आठ करोडको पिच वर्ष दिन नबित्दै उप्कियो

आठ करोडको पिच वर्ष दिन नबित्दै उप्कियो

जनकपुरधाम  : धनुषाको ग्रामीण सडक जनकपुर–मनहरा–खरियानी सडकखण्डमा आठ करोड बढीको लगानीमा गरिएको पिच (ओटासिल) वर्ष दिन नबित्दै उप्किन थालेको छ।

ठेकेदारले मापदण्डअनुसार काम नगरेपछि पिच उप्किन थालेको हो। पिच उप्केर सडक जीर्ण बनेपछि दुर्घटनाको जोखिम बढेको छ। सडकको दुरवस्थाका कारण सवारीसाधन र सर्वसधारण सास्ती खेप्न बाध्य छन्।

ठाउँ–ठाउँमा ओटासिल उप्किएर सडक पुनः जीर्ण बन्दै गएको छ। निर्माण पूरा भएको नौ महिना नबित्दै ओटोसिल उप्केर सडक जीर्ण बनेपछि स्थानीय आश्चर्यमा छन्। हातले उप्काउँदा पनि ओटासिल उप्किने गरेको स्थानीय बताउँछन्। हंसपुर नगरपालिका–३ का वडाध्यक्ष उदयकुमार सिंहले गुणस्तरहीन काम गरेका कारण ओटासिल समाप्त भएको गुनासो गरे। भने, ‘थुक लगाएर टाँसेजस्तै गरेको छ।’

वडाध्यक्ष सिंहले प्राविधिक कार्यालयका जिल्ला इन्जिनियर (डीई) राजकिशोर साहको मिलोमतोमा ठेकेदारले गुणस्तरहीन काम गरेको आरोप लगाए। उनले सडक बन्ने बेला इन्जिनियर यादवलाई भेटेर पटकपटक गुणस्तरहीन काम भइरहेको गुनासो गर्दा पनि वास्ता नगरेको बताए। भने, ‘इन्जिनियर रिटायर्ड हुने बेला त्यसैले ठेकेदारसँग पैसा खाएर गुणस्तरमा ध्यान दिएन।’ सडक जीर्ण भएपछि दुर्घटनाको जोखिमसमेत बढेको उनको तर्क छ।

ओटासिल गर्न सबैभन्दा पहिले सडकमा सब ग्रेड गरेर १० सीएम क्रसर रन मेटेरियल ओच्छ्याउँछ। अनि पानी हालेर ग्रेडिङ र रोलिङ गरेपछि डेन्सिटी टेस्ट गरिन्छ। त्यसपछि धुलो सफा गरेर १६ एमएम डाउन गिट्टी ओच्छ्याउने गरिन्छ। पुनः रोलिङ गर्नुपर्छ। अनि ५० दिन छाडेर बिटविनपछि स्टोन डस्ट छर्केपछि बल्ल काम पूरा हुन्छ। तर, यो मापदण्डअनुसार काम नभएको स्थानीयको गुनासो छ। स्थानीय राधे झाले ५० दिन त के एक दिन पनि नछाडेर काम सकेको बताए। भने, ‘माटोमा ग्राभेल हालेर अलकत्रा मात्र ओच्छ्याइयो। न कहिले धुलो सफा ग¥यो, न कहिले पानी पटाउने काम भयो।’

यता जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर नारायणप्रसाद यादवले मापदण्डअनुसार ठेकेदारले काम गरेको दाबी गरेका छन्। उनले ठेकेदारले गुणस्तरहीन काम गरेर होइन, बढी लोडको गाडी गुड्ने गरेका कारण ओटासिल केही ठाउँमा मात्र भत्केको दाबी गरे। भने, ‘ओटासिल गरिएको सडकको क्षमता १६ टनको मात्र हुन्छ। तर, यो सडक भएर त ८०÷९० टन सामान बोकेर टिपर ओहोरदोहोर गर्छ। अनि कसरी टिक्छ सडक ? ’ उनले कतिपय ठाउँमा बाढीले पनि ओटासिल भत्केको उनको भनाइ छ।

मनहरादेखि सिमरारीसम्म १६.२० किलोमिटर सडक ओटासिल गर्न जिल्ला प्राविधिक कार्यालयले लोहनी एन्ड ब्रोदर्स शिवशंकर जेभी गरुडा रौतहटलाई आठ करोड ६६ लाख ६१ हजार आठ सय ५९ रुपैयाँमा ठेक्का दिएको थियो। तर, विवादका कारण बघचौरा र परसाहीलगायत क्षेत्रमा करिब आठ सय मिटर सडक ओटासिल हुन सकेन। बाँकी सडक ओटासिल ०७४ आश्विन ६ मा सकेपछि ठेक्का कम्पनीले आठ करोड तीन लाख १९ हजार पाँच सय ३२ रुपैयाँ निकासा लिएको प्राविधिक कार्यालयले जनाएको छ।

सडकमा घर बनाएकाहरूले भत्काउनुको साटो उच्च अदालत जनकपुरमा मुद्दा नै हालेका कारण करिब आठ सय मिटर सडक बन्न नसकेको इन्जिनियर यादवले बताए। उनले हाल उक्त सडक कब्जा गरेर बनाइएका घरहरू हंसपुरका उपमेयर रेणु झाले खाली गर्न लगाएको बताए। भने, ‘उतिबेला नै खाली गरेको भए आठ सय मिटरमा पनि ओटासिल भइसकेको हुन्थ्यो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.