मध्य असारमा खडेरीको मार
बुटवल : मध्ये असारमा खडेरी परेपछि धान रोपाइँ प्रभावित भएको छ। मुलुककै दोस्रो धेरै धान उत्पादन हुने प्रदेश ५ मा जम्मा १८ प्रतिशत रोपाइँ भएको छ।
सबैैभन्दा बढी धान उत्पादन हुने बर्दिया र रूपन्देहीमा २० प्रतिशत हाराहारीमा रोपाइँ भएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। मनसुन छिट्टै सुरु हुने अनुमान गरिएपछि असारसम्म दिनभर घाम लाग्ने गरेको छ।
चर्काे घामले रोपाइँ गर्न नपाएका किसानलाई ब्याड सुक्ने हो कि भन्ने चिन्ता छ। ‘पानी नआउँदा न रोपाइँ न बीउ हुन्छ कि जस्तो भयो’, नवलपरासी रामग्रामका किसान श्यामचन्द्र चौधरीले भने।
मन्त्रालयका सचिव यामनारायण देवकोटाका अनुसार प्रदेश ५ मा तीन लाख ३० हजार चार सय २६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यो मुलुककै धान खेती हुने जमिनको २१ प्रतिशत हो। तर धान खेती हुने जमिनको जम्मा ४३ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ हुने गरेको छ।
‘सिँचाइ हुने क्षेत्र कम भएकाले रोपाइँमा कठिन भएको छ’, सचिव देवकोटाले भने। प्रदेश ५ मा धान उत्पादकत्व क्षमता प्रतिहेक्टर तीन दशमलव ८७ प्रतिशत छ। गत वर्ष प्रदेशका १२ जिल्लामा १२ लाख ७४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।
सबैैभन्दा बढी धान उत्पादन हुने बर्दिया र रूपन्देहीमा २० प्रतिशत हाराहारीमा रोपाइँ भएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
यो वर्ष भने धान उत्पादन प्रभावित हुने संकेत देखिएको छ। अहिले किसानले रोप्दै आएको उन्नत जातको धानलाई पानी बढी आवश्यक हुन्छ। तर बीउमै राम्रो पानी नपाएको धानले उत्पादन राम्रो नदिने विश्लेषण गरिएको छ।
रूपन्देहीमा ८० प्रतिशत रोपाइँ बाँकी
प्रदेशकै अन्नभण्डार रूपन्देहीमा मध्यअसारसम्म २० प्रतिशत मात्रै रोपाइँ सकिएको छ। पर्याप्त सिँचाइ सुविधा नभएका कारण रोपाइँमा ढिलाई भएको हो। बीउ छिटो राखिए पनि वर्षा ढिलो भएपछि रोपाइँ हुन सकेको छैन। दक्षिणी क्षेत्रका खेतहरू सुक्खा छन्।
‘सिँचाइ भएका ठाउँमा रोपाइँ भएको छ। बाँकी ठाउँका किसानले आकासे पानी पर्खिएका छन्’, जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाले भने। रूपन्देहीमा केही ठाउँमा सतही सिँचाइ तथा ठाउँठाउँमा भूमिगत सिँचाइ प्रणाली छ।
रूपन्देहीमा कुल खेतीयोग्य भूभागमध्ये १३ प्रतिशत मात्र बाह्रैमास सिँचाइ हुने भूभाग पर्छ। ७० प्रतिशत क्षेत्रमा कुलो भने पुगेको छ तर ती कुलोमा बर्खामा मात्र पानी जान्छ।
चार हजार हेक्टर जमिन घट्यो
रूपन्देहीमा अहिले क्षेत्र ६९ हजार तीन सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यो क्रम बर्सेनि घट्दो अवस्थामा छ। आर्थिक वर्ष २०५७÷५८ मा ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो। झण्डै डेढ दशकको अवधिमा धान उत्पादन भएको जग्गा चार हजार हेक्टरले घटेको देखिएको हो।
