असारे विकास : वडाध्यक्षकै प्लटिङमा नाली र ग्राभेल

असारे विकास : वडाध्यक्षकै प्लटिङमा नाली र ग्राभेल

धनगढी : प्रदेश ७ को एक मात्र धनगढी उपमहानगरपालिकामा वडाध्यक्षहरूले नै योजनामा मनपरी गर्न थालेका छन्। ४ नं वडाका वडाध्यक्ष दीपक थापाले आफ्नो उत्तरबेहडीमा रहेको प्लटिङमा १० लाखको नाली र ग्राभेलको योजना हालेका छन्।

चारैतिर नालीको निकास नभएको आफ्नो प्लटिङको जग्गामा उनले १० लाखको नालीको बजेट हालेर नाली पनि निर्माण गराइसकेका छन्। उनले नालीको योजना हालेको स्थानमा एक जनाको मात्रै घर पर्छ। मुख्य सडकको नालीमा एक जना र शाखा नालीमा बढीमा ६ घरधुरी परेकाले बजेटको दुरुपयोग भएको स्थानीय टोल विकास संस्थाका अध्यक्ष नवलसिंह भण्डारीले बताए।

वडा नं ४ ले नगरपरिषद्मा ग्राभेलका योजना नराखे पनि नागरिक सचेतनाको भवन निर्माणको पाँच लाख रकम कटौती गरी वडाभरि ग्राभेल हाल्ने योजना बनाएको हो। ‘ग्राभेल पनि वडाध्यक्षकै प्लटिङमा भइरहेको छ, अरू ठाउँमा एक/दुई ट्रालि मात्रै हालिएको छ’, भण्डारीले भने।

धनगढी उपमहानगरका केही वडाध्यक्ष जग्गा कारोबारमा संलग्न छन् भने केहीले आफ्नै पुस्तौँनी सम्पति प्लटिङ गरेका छन्। ‘आफ्नो दलाली गरेको जग्गा वा प्लटिङ गरेको जग्गामा जनताको रकमले नाली र ग्राभेल भइरहेको छ, यो जनताको करबाट संकलित रकमको दुरुपयोग हो’, अनुगमन समितिका सदस्यसमेत रहेका खेमराज जोशीले बताए।

नगरपालिकाले १९ वटै वडामा टोल विकास संस्था गठन गरेको छ। तर, टोल विकास संस्थाका अधिकांश पदाधिकारीले आफूहरूले प्राथमिकतामा पारेका सडकमा ग्राभेल नहालेको बताएका छन्। सबैभन्दा बढी वडा नं ४, ८, १३ १४ देखि १९ सम्ममा ग्राभेलमा अनियमितता भएको स्थानीयले बताएका छन्।

‘प्लटिङ गर्नेले नाल निर्माण, विद्युत् खानेपानी र सडकसम्म कालोपत्रे गरेर बिक्री गर्नुपर्ने हो तर जनताको रकम आफ्नो जग्गाको मूल्य बढाउन भइरहेको छ’, धनगढी–८ का स्थानीय राजाराम चौधरीले भने।

असारमा आएर उपमहानगरका १९ वटै वडामा झण्डै साढे तीन करोडको ग्राभेल हाल्ने काम भएको छ। कुनै कुनै सडकमा त १० लाखसम्मको रकम ग्राभेलकै लागि विनियोजन गरिएको छ। ‘ग्राभेलमा एक ट्र्याक्टर ट्रालीमा चारदेखि पाँच घनमिटर ग्राभेल आउँछ, तर फिल्डमा अढाइ घनमिटर मात्रै गइरहेकाले त्यसमा अनियमितता भएको छ’, धनगढी–५ का हर्क बोहोराले बताए।

असार १ देखि देशैभरिका खोलानालाबाट ग्राभेल उत्खनन बन्द गरिएको छ। तर, ग्राभेल हाल्ने ठेक्का पाएका निर्माण व्यवसायीले यसअघि संकलन गरेको र गुणस्तरहीन ग्राभेल हालिरहेका स्थानीयले आरोप लगाएका छन। ‘धेरै निर्माण व्यवसायीले अत्तरिया–मोहना ५ लेन सडक बनिरहेकाले त्यहाँको सडक वरिपरिको सिमेन्ट र इँटाका खडन्जाहरू हालिरहेका छन्’, धनगढी–४ कै गोमती क्षत्रीले भनिन्।

उपमहानगरमा ग्राभेल माग्नेको भीड

नगर क्षेत्रभरि पक्की सडक र ढलको व्यवस्था हुनुपर्ने बेला अहिले पनि धनगढी उपमहानगरमा असारमा आएर ग्राभेल माग्नेको भीड बढेको छ। गत आर्थिक वर्ष मात्रै उपमहानगरले नगर क्षेत्रमा अढाइ करोड बढीको ग्राभेल हालेको थियो।

धनगढीलाई उपमहानगर घोषणा गर्ने बित्तिकै ग्राभेलको माग गरेको धनगढी वडा नं १८ फूलबारी ‘ए’ गाउँका देवी कँुवरले बताइन्। उनले हरेक बर्खायाममा हिलोले आवतजावतमा समस्या हुने गरेकाले ग्राभेल माग्न उपहानगरमै पुगेको बताइन्।

दुई महिना अघिदेखि ग्राभेलको माग गर्दा पनि वास्ता नगरेपछि उपमहानगरमै आएको धनगढी–२ बङग्राकटानका प्रेम पाण्डेयले बताए। ‘असारमा योजना पाइने भन्ने सुनेर कार्यालयमा सडक ग्राभेलको माग गर्न आएको छु’ पाण्डेयले भने। स्थानीय तहहरूले शक्ति र पहुँचका आधारमा योजना छान्ने गरेकाले पनि योजना नपरेका स्थानका बासिन्दा उपहानगरको कार्यालयमै आउने गरेका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.