बाढी नियन्त्रण गर्न ड्याम
माडी (चितवन) : माडी नगरपालिका–६ रामराज्यपुरका पूर्णबहादुर सुनारलाई हरेक वर्ष बर्खा लागेपछि बाढीको चिन्ताले सताउँछ। पानी पर्न थालेदेखि राति निद्रासमेत लाग्दैन। पटक–पटक बाढीको त्रासबाट आजित बन्दै आएका उनलाई गत वर्ष साउन अन्तिम साता आएको बढीले तर्साएको सम्झना पनि दिमागमा ताजै छ। तर, यस वर्षबाट भने उनी केही ढुक्क भएका छन्। बाँदरमुढे खोलामा जालीसहितको ड्याम निर्माण भएपछि पहिलेजस्तो समस्या नहुने उनी बताउँछन्।
‘बर्खा लागेपछि घर कसरी जोगाउने भन्ने चिन्ता हुन्थ्यो,’ उनी भन्छन्, ‘तर, अब यो समस्या केही हदसम्म हटेको छ।’ जलवायु परिवर्तनले गर्दा खोलानाला र हावापानीमा परिवर्तन आएको उनी बताउँछन्।
नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको जलउत्पन्न प्रकोप न्यूनीकरण परियोजनाले तीनबर्से योजनामा बाढी नियन्त्रणको काम थालेपछि उनीजस्तै बाँदरमुढे खोलाछेउका बासिन्दा खुसी भएका छन्। खोलामा तटबन्धन गर्ने भएपछि खोलाछेउका बस्ती कटान राकिने बाँदरमुढे खोला तटबन्ध समितिका सचिव नारायण अधिकारी बताउँछन्।
परियोजनाले चुरे क्षेत्रबाट बगेको खोलाको सिरानदेखि रेवाटोलसम्मको ७ किलोमिटर दूरीमा खोलाको दुईतिरै किनारमा ड्याम निर्माण गर्न लागेको हो। दुईतिर गरी १४ किलोमिटर दूरीमा ड्याम लगाउनुपर्नेमा यस वर्ष तीन किलोमिटर दूरीमा जालीसहित ड्याम निर्माण भइसकेको परियोजनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !