डा. उपेन्द्रलार्इ छोरीहरूको काँधीकाठ
काठमाडौं : बाल्य र किशोरावस्थाका साथी चीरनिद्रामा रहेको देख्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई धेरैबेर टोलाइरहे। हातमा लिएको पुष्पमाला चढाउँदै प्रख्यात न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको शवमा उनी एक फन्का परिक्रमा गरे।
स्कुले र कलेज जीवनका सहपाठी देवकोटाको पित्तथैलीको क्यान्सरबाट भएको असामयिक निधनप्रति डा. भट्टराई स्तब्ध देखिन्थे। पन्ध्र वर्षअघि मन्त्रीमण्डलमा सँगै काम गरेका डा. देवकोटाको अनुहार देखेपछि पूर्व सहायकमन्त्री अनुराधा कोइरालाले पनि आँसु थाम्न सकिनन्। उनलाई श्रद्धाञ्जलि दिने बेला पुष्पगुच्छा चढाउँदै उनले आँसु पुछिरहिन्।
६५ वर्षे देवकोटाको पार्थीव शरीरलाई उनैले स्थापना गरेको बाँसवारीस्थित न्युरो अस्पतालको प्रांगणमा श्रद्धाञ्जलिका लागि राखिएको थियो। झण्डै ६ घण्टासम्म भएको श्रद्धाञ्जलिमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वलगायत विभिन्न पेशाकर्मीको बिहानैदेखि बाक्लो उपस्थिति थियो।
डा. उपेन्द्रलाई खाना पकाएर खुवाउने सहयोगी भान्से कान्छी थापाको आँखा रसाइरहेको थियो। पत्नी मधुसहित तीन छोरीहरू स्तब्ध र संयमित मुद्रामा थिए।
तीन छोरीहरू मेघा, वसुधा र मञ्जरीले पिताको शव काँधमा राखेका थिए। उनीहरूले नै दागबत्ती दिए।
श्रद्धाञ्जलिमा सम्झना
डा. देवकोटाले स्थापना गरेको अस्पताल प्रांगणमा तीन नम्बर प्रदेशकी प्रमुख समेत रहेकी पूर्व सहायकमन्त्री अनुराधा कोइरालाले विगत स्मरण गर्दै भनिन्, ‘उहाँमा समन्वय गर्न सक्ने क्षमता राम्रो थियो। अरुलाई आदर गर्ने खालको हुनुहुन्थ्यो।’
पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेपालको न्युरो सर्जरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराएको बताए। उनले भने ,‘उहाँले जीवनमा श्रेष्ठता हासिल गर्नु भएको छ।’ जेहेन्दार र मेधावी व्यक्तिलाई साथीका रूपमा पाउँदा गर्व अनुभूति हुने उनले बताए।
डा. देवकोटा मन्त्री रहँदाका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देवकोटाको निधनले धेरै व्यक्तिहरू दुःखी भएको बताए। उनले सहयोगी भावना भएका देवकोटालाई गुमाउनु पर्दा मुलुकलाई अपुरणीय क्षति भएको बताए।
पूर्वमन्त्री कमल थापाले डा. देवकोटा सहपाठी भएको स्मरण गर्दै उनले चिकित्सा क्षेत्रमा विशिष्ट स्थान हासिल गरेको स्मरण गरे। उनले भने, ‘ राष्ट्रियताको सवालमा चासो र चिन्ता सधैं रह्यो। राष्ट्रवादी र स्वाभिमानी व्यक्ति हुनुहुन्थ्यो।’
प्रतिष्ठित आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले डा. देवकोटा राम्रो क्लिनिसियन, सर्जन र गुरुसमेत भएको बताए। उनले भने, ‘हामीले एकदम राम्रो चिकित्सक गुमाएका छौं। हामीले नेपालीको सेवा गर्नुपर्छ भन्ने सन्देश दिएर जानु भएको छ। उहाँबाट हामीले यही सिक्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस !