सिद्धार्थनगर भैरहवाको बजेट २ अर्ब ४९ लाख रुपैयाँ
भैरहवाः रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले निती तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ को लागि ५५ बुँदे निती तथा कार्यक्रमसहित २ अर्ब ४९ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
चालु तर्फ ४३ करोड १ लाख ८६ हजार र पूँजीगततर्फ १ अर्ब ५७ करोड ४७ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले पूर्वाधार, पर्यटन र स्थानीय शासनलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।
आइतबारबाट सुरु भएको तेस्रो नगर सभामा नगर प्रमुख (मेयर) हरिप्रसाद अधिकारीले सबै क्षेत्रलाई उत्तिकै महत्व दिएर बजेट ल्याइएको बताए । चालु आव भन्दा ४५ दशमलव १३ प्रतिशतले बढाएर ल्याइएको बजेटमा सामाजिक सुरक्षातर्फ २ करोड, आरयुडिपीतर्फ २३ करोड र आइयुडिपीतर्फ १७ करोड थप गरिएको छ ।
बजेटमा भौतिक पूर्वाधारतर्फ एक अर्ब ५७ करोड, पूर्वाधारतर्फ विनियोजित रकम मध्ये सडक, सतह ढल र फोहोरमैला प्रशोधन केन्द्रमा निर्माणमा एक अर्ब ३९ करोड र वडास्तरीय अन्य योजनाका लागि ३ करोड ५० हजार विनियोजन गरिएको छ ।
बजेटमा कुल आयमध्ये आन्तरिक आयतर्फ कर, दस्तुर, शुल्क समेतबाट गरी ९ करोड, नेपाल सरकारको वित्तिय समानीकरण अनुदानतर्फ १७ करोड, राजश्व बाँडफाँडबाट ८ करोड, सडक वोर्डबाट एक करोड, जग्गा रजिष्ट्रेशन बाँडफाँडबाट एक करोड आम्दानी हुने अपेक्षा लिइएको छ ।
यस्तै एशियाली विकास बैंकतर्फ अनुदानमा एकीकृत शहरी विकास आयोजनबाट २८ करोड तथा क्षेत्रीय शहरी विकास आयोजनातर्फ एक अर्ब र नगर विकास कोषको ऋण ५ करोड प्राप्त हुने बजेटमा जनाइएको छ ।
नगरमा रहेको १३ वटा वडाहरुमध्ये वडा नम्बर १, ३, ६, ८ र ९ गरी ५ वटा वडालाई २६ लाख ५० हजार दरले र वडा नम्बर २, ४, ५, ७, १०, ११, १२ र १३ गरी ८ वटा वडालाई २१ लाखको दरले बजेट विनियोजन गरिएको छ ।
सभामा बजेट प्रस्तुत गर्दै मेयर अधिकारीले जनताका इच्छा, आकांङ्क्षा र आवश्यकताको तुलनामा नगरपालिकामा प्राप्त हुने स्रोत साधन अत्यन्त न्यून भएकाले सबै माग एवं चाहनालाई यो बर्षको कार्यक्रममा समाबेश गर्न नसकिएको बताए ।
बजेटमा नगरभित्र बसोबास गर्ने ८५ वर्ष पुगेका जेष्ठ नागरिकलाई घरघरमा गई स्वास्थ्यसेवा दिने, केन्द्र र प्रदेश सरकारबाट प्राप्त समानीकरण र राजश्व बाँडफाडलाई वडाहरुमा संचालन हुने कार्यक्रममा खर्च गर्ने, बौद्धत्व झल्काउन सबै घरमा एकै किसिमको बौद्ध रंङ्ग लगाउने, नगरलाई डुबान र हिलोमुक्त गराउने, बालमैत्री स्थानीय शासनको व्यवस्था गर्ने, दैनिक रुपमा उत्पादन हुने फोहोरबाट विद्युत् उत्पादन गर्ने, अपांङ्ग व्यक्तिको उत्थान र बालश्रम न्युनीकरण गर्दै विद्यालयबाट पढाई छाड्ने प्रवृत्तिलाई निरुत्साहिक पार्न लगायत योजना ल्याइएको नगर प्रमुख अधिकारीले बताए ।