बुवाको वास्तविक नाम पुरान मण्डल रहेको बताएको जानकारी स्रेस्तेदार दुलालले दिए।

मण्डलका साथबाट प्रहरीले बरामद गरेका भारतीय नागरिक रहेको प्रमाणित हुने परिचय पत्र र नेपाली नागरिकताको प्रमाणपत्र प्रमाणका रुपमा अदालतमा पेश गरिएको छ। अनुसन्धानका क्रममा उनले आफ्ना परिवारका अन्य सदस्यले पनि नेपाली नागरिकता लिएको बयान दिएका छन्। प्रहरीले परिवारका अन्य सदस्यको नाम नखुलाए पनि खोजी सुरु गरिएको जनाएको छ। 

प्रहरीका अनुसार सबै कुरा स्पष्ट नबुझिकन नागरिकता दिने कर्मचारी, सिफारिस गर्ने र रहोवरमा बस्ने सबै कारवाहीको दायरामा आउँछन्। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार दुई वर्षको अवधिमा मोरङमा भारतीय नागरिकले झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिएका ३४ वटा घटना छानविनको दायरामा छन्।

अनुसन्धान तथा छानविनका क्रममा भारतीय नागरिकले नेपाली नागरिकता प्राप्त गरेको र कोही कसैले झुटो विवरण पेश गरेर नागरिकता लिएको पुष्टि भएमा नागरिकता जारी गर्ने अधिकारीले त्यसलाई बदर गर्न सक्ने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए।उनका अनुसार कसूरदार ठहर गर्ने र सजाय गर्ने काम भने अदालतबाट मात्रै हुन्छ। 

झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिएको पाइएमा एकदेखि पाँच वर्षसम्म कैद र २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.