न्युजिल्यान्डकी प्रधानमन्त्री सुत्केरी
वेलिङटन : न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा केट लरेल अर्डन सुत्केरी भएकी छन् । ३७ वर्षीया उनले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । उनले आफू सुत्केरी भएको जानकारी इन्स्टाग्राममा पति क्लार्क गेफर्ड र छोरीसहित तस्बिर पोस्ट गरेर दिएकी थिइन् । उनी सन् १८५६ पछि न्युजिल्यान्डकी सबैभन्दा युवा प्रधानमन्त्री हुन् ।
छोरीलाई जन्म दिएसँगै उनी प्रधानमन्त्री रहँदा सुत्केरी हुने विश्वको दोस्रो प्रधानमन्त्रीको कीर्तिमान बनाएकी छन् । यसअघि सन् १९९० मा पाकिस्तानको तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले छोरीलाई जन्म दिएकी थिइन् । प्रधानमन्त्री रहँदा आमा बन्ने भुट्टो पहिलो प्रधानमन्त्री हुन् ।
प्रधानमन्त्री अर्डनलाई प्रसव हुने अनुमानित समयको ४ दिनपछि अक्ल्यान्डस्थित एउटा अस्पतालमा भर्ती गरिएको थियो । उनले ६ साताको सुत्केरी विदा लिएकी छन् । उनको अनुपस्थितिमा उपप्रधानमन्त्री विन्स्टन पिटर्सले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछन् । अर्डनले समय निकालेर क्याबिनेटका शासन सञ्चालनसम्बन्धी कागजात अध्ययन गर्ने जनाएकी छन् ।
उनी आमा बनेको जानकारी पाएलगत्तै उनको दल र अन्य दलका नेताहरूले उनलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा अस्पतालका डाक्टर, नर्स र कर्मचारीलाई धन्यवाद दिँदै छोरीको वजन ३ किलो ३ सय १० ग्राम रहेको जानकारी दिएकी छन् ।
उनले गएको जनवरीमा आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । यसै वर्ष रेडियो न्युजिल्यान्डलाई दिएको अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘नोकरी गर्ने र आमा हुने म पहिलो महिला होइन । मभन्दा अघि नोकरी गर्ने कैयौं महिला आमा भएका छन्।’