बल्ल पुग्यो भैरहवा विमानस्थलको मुआब्जाको २ अर्ब, आन्दोलन स्थगित
भैरहवाः राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सोमबारदेखि जारी आन्दोलन स्थगित भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट मुआब्जा वितरणका लागि २ अर्ब रुपैयाँ आयोजनाको बैंक खातामा आएपछि आन्दोलन स्थगित भएको हो ।
मुआब्जा वितरणका लागि २ अर्ब रुपैयाँ आइसकेकाले विमानस्थल निर्माण कार्य सुचारु भएको निर्माणधीन गौतम बुद्ध अन्त्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले जानकारी दिए । मुआब्जा रकम नआएको विषयमा अन्नपूर्ण पोस्ट्ले लगातार समाचार प्रकाशित गर्दै आएको थियो ।
‘मुआब्जा वितरणका लागि रकम आइसकेको छ’, उनले भने, ‘बिहीवार (भोली) देखि नै वितरण प्रक्रिया सुरु हुन्छ ।’ गत फागुन महिनादेखि मुआब्जा वितरण नहुँदा पीडितहरु आक्रोशित भएका थिए ।
मुआब्जा वितरणका लागि अर्थमन्त्रालयबाट एक महिनाअघि नै ५ अर्ब रुपैयाँ निकासा भएपनि प्राधिकरणका महानिर्देशक (डिजी) सञ्जीव गौतमले उक्त मुआब्जाको रकम अड्काएर राखेपछि पीडितहरुले मुआब्जाका साथै डिजीको राजीनामा माग गर्दै पीडितहरु आन्दोलित भएका थिए ।
आन्दोलनको नेतृत्व गरेका पाँच नम्बर प्रदेशका प्रदेश सभा सदस्य सन्तोष पाण्डेयले मुआब्जा वितरणको लागि अर्थ मन्त्रालयबाट निकासा भएको ५ अर्ब रुपैयाँमध्ये २ अर्ब रुपैयाँ आइसकेकाले आन्दोलन स्थागित गरिएको बताए ।
उनले बाँकी ३ अर्ब रुपैयाँ पनि २ दिन भित्र आउने पर्यटन राज्यमन्त्रीले आश्वासन दिएका कारण २ दिन भित्र बाँकी रकम नआए आन्दोलन सशक्त रुपमा अगाडी बढाउने चेतावनी दिए ।
त्यस्तै पीडितहरुले आगामी साउनदेखि १० लाख रुपैयाँबाट लाभकर तिर्नुपर्ने व्यवस्थाको विरोध गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गरेका छन् । कुनै लाभको लागि जग्गा विक्री नगरिएको र सरकारले अधिग्रहण गरेका कारण लाभकर लिनु जायज नरहेको उनीहरुको भनाई छ ।
करिब २३ अर्ब मुआब्जा वितरण गर्नुपर्ने छ । हालसम्म ६ अर्ब रुपैयाँ मुआब्जा वितरण भएको छ । आयोजनाका अनुसार जग्गा अधिग्रहणमा परेका करिब २ हजार ३ सय परिवारमध्ये हाल सम्म करिब ८ सय जनालाई मुआब्जा वितरण गरिएको छ । हाल विमानस्थलको काम द्रुत गतिमा चलिरहेको छ । आयोजना प्रमुख शर्माका अनुसार विमानस्थलको करिब ५० प्रतिशत काम सम्पन्न भएको छ ।