पानी माग्दै धान दिवस
धनगदी : कैलालीका किसानहरूले इन्द्रसँग पानी माग्दै धान दिवश मनाएका छन् । खेतभरि पानी भरिएर रोपाइँ गर्न अप्ठेरो हुने समयमा खडेरी परेपछि किसानहरूले पानी परोस् भन्ने कामना गर्दै धान दिवश मनाएका हुन् । थारू समुदायका किसानले सेतो लुगा लगाउँदै सजना (थारू भाषाको गीत) गाएर इन्द्रसँग पानीको याचना गरेका छन्् ।
‘थारू समुदायमा असार १५ भनेको ठीक आधा रोपाइँ सकिने समय हो, तर जिल्लामा अहिलेसम्म ४० प्रतिशत पनि रोपाइँ भएको छैन । जमिनमा सिँचाइको व्यवस्था नभएको र पानी नपरेका कारण खेत बाँझै छन् । त्यसैले पनि किसानहरूले पानीको याचना गर्दै सजना गाएर धान दिवश मनाएका हुन्’, हसुलियाका किसान बुधराम चौधरीले भने । उनले पानी नपरेकाले बोरिङमा पनि पानी आउन छोडेको बताए ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीका अनुसार विगतका वर्षमा जिल्लामा असार १५ सम्म ६० प्रतिशत रोपाइँ हुने गरेकोमा अहिले जिल्लाभर ३० प्रतिशत पनि रोपाइँ पुगेको छैन । ‘संघीय सरकारले कैलालीको हसुलियालाई धान ब्लक घोषणा गरेको छ, तर डेढ सय बिघाको त्यो ब्लकमा २० प्रतिशत किसानले पनि रोपाइँ गर्न पाएका छैनन्’, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले भने ।
‘गत वर्षमा पानी कम परोस् भन्ने कामना गर्दै हलो उल्टो पारेर गाडिन्थ्यो, यस वर्ष धेरै वर्षपछि सजना गाइएको छ’, कैलारी गाउँपालिकाका अर्का किसान कमल चौधरीले भने । ‘थारू समुदायमा असारमा पानी बढी परेको वर्ष रोपाइँ गर्न असहज हुने भएकाले हलो उल्टो गाडेर पानी कम पर्ने कामना गरिन्थ्यो ।
यस वर्ष चर्को घाममा धान दिवश मनाइएको छ । प्रदेश सरकारका सबै मन्त्री, सभामुखले विभिन्न ठाउँ गई धान दिवशमा सहभागिता जनाए । प्रदेश ७ का सभामुख अर्जुनबहादुर थापा र निर्मला बडालले कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित किसानको खेतमा गएर रोपाइँ गरेका छन् । प्रतिनिधिसभा सदस्य लालबहादुर खड्का, प्रकाश रावल, तारा लामा तामाङ, मानबहादुर सुनार, महेशदत्त जोशीलगायतकाले धान दिवस मनाएका छन्् ।
बैतडीमा देउडामय धान दिवस
मानो रोपेर मुरी उब्जाउने दिनको रूपमा मनाइने धान दिवस बैतडीका विभिन्न स्थानमा देउडासहित मनाइएको छ । जिल्लाको धान धेरै फल्ने स्थानको रूपमा चिनिएको पाटनमा शुक्रबार किसानहरूले बाजागाजा र देउडासहित मनाएका छन्् । हिलोमा धान रोपिरहेका रोपारहरूले सुरिलो भाकामा देउडा गाउँदै रोपाइँ गरेका छन्् । प्रदेश ७ का पहाडी जिल्लामा रोपाइँ गर्दा असारे गीतको रूपमा देउडा गाउने चलन रहेको स्थानीय संस्कृतिका जानकार चन्द्रमोहन तिवारी बताउँछन् । उनले भने, ‘असारको महिना रोपाइँ गर्दाको मजा बेग्लै हुन्छ । महिलाहरूले देउडा भाकामा असारे गीत गाउँछन््् । हलीहरूले हिलोमा रोपाइँ गर्दाको दृश्य नै बेग्लै हुन्छ ।’ धान दिवसका लागि पाटन पुगेका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पनि रोपारहरूसँगै ड्यौडा गीत गाउँदा वातावरण झन् रमाइलो बनेको थियो । गोरु जोतेर हलिहरूलाई साथ दिएका प्रमुख जिल्ला अधिकारी जोशीले देउडा गीत गाएर रोपारहरूलाई पनि साथ दिए । उनले भने, ‘देउडा हाम्रो प्राण हो । रोपाइँ गाउने देउडा अन्य बेलाको भन्दा फरक हुन्छ । रोपाइँका बेला गाइने देउडा कृषिसँगै जोडिएको हुन्छ ।’
बैतडीमा ९ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको छ । अहिलेसम्म ४० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पछिल्लो समय किसानहरूले धान खेतीमा आधुनिकीकरण ल्याइसकेका जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले बताए । उनले भने, ‘पहिला पहिला धान दिवस मनाउने खासै चलन थिएन् । तर, असारे गीत भने प्रशस्त मात्रामा घन्किन्थे । अहिले औपचारिक रूपमा धान दिवस मनाउँदा सरकारी कार्यालयका प्रमुखहरूको समेत सहभागिता हुने गरेको छ । यसले किसानहरूलाई झन् हौसला बढाएको छ ।’
असारको महिना धान रोप्दा महिलाहरूलाई थकान महसुस नहोस् भन्ने उद्देश्यले पनि गीत गाएर रोप्ने चलन चलेको हुन सक्ने पाटनकी किसान गीता विष्टले बताइन् । उनले भनिन्, ‘पछिल्लो समय देउडा गाउने चलन कम हुँदै गएको छ । रोपाइँ मनाउने चलनले यस्ता संस्कृतिको संरक्षण मात्रै गरेको छैन, हामीलाई कृषि कर्ममा लाग्न प्रेरणा दिएको छ ।’
बझाङमा ८५ प्रतिसत रोपाइँ
पुरुषहरूले खेत रोप्ने बनाएपछि महिलाहरूको एक हुल आएर बीउका मुठा खेतमा फालिन्छ । एकछिनपछि सबै महिला एकछेउ भएर रोप्न थाल्छन् । रोपाइँ सुरु गरेको केही मिनेटमै रोपारेहरूले स्थानीय भाकामा गीत गुन्जाउन थाल्छन् । बझाङका महिला असार महिनामा खेती रोप्दा प्रायः परम्परागत देउडा भाकामा दुःख सुखका गीत गाउने गर्छन्् । ‘रोपाइँमा सधैं महिलाहरूले गीत गाएरै रोप्ने प्रचलन छ’, पिखेतकी प्रेमजला थापाले भनिन् । ‘रोपाइँमा रोपारे र हली बाउसे रमाइलो गर्ने गछन्् ।’ बझाङमा यस वर्ष पानी छिटो परेकाले पनि जिल्लाका प्रायः स्थानमा रोपाइँ सकिन थालेको छ । थलाराजस्तै झोता देउरा बंगोल, जुजी, छान्ना देवल, मटेलामा रहेको खेतीयोग्य जमिन तथा जिउलाहरूमा रोपाइँ हुँदै छन्् । असारको समयमा परदेशबाट पनि लोग्ने मानिसहरू घर आउने चलन भएकाले यहाँ असारे खेती लगाउने कामलाई धेरै महत्व दिने गरिन्छ ।
बझाङमा भने जेठको अन्तिम सातादेखि रोपाइँ सुरु भएको हो । नदी किनारका खेतहरूमा कुलो लगाएर सिँचाइ हुने हुदाँ ८५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि कार्यालय बझाङका प्रमुख राजेश केसीले बताए ।
शिवराज भट्ट, कैलाली /जगदिश रोकाया, बझाङ/ भगिरथ अवस्थी, बैतडी/ भागेश्वरी शाह, कञ्चनपुर