धादिङमा पहिरो : एकै परिवारका तीनसहित ४ जनाको मृत्यु
धादिङ : अविरल वर्षापछि आएको पहिरोमा परी उत्तरी धादिङको खनियावास गाउँपालिका–५ साइस्वारामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । त्यस्तै सोही गाउँपालिकाको वडा नं ४ चिउरीबोटमा पनि पहिरोले घर पुर्दा १ जनाको मृत्यु भएको छ ।
घरमाथिबाट खसेको पहिरोले घर नै बगाउँदा वडा नं ४ साइस्वाराका राजकुमार गुरुङका श्रीमती ३३ वर्षीया बसुदा गुरुङ, उनका छोरीहरु १० वर्षीय लक्ष्मी गुरुङ र ५ वर्षीय सरस्वती गुरुङको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए । पहिरोमा परि राजकुमारका छोरा १२ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।
उता खनियाबास–४, चिउरीबोटमा पहिरोमा परेर शमशेर बहादुर घललेको मृत्यु भएको छ भने उनकी श्रीमती ६२ वर्षीय कोप्ची घले बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । बेपत्ताको स्थानीयबासी र प्रहरीले खोजी गरिरहेको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।
दुवै ठाउँको पहिरोमा परी ४ जना घाइते भएका छन् । घाइतेहरुको किन्ताङफेदीमा उपचार भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् । उत्तरी धादिङमा पछिल्लो एक सातादेखि मध्यरातमा अविरल बर्षा हुँदै आएको र भूकम्पपछि चर्किएका पहाडी क्षेत्र र मानवबस्तीमा पहिरोको जोखिम बढको छ ।