आरोही फुञ्जो लामालाई अभिनन्दन
काठमाडौं : चुम उपत्यकाको प्रथम सगरमाथा आरोही फुञ्जो लामालाई अभिनन्दन गरिएको छ । चुम कल्याण समितिले आयोजना गरेको एक समारोहमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले लामालाई दोसल्ला ओढाएर र ताम्रपत्र प्रदान गरी अभिनन्दन गरेका हुन् ।
सोही अवसरमा सगरमाथा आरोही गोरखाको आरुघाट निवासी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई पनि सम्मान गरिएको छ । गोरखा घर भएका सगरमाथा आरोहीहरू लाप्राकका ईमान गुरूङ पुरबहादुर गुरूङ सिङ्लाका देशबहादुर गुरूङ र स्वाँराका अनुप श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।
त्यस्तै नेपालकै पहिलो अन्तरराष्ट्र्यि पर्वतारोहण पथप्रदर्शक लाप्राकका सुनार गुरुङलाई पनि मन्त्री अधिकारीले प्रसंसापत्र प्रदान गरी सम्मान गरिएको समितिका अध्यक्ष निमा लामाले जानकारी दिए । नेपाल पर्यटन बोर्ड भृ्कुटीमण्डपमा सम्पन्न अभिनन्दन समारोहमा गोरखाका सांसदहरू हरि अधिकारी, चुडामणि खड्का, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा लगायतले आरोहीहरूलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।