घर पुरिँदा परिवारका तीनको मृत्यु

घर पुरिँदा परिवारका तीनको मृत्यु

बागलुङ : अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पहिरोले घर पुरिँदा ३ जनाको ज्यान गएको छ । सोमबार साँझदेखि निरन्तर परेको वर्षापछि राति १२ बजेतिर घर माथिबाट खसेको पहिरोले स्थानीय विष्णुबहादुर क्षेत्रीको घर पुरिँदा ४० वर्षीय क्षेत्रीसहित उनका ३५ वर्षीया श्रीमती विष्णुमाया र तीन महिनाकी छोरी सोनियाको मृत्यु भएको हो ।

पहिरोले राति नै घर पुरे पनि गाउँलेले बिहान मात्रै थाहा पाएका थिए । गाउँलेले खोजी गर्दा परिवारका तीनैजना पुरिएको अवस्थामा फेला परेको बरेङ गाउँपालिका–१ का वडाअध्यक्ष नरसिहं पुनले जानकारी दिए । १७ वर्षीया जेठी छोरी मञ्जु र १५ वर्र्षीया अस्मिता भने घरबाहिर रहेकाले बचेका छन् । मञ्जु काठमाडौंमा कक्षा १२ मा पढ्दैछिन् भने अस्मिता मामाघर बसेर कक्षा ११ पढ्छिन् ।

दुवै छोरीहरू अर्धचेत अवस्थामा छन् । क्षेत्री परिवारका तीन जनाको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ । घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बरेङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । लुरुङमै अन्य दुई घर र तीन गोठ पनि पुरिएको प्रहरीले जनाएको छ ।

‘असारको पहिलो साता बितिसक्दा पनि खासै वर्षा भएको थिएन, तर एकैदिन ठूलो वर्षा हुँदा जनधनमा क्षति पु¥यायो’, वडाध्यक्ष पुनले भने, ‘कमजोर भूबनोट र रातको बेला भएकाले उद्धार गर्ने अवस्था नै रहेन । वर्षा निरन्तर भयो भने गाउँका दर्जनौं घर पहिरोको उच्च जोखिममा छन्, सम्भव हुने पूर्व सजगताका लागि हामीले पहल गरिरहेका छांै ।’

पहिरोका कारण तल्लो बस्ती जलमग्न भएको छ, बस्तीका धेरै घरभित्र लेदो पसेपछि गाउँले वैकल्पिक स्थानको खोजीमा छन् । घटनापछि बरेङ गाउँपालिका र जिल्ला दैवी प्रकोप उद्धार समितिले राहतसँगै सम्भाव्य थप जोखिमबारे स्थलगत जानकारी लिएको छ ।

१ सय १ स्थल उच्च जोखिममा

जिल्लाका १ सय १ स्थल पहिरोको उच्च जोखिममा छन् । जिल्ला भूसंरक्षण कार्यालय बागलुङले गरेको स्थलगत सर्वेक्षणबाट जिल्लामा १ सय १ वटा स्थान उच्च जोखिममा रहेको पाइएको छ ।

पहिरो गएको क्षेत्र आसपास, ढोरपाटन नगरपालिकाको बोबाङ, अधिकारीचौर, बुर्तिबाङ, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकाको बोंगादोभान, खुंखानी, गलकोट नगरपालिकाको हरिचौर, पाण्डवखानी, दुदिलाभाटी, काठेखोला गाउँपालिकाको लेखानी, रेशालगायतका क्षेत्र जोखिममा रहेको जिल्ला भूसंरक्षण कार्यालय बागलुङका भूसंरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले जानकारी दिए । बागलुङ नगरपालिकाभित्र मात्रै ९३ वटा स्थल विपद्को उच्च जोखिममा छन् ।

स्थानीय तहले विपद्मा निश्चित कोष स्थापना गरे पनि विशेष कार्यक्रम भने बनाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.