विश्वकै धनी जेफ बेजोसको कति छ सम्पत्ति ?
सानफ्रान्सिस्को: अनलाइन सपिङ साइट अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा फेरि दरिएका छन् । अमेरिकाको चर्चित म्यागेजिन फोर्ब्सका अनुसार उनी १४१.९ बिलियन अमेरिकी डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्तिको सूचीमा रहेका हुन् ।
फोर्ब्सले सोमबार अपडेट गरेको अर्बपतिहरुको सूचीको पहिलो नम्बरमा रहेका उनले बिल गेट्स र वारेन बफेटलाई धेरै पछि पारेका हुन् । गत जुन १ देखि बेजोसको आम्दानी ५ बिलियन अमेरिकी डलर भन्दा धेरैका दरले बढेपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई उछिनेका हुन् ।
माइक्रोसफ्ट कर्पोरेसनका मालिक बिल गेट्स ९२.९ बिलियन अमेरिकी डलरसहित विश्वकै दोस्रो खर्बपतिको सूचीमा उभिएका छन् । त्यसैगरी अर्का अमेरिकन व्यापारी तथा लगानीकर्ता वारेन बफेट ८२.२ अमेरिकी डलर बिलियन सम्पत्तिसहित विश्वको तेस्रो धनीको सूचीमा दरिएका छन् ।
बेजोस यसअघि पनि विश्वको धनी सूचीमा आएका थिए । बेजोसको कम्पनी अमजेन प्रविधि कम्पनी एप्पलपछि विश्वकै दोस्रो मूल्यवान कम्पनी भएको थियो ।