पूरा हुने भो पुरुषको नर्स बन्ने धोको

पूरा हुने भो पुरुषको नर्स बन्ने धोको

 काठमाडौं : नर्स भन्नासाथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वाभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरू महिला नै हुन्छन् ।

संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर विदेशमा थोरै संख्यामा भए पनि पुरुषले नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् । नेपालमा पनि केही समयदेखि प्रश्न उठ्न थालेको थियो– नर्स बनेर सेवा गर्न पुरुषले किन नपाउने ? के नर्स भनेको महिलाको मात्रै पेशा हो र ?

होइन, अब नेपालमा पनि पुरुषहरूको नर्स बन्ने धोको पूरा हुने भएको छ । पुरुषले पनि नर्सिङ पढ्न पाउने गरी प्रशासनिक प्रक्रिया अघि बढाइएको हो ।

नर्सिङ सेवालाई प्रभावकारी, व्यवस्थित एवं वैज्ञानिक ढंगले संचालन गर्न पुरुषहरूलाई पनि सामेल गराउनु पर्ने खाँचो देखिएपछि प्रक्रिया अघि बढाइएको नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले बताइन् । पोखरेलका अनुसार पुरुषहरूलाई पनि अनमी (सहायक स्वास्थ्य परिचारिका), पीसीएल नर्र्सिङ र बीएस्सी नर्सिङमा भर्ना लिन सकिने गरी प्रक्रिया अघि बढाउन लागिएको छ ।

यसै शैक्षिक सत्रदेखि पुरुषहरूले पनि नर्सिङमा भर्ना हुन पाउने छन् । नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७४÷०७५ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई भर्ना गराउने निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि विभिन्न विश्वविद्यालय, प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लगायतका निकायहरूमा पत्राचार गर्ने तयारी गरेको परिषद् सदस्य समेत रहेकी नर्सिङ संघकी अध्यक्ष पोखरेलले बताइन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डिन प्राध्यापक डा. जगदीशचन्द्र अग्रवाल बाहिरी मुलुकमा पुरुष नर्सहरू भएको उल्लेख गर्दै नेपालमा पनि आवश्यक भएको बताए । उनले भने, ‘पुरुष नर्सको माग स्वदेश तथा विदेशमा बढेको छ ।’ नर्सिङ परिषद्ले गरेको निर्णय प्राप्त भएपछि अगाडिका प्रक्रियाहरू बढाइने उनले बताए ।


स्वदेश तथा विदेशमा पुरुष नर्सको माग बढिरहेको छ, नर्सिङ परिषदको निर्णय प्राप्त भएपछि भर्ना प्रक्रिया अघि बढ्छः प्रा.डा. जगदीशचन्द्र अग्रवाल, डिन, चिकित्सा शास्त्र अध्ययन संस्थान

नर्सिङ कलेजमा पढ्न पाए वार्षिक झण्डै सात सय पुरुष नर्स उत्पादन हुने अपेक्षा नर्सिङ संघले गरेको छ । पुरुषहरू पढ्न नआए उनीहरूलाई छुट्याइएको कोटामा महिलाले पढ्ने छन् ।

यसअघि २०४६ सालमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले संचालन गरेको नर्सिङमा चार व्याचसम्म पुरुषहरूले अध्ययन गरेका थिए । त्यतिबेला झण्डै ९० जना पुरुषहरू नर्सिङ जनशक्तिका रूपमा उत्पादन भएका थिए । त्यसलगत्तै पढाइ बन्द भएको थियो ।

तीस वर्षअघि उत्पादित पुरुष नर्सहरूमध्ये थोरैले मात्र नर्सिङ पेशालाई निरन्तरता दिइरहेका छन् । नर्सिङ परिषद्मा झण्डै ८१ हजार महिला नर्सहरू दर्ता रहेका छन् ।

‘पुरुष बिरामीहरूको हेरचाहका साथै दुर्गममा खटिएर जान सक्ने भएकाले नर्सिङमा पुरुषहरूलाई अवसर दिन लागिएको हो’, नर्सिङ संघकी अध्यक्ष प्राध्यापक पोखरेलले भनिन्, ‘पुरुषहरूले नै नर्सिङ पढ्न आकर्षण देखाएका छन् । दैवीप्रकोप लगायत अन्य विपद्मा पनि पुरुष नर्सहरूलाई परिचालन गर्न सजिलो हुन्छ ।’

पुरुषहरूले नै इच्छा देखाएपछि उनीहरूले नर्सिङ पढ्न पाउने ढोका खुला गर्न लागिएको पोखरेलले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.