फुटबलमाथि फिल्म
काठमाडौं : अहिले संसारभर विश्वकप फुटबलको रौनक छ । खेलकुदको महाकुम्भ मानिने फुटबल संसारभर मन पराइने खेलमध्येमा पर्छ । यति लोकप्रिय खेललाई आधार बनाएर फिल्म नबन्ने कुरै भएन । नेपालमा पनि फुटबलको क्रेज निकै छ । नेपालले विश्वकप खेल्न अझै लामो यात्रा गर्नुपर्ने भए पनि विश्कपलाई नै आधार बनाएर २०६७ मा एउटा फिल्म बनेको छ ‘फिफा वल्र्ड कप इन नेपाल’ । रामशरण पाठकले आफ्नै कथामा फिल्मको निर्देशन गरेका हुन् । नेपालका ग्रामीण भेगका बालबालिकाको फुटबलप्रतिको क्रेज देखेर पाठकले फिल्म बनाउने निर्णय गरेका थिए । फिल्ममा अखिल नेपाल फुटबल संघ (एन्फा)का खेलाडी पनि थिए । फिल्मकै माध्यमबाट वल्र्डकप खेल्न प्रोत्साहित गरिएको थियो ।
त्यस्तै भोजराज भाटद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘सुनकली’ पनि फुटबलमाथि बनेको फिल्म हो । ५० मिनेटको उक्त डकुमेन्ट्री निर्देशक भाटले मुगुकी फुटबलप्रेमी किशोरीको जीवनमा आधारित रहेर बनाएका थिए । डकुमेन्ट्रीले युरोपमा दुई अन्तर्राष्ट्रिय अवार्ड पनि जितेको थियो । १३ वर्षीया सुनकली बुढा र उनका साथीहरूको फुटबलप्रेम यसमा प्रस्तुत गरिएको थियो । ३३औं मिलानो इन्टरनेसनल फिक्स्ट फेस्टिवलमा सुनकलीले मनोनयनमा परेका ६ फिल्मलाई उछिन्दै मुभी एन्ड टीभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको हो ।
फुटबललाई नै आधार मानेर निर्माण भइरहेको अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ अहिले छायांकनको क्रममा छ । दिवाकर भट्टराईको निर्देशनमा बनिरहेको फिल्म क्याप्टेन फुटबलर बन्न चाहने एक युवकको संघर्षको कथा हो । फिल्मका निर्माता भुवन केसी खेलकुदसँग सम्बन्धित फिल्म निर्माण निकै खर्चिलो हुने बताउँछन् ।
‘अहिले हामीले एकैपटक छसातवटा क्यामेरा प्रयोग गर्नु परिरहेछ’, उनी भन्छन्, ‘तर, हामीले यो फिल्म फुटबलप्रेमीका लागि बनाएका हौं ।’ राज्यपक्षबाट खेलको उत्थानका लागि खासै काम हुन नसके पनि सरकारसँग हातेमालो गरेर कलाकार अगाडि बढ्न चाहेको उनले बताए ।
कलाकार भुवन केसी म्याराडोनाका ठूलो फ्यान हुन् । यस वर्षको विश्वकपमा उनी अर्जेन्टिनाको सपोर्ट गर्दैछन् । नेपालको फुटबल क्षेत्रलाई प्रेरणा प्रदान गर्न फिल्म ‘क्याप्टेन’ले थोरै भए पनि महŒवपूर्ण भूमिका खेल्ने केसीले बताए ।
फुटबलमाथि बनेका विश्वका फिल्म
फुटबललाई आधार बनाएर अनगिन्ती फिल्म बनेका छन् । सन् २००८ मा महान् फुटबलर म्याराडोनाको जीवनमा आधारित रहेर ‘म्यारोडोना’ र २०१६ मा बायोपिक फिल्म ‘पेले ः बर्थ अफ अ लिजेन्ड’ बने । फिल्म ‘जिदान ः अ ट्वान्टी फस्र्ट सेन्चुरी प्रोटेड’ २००६ मा बनेको अर्को फिल्म हो जुन सिंगल म्याचमा आधारित छ । फ्रेन्च फुटबलर जिनेदान जिदानको २००५ मा भएको रियल म्याड्रिड र भिल्लारियल बीचको स्पेनी लिगको अद्भुत खेलमाथि जिदान बनाइएको हो ।
सन् २००६ मा बनेको अर्को इरानी फिल्म ‘अफ साइड’ पनि निकै चर्चित बन्यो । जफर पनाहीद्वारा निर्देशित यस फिल्ममा महिलाले विश्वकप फुटबल हेर्न गरेको प्रयास देखाइएको छ । इरानको कानुनअनुसार महिलालाई खेल हेर्न प्रतिबन्ध छ । टम हुपरद्वारा निर्देशित २००९ मा आएको ‘दी डेम्न्ड युनाइटेड’ फिल्म पनि फुटबलमै आधारित थियो । ब्रेन क्ल्उजको ४४ वर्षे कोच जीवनबारे उक्त फिल्म बनाइएको हो । फुटबल खेल जीवनका अनेक पक्ष केलाएर ‘लुकिङ फर एरिक’, ‘फेबर पिच’, ‘ह्यन स्याटर्डे कम्स्’, ‘बेन्ड इट लाइक बेक्याम’जस्ता फिल्म पनि बने ।
हिन्दी सिनेमा उद्योगमा पनि फुटबलमाथि केही फिल्म बनेका छन् । सिकन्दर १४ वर्षीय बालकको फुटबलप्रतिको लगावबारे बनेको फिल्म हो । त्यसैगरी ‘कभी अलबिदा ना कहेना’मा साहरुख खान सफल फुटबल खेलाडीको भूमिकामा छन् । त्यस्तै ‘हिपहिप हुर्रे’, ‘साहेब’ जस्ता फिल्म पनि ९० को दशकमा बनेका छन् ।
सन् २००७ मा आएको जोन अब्राहिम अभिनीत फिल्म ‘दे दनादन गोल’ भने धेरै दर्शकको स्मरणमा छ । उक्त फिल्म यूकेमा बस्ने दक्षिण एसियाली समुदायको फुटबलप्रेममाथि आधारित थियो ।