तीव्र सहरीकरणले गर्दा खेतीयोग्य जमिन मासिँदै गएको छ। बुटवलदेखि भैरहवाको २२ किलोमिटर राजमार्गको आसपास मात्र होइन भित्री ठाउँहरूमा पनि बजार विस्तार भएका छन्। दुई मुख्य सहरको बीच भाग भएकाले खेतीयोग्य जमिन खण्डीकरण गर्ने र घडेरीको कारोबार बढी हुने ठाउँमा तिलोत्तमा नगरपालिका पनि पर्छ।
बाँकेमा थोरै मात्र रोपाइँ
असारको दोस्रो साता बितिसक्दा पनि सिँचाइ सुविधाको अभावमा बाँकेमा निकै थोरै स्थानमा मात्र रोपाइँ भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार खजुरा गाउँपालिकाको सीतापुर र राधापुर, राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर, बैजापुर बिनौना, कचनापुर, बैजनाथ गाउँपालिकाको चिसापानीमा रोपाइँ भएको हो।
कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कृष्णबहादुर बस्नेत सिँचाइ सुविधाको अभावमा निकै कम स्थानमा मात्र रोपाइँ भएको बताउँछन्। बस्नेत भन्छन्, ‘यो वर्ष वर्षा नै भएको छैन। भूमिगत जलस्रोत पनि धेरै गहिराइमा पुगेको छ। रोपाइँ हुन ढिलो भइरहेको छ।’
जिल्लामा कुल दुई लाख २५ हजार आठ सय ३६ हेक्टर हेक्टर क्षेत्रफल छ। जसको २५ प्रतिशत मात्र खेतीयोग्य भू–भाग छ। अर्थात ५७ हजार दुई सय ५२ हेक्टरमा खेती हुन्छ। यो क्षेत्रफलमध्ये धान खेती हुने ३६ हजार पाँच सय हेक्टर छ। ‘१५ हजार हेक्टरमा मात्र सिँचाइ हुन्छ। आधाभन्दा बढी क्षेत्रफलको धान खेती आकासे पानीमा निर्भर हुन्छ’, उनले भने, ‘चार हजार हेक्टर त सधैं बाँझो नै रहन्छ।’
रोपाइँ नै नभए पनि ८० प्रतिशतले भने बिउ राखिसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। जल तथा मौसम विज्ञान विभागको हावापानी कार्यालय राँझाका अनुसार बाँकेमा असार महिनामा चार दिन मात्र वर्षा भएको छ। अहिलेसम्म सबैभन्दा बढी गत बुधबार ५७ मिलिमिटर वर्षा भएको थियो। त्यसअघि गत मंगलबार २० मिलिमिटर मात्र वर्षा भएको छ। बिहीबार आठ मिलिमिटर र ९ असारमा २ दशमलव ६ मिलिमिटर वर्षा भएको थियो।
अर्घाखाँचीमा १० प्रतिशत
समयमै पानी नपरेपछि अर्घाखाँचीमा रोपाइँ प्रभावित भएको छ। गत वर्ष असार दोस्रो सातासम्म दुई तिहाई खेतमा रोपाइँ सकिएको थियो।
जिल्लाको धान खेती हुने आठ हजार ५० हेक्टर खेतमध्ये अहिलेसम्म १० प्रतिशतमा मात्रै रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयका अधिकृत थीरलाल गैरेले बताए।
पानी नपरेपछि अहिले किसानहरू निराश छन्। अर्घाखाँचीका अधिकांश स्थानमा आकाशे पानीको भरमा रोपाइँ हुने गरेको छ। घोचेखोला किसान नारायण सापकोटाले पानी नपरेपछि निराश हुनु परेको बताए। ‘आकाशे पानीले पनि ठग्यो’, उनले भने, ‘खडेरीले बीउ नै मर्छ कि भन्ने चिन्ता भयो।’
पाल्पामा १३ प्रतिशत
पर्याप्त वर्षात नहुँदा पाल्पामा केही किसानले मात्र रोपाइँ गरेका छन्। पाल्पामा धान खेती स्थानको रूपमा चिनिएका माडी, अर्गली, रामपुरजस्ता फाँटहरूमा अहिलेसम्म रोपाइँ हुन सकेको छैन।
जिल्लाको कुल क्षेत्रफलमध्ये आठ हजार सात सय ५० हेकटर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। हालसम्म १३ प्रतिशत मात्र रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठले बताए